सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो खेलमै बराबरीमा रोकियो ‘लिग लिडर’ पीएसजी

नेमार र एमबाप्पे मैदानमा ओर्लिएनन्
आइतबार, २८ साउन २०८०, १० : १०
आइतबार, २८ साउन २०८०

काठमाडौँ । एकपछि अर्को प्रभावशाली खेलाडीले क्लब छाड्ने चर्चा चलिरहेको बेला पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग फुटबलको आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ । पीएसजीलाई शनिबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लोरियन्टले गोलरहित बराबरीमा रोकेको हो ।  

पीएसजी फ्रेन्च लिग फुटबलको साबिक विजेता क्लब हो । सबैभन्दा बढी फ्रेन्च लिगको उपाधि जित्ने क्लब पनि पीएसजी नै हो । पीएसजीले हालसम्म ११ पटक फ्रेन्च लिगको उपाधि चुमेको छ भने नौ पटक उपविजेता बनेको छ । 

पछिल्लो समय पीएसजीबाट एकपछि अर्को प्रभावशाली खेलाडी बाहिरिने क्रममा छन् । अर्जेन्टिनी स्टार लियोनल मेसी त यसअघि नै पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भइसकेका छन् । अहिले फ्रान्सेली स्टार केलियन एमबाप्पे र ब्राजिलियन स्ट्राइकर नेमार पनि पीएसजी छाडने तयारीमा छन् । 

त्यसैले फ्रेन्च लिगको आफ्नो पहिलो खेलमा पीएसजीले दुई प्रभावशाली खेलाडी एमबाप्पे र नेमारलाई मैदानमा ओरालेको थिएन । एमबाप्पे र नेमारले क्लब छाडने विषयमा पीएसजीको ब्यवस्थानलाई समेत जानकारी गराइसकेका छन् । 

२४ वर्षीय एमबाप्पे पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुन चाहेको समाचारमा जनाइएको छ । ३१ वर्षीय नेमारमाथि भने साउदी क्लबदेखि लिएर अमेरिकी क्लबसम्मले आँखा लगाएका छन् । 

नेमारले भने स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा आबद्ध हुन चाहेको समाचारमा जनाइएको छ । नेमारले यसअघि पनि सन् २०१३ देखि सन् २०१७ सम्म चार वर्ष बार्सिलोनाबाट खेलेका थिए । त्यतिबेला उनले बार्सिलोनलाई दुईवटा घरेलु लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । चार वर्षको अवधिमा नेमारले बार्सिलोनाबाट एक सय २३ खेल खेल्दै ६८ गोल गरेका थिए । 

तर, पछिल्लो समय नेमार मेजर लिग सकर क्लबमा आबद्ध हुने समाचार पनि प्रकाशमा आएको छ । अमेरिकाको लस एन्जल्स फुटबल क्लबले नेमारलाई भित्राउन चासो देखाएको छ । अर्जेन्टिनी स्टार लियोनल मेसी पनि बार्सिलोनाबाट पीएसजी हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका छन् । 

यसका अतिरिक्त साउदी अरेबियाको क्लबले पनि नेमारमाथि चासो देखाएका छन् । नेमारका प्रतिनिधिले साउदी क्लबसँग छलफल नै अगाडि बढाइसकेको पनि समाचारमा जनाइएको छ । तर, साउदी क्लबको नाम भने सार्वजनिक गरिएको छैन । 

नेमारले हालसम्म पीएसजीका लागि ८२ गोल गरिसकेका छन् । उनले ४८ वटा गोलका लागि पास पनि उपलब्ध गराएका छन् । नेमारले हालसम्म विभिन्न क्लबबाट ब्यवसायीक फुटबल खेल्दै दुई सय ३५ खेलमा एक सय ५० गोल गरेका छन् । उनले ८३ गोलका लागि पास उपलब्ध गराएका छन् ।

प्रभावशाली खेलाडीहरुको अनुपस्थितिमा पीएसजीले फ्रेन्च लिगको आफ्नो पहिलो खेलमा गतिलो प्रदर्शन गर्न सकेन । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीविरुद्घ पनि पीएसजीले गोल गर्ने गतिलो अवसरसमेत सृजना गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप