बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा ‘तीन महिने अभियान’ को तयारीमा माओवादी

माओवादी ‘गाउँ फर्क अभियान’ मा केन्द्रीत छ : नेता शाही
शनिबार, ०२ भदौ २०८०, १४ : ३१
शनिबार, ०२ भदौ २०८०

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक सुरु भएको छ । प्रदेश राजधानीको शुभ होटेलमा बैठक शनिबार बिहान ११ बजेदेखि सुरु भएको हो । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत तयारी स्वरुप बैठक सञ्चालन गरिएको हो । 

‘घर–घरमा माओवादी,जन–जनमा माओवादी’ भन्ने नाराका साथ माओवादीले तीन महिने अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत नविकरण र विस्तारको काम व्यापक रुपमा अगाडि बढाइने छ । 

मतदातासँग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराइने लक्ष्य राखेको छ । यस्तै आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तिमा १/१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने छ ।  तीनवटा चरणमा सञ्चालन हुने अभियानले प्रदेशमा एउटा सचिवालय गठन गर्ने छ भने अभियान टिममा कलाकार, संस्कृतिकर्मीहरुलाई पनि सहभागिता गराइने छ ।

 पालिकादेखि वडातहैसम्म प्रत्यक्ष भेटघाट, छलफल गर्नेदेखि पार्टीलाई ‘जवान’ बनाउने उद्देश्यसहित माओवादी ‘गाउँ फर्क अभियान’ मा केन्द्रीत रहेको माओवादीका प्रभावशाली नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए  । शनिबार र आइतबारको बैठकले कर्णालीमा तीन महिनामा गरिने कार्यनीति र कार्ययोजना तयार गर्नेछ । अभियानमा पार्टीका सबै जनवर्गीय संगठन, नेता, कार्यकर्ताहरुलाई अग्रसर गराइने छ । 

आठौँ महाधिवेशनद्वारा पारित ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिहरुलाई पार्टी पंक्ति र जनसमुदायबीच पुर्याउने उद्देश्य रहेको पनि शाहीले बताए ।  ‘कर्णाली जनयुद्धकाल देखिनै माओवादीको आधार इलाकाका रुपमा चिनिन्छ,’ उनले भने,‘ पुनः पार्टीको रणनीतिअनुसार हामी जनताको बीचमा जाँदै छौँ । यो अभियानले अझै पनि कर्णालीमा माओवादीको उपस्थिति बलियो छ भन्ने देखाउने छ ।’ 

माओवादीले थालेको १० वर्षे जनयुद्धमा कर्णालीले सक्रिय सहभागिता जनाएपनि विकास र परिवर्तनका दृष्टिले अझै पछि छ । पुनः माओवादी जनताकै बीचमा रहेको सन्देश दिनका लागि पनि यो अभियानले सन्देश दिने शाहीले बताए ।  पार्टी उपमहासचिव एवं प्रदेश इञ्चार्ज मातृका यादवले मधेशको भन्दा कर्णालीमा माओवादी बलियो नै रहेको बताए । बैठकमा प्रदेशका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु सहभागी छन् । 

बैठकमा शनिवार र आइतवार बृहत रुपमा छलफल हुनेछ भने सोमबारको प्रतिशक्षण कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ पनि सुर्खेत आउने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप