शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छालामा कुन सनस्क्रिन लगाउने ? डा. लैला लामाको सुझाव

बिहीबार, ३२ साउन २०८०, १६ : ११
बिहीबार, ३२ साउन २०८०

मानव शरीरमा रहेका अङ्गहरूमध्ये छाला निकै संवेदनशील अङ्गमा पर्दछ । अझ अहिलेको गर्मी मौसममा त छालाको हेरचाहमा विशेष ध्यान पु¥याउनै पर्छ । अन्यथा सूर्यको ताप चर्को हुने, वातावरणमा सूक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुने हुनाले छालासम्बन्धी विभिन्न रोग लाग्न सक्छ । त्यसैले आज हामीले छालाको हेरचाह तथा छालामा देखिन सक्ने समस्या र त्यसको समाधानका उपाय, मेकअप सामग्रीको छनौट, छालाको स्याहारका लागि खानपानको व्यवहार आदिका बारेमा छाला रोग विशेषज्ञ डा. लैला लामासँगको कुराकानीका आधारमा यो सामग्री तयार गरेका छौँ । डा. लामा वीर अस्पतालमा सिनियर कन्सल्टेन्टकाे रुपमा कार्यरत छिन् ।  

– मानिसहरूले गर्नै पर्ने सामान्य स्किन केयरहरूमा के के पर्छन् ?

सामान्य स्किन केयरमा हामीले आफ्नो छालालाई सफा राख्ने, छालामा नमिको मात्रा तय गर्न मोइस्चुराइजर लगाउने र छालाको देखिने भागलाई घामबाट जोगाउन सनस्क्रिनको प्रयोग हरेक दिन गर्नुपर्छ । 

– मानिसले आफ्नो छालालाई मिल्ने अथवा छालामा सुहाउने सनस्क्रिन कसरी छान्ने ?

सनस्क्रिन दुई किसिमका हुन्छन्, फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । केमिकल सनस्क्रिनले सेन्सेटिभ वा संवेदनशील छालामा चिलाउने, एलर्जी आउन सक्ने भएकाले केमिकल कम भएको सनस्क्रिन लगाउनुपर्ने हुन्छ । चिल्लो छालामा धेरै डन्डिफोर आउँछ त्यसैले जेल बेस सनस्क्रिन लगाएको राम्रो । सुख्खा वा खस्रो छाला भएका मानिसहरूले क्रिम बेस सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । 

– सनस्क्रिनमा केमिकल छ भनेर कसरी थाहा पाउने ?

सनस्क्रिनमा केमिकल त हुन्छ नै । यसैले गर्दा हाम्रो छाला माथि लेयर बनाएर छालालाई घामबाट पर्ने असरबाट बचाउँछ । कुनै सनस्क्रिन लगाएर छालामा नकारात्मक असर पर्‍यो भने त्यसमा भएको सामग्रीहरू नभएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । 

– मेकअप गर्नेहरूका लागी केहि छुट्टै स्किन केयरहरू छन् त ?

माथि उल्लेख गरिएका छालाको हेरचाह त अनिवार्य गर्नुपर्छ । मेकअप गर्न चाहनेहरूले यसको माथिबाट गर्न सक्छन् ।  बजारमा पाइने सस्तो सामग्री होइन, मेकअपको सामग्रीको गुणस्तर हेरेर मात्र प्रयोग गर्नुहोस्, सामग्रीहरू आफ्नो छालालाई फाप्ने किसिमको हुनुपर्छ । मेकअप गरिसकेपछि राती सुत्नु अघि छालालाई राम्ररी सफा गर्न बिर्सिनु हुँदैन ।

– खानेकुराले छालामा असर गर्छ भन्ने हुन्छ कि हुँदैन ?

असर गर्छ भन्नाले कुनै विशेष खानेकुरा खाएर छालाको प्रकार नै परिवर्तन गर्ने, अथवा छाला गोरो, बलियो हुन्छ भन्ने चाँहि हुँदैन तर स्किनलाई ‘मिरर अफ इनर सेल्फ’ भनिन्छ । त्यसैले मानिस खुसी भएपछि छालामा चमक त आफैँ आउँछ । यस्तै, सन्तुलित भोजनले पनि छालालाई स्वस्थ राख्न मद्दत मिल्छ ।  

– जीवनशैलीले पनि छालालाई प्रभाव पार्छ ?

फरक पार्छ । हामी कति स्वस्थ छौँ, कति शान्त र खुसी छौँ भन्ने कुरामा हाम्रो छाला कस्तो देखिने भन्ने निर्भर हुन्छ । हामी चिन्तामा छौँ भने छालामा चमक हराउँछ । त्यसैले पर्याप्त निन्द्रा, पर्याप्त पानीको सेवन गर्दा, चिन्तामुक्त हुँदा छालामा धेरै फरक पर्छ । चिन्ता, अनिद्राले डन्डिफोरहरू पनि बढ्ने हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपा दाहाल
दीपा दाहाल
लेखकबाट थप