सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

बुधबार, ३१ साउन २०८०, २० : ४१
बुधबार, ३१ साउन २०८०

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरा छन् । 

साउन २० गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा आज दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ । रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो । 

आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिए । सडकदेखि पाखो हुँदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको उनले बताए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ खामभित्ता र तितर खण्डमा कालीगण्डकीले कटान गरेर धाँजा फाटेको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप