शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रसँग कति छ चामलको स्टक ?

मङ्गलबार, ०५ भदौ २०८०, १४ : ३६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । भारतले जुलाई २० देखि लागु हुने गरेर बासमती बाहेकका चामलको निर्यात पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । यससँगै, चाडबाडमा खाद्यान्नको अभाव चुलिने चिन्ता बढेको छ । यही सम्भावनालाई मध्यनजर गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्र र सरकारको भण्डारमा रहेको चामलको तथ्य यकिन गर्ने योजना अघि बढाएको छ ।

यही योजनाअनुसार निजी क्षेत्रको भण्डारमा रहेको खाद्यान्नको सूची समेत निकाल्ने मन्त्रालयको योजना देखिन्छ । सोहीअनुसार गत साउन २१ गते निजी क्षेत्रको छाता संगठनलाई पत्र लेख्दै खाद्यान्नको परिणाम उपलब्ध गराउन पत्र लेखेको थियो । सो पत्रको जवाफ दिँदै नेपाल खाद्य किराना व्यवसायी सङ्घले आफूसँग मौज्दात रहेको चामल लगायतको तथ्याङ्क उपलब्ध गराएको छ ।

सङ्घले मन्त्रालयलाई लेखेको पत्रअनुसार संघमा आबद्ध व्यवसायीसँग कूल २९ लाख किलोग्राम चामल मौज्दात छ । मध्यम आकारको र मसिनो चामल गरी संघमा उक्त परिणामको चामल मौज्दात रहेको तथ्य मन्त्रालयलाई लेखेको पत्रमा राखिएको छ । संघसँग मध्यम चामल ७ लाख १४ हजार र मसिनो चामल २२ लाख गरी कूल २९ लाख किलोग्राम रहेको हो ।

मन्त्रालयले एक सातासम्म तथ्याङ्क उपलब्ध गराउन भन्दै लेखेको पत्रमा खाद्य किराना व्यवसायी सङ्घले मात्रै तथ्याङ्क उपलब्ध गराएको हो । महासंघको वस्तुगतमार्फत तथ्याङ्क लिने योजना मन्त्रालयको रहेपनि अर्को संघबाट भने आएको छैन । महासंघमा नेपाल चामल, दाल तेल उत्पादक सङ्घले समेत खाद्यान्नको व्यापार गर्दै आइरहेको छ । तर, यो सङ्घले भने तथ्याङ्क उपलब्ध गराएको छैन ।

साउन २२ गते नै मन्त्रालयले महासंघको कार्यालय टेकु नै पुगेर निजी क्षेत्रसँग रहेको चामल लगायत सम्पूर्ण प्रकारको खाद्यान्नको मौज्दातको विवरण बारे बुझ्ने प्रयास गरेको थियो । महासंघ पदाधिकारीसँगको उक्त छलफलका क्रममा मन्त्रालयलाई आगामी तीन महिनाको माग धान्ने खाद्यान्न बजारमा रहेको व्यवसायीहरूले बताएका थिए ।

यस्तै, मन्त्रालयको तथ्यांकअनुसार सरकारी लगानीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा १ लाख ८६ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । कम्पनीमा ९८ हजार २२१ क्विन्टल चामल छ । जसले दसैँसम्मको माग धान्ने कम्पनीको दाबी छ । यस्तै, कात्तिकदेखि नेपालकै उत्पादन समेत बजारमा आउने भएकाले बजारमा अभाव नहुने मन्त्रालयको आन्तरिक आङ्कलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप