धादिङ बस दुर्घटना : ४ जना मृतकको नाम खुल्यो, घाइते हुनेमा बङ्गलादेशी नागरिक पनि (अपडेट)
काठमाडौँ । धादिङ गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्बी लोकमार्गमा बुधवार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको नाम खुलेको छ । ४ जनाको अझै खुल्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौँबाट बेनी जान लागेको म्याग्दी कोरला यातायात प्रालि नामको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदिमा खसेको थियो ।
बसमा सवार २५ जनामध्ये ८ जनाको मृत्यु भएको छ । बाँकी १७ जना घाइते भएका छन् । घटनाको जानकारी पाउने वित्तिकै प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खोज तथा उद्धारमा जुटेका थिए ।
मन्त्रालयका अनुसार मृतकमध्ये दुई महिला र ६ पुरुष छन् । म्याग्दी रघुगंगा गाउँपालिका–३ बस्ने वर्ष ५० को थानबहादुर भण्डारी, पर्वत जिल्लाको मोदी गाउँपालिका–१ बस्ने वर्ष १५ कि कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेल र कास्की फूलबारी –११ बस्ने २५ वर्षीय सुमन थापाको मृत्यु भएको छ ।
बाँकी ४ जनाको नाम खुल्न बाँकी रहेको जानकारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले दिए ।
घाइतेमध्ये प्रारम्भिक उपचारपछि पर्वत मोदीका ४१ वर्षीय गुरुदत्त शर्मा पौडेललाई काठमाडौँ रेफर गरिएको छ । मध्यम स्वास्थ्यावस्था रहेको उनको टाउको र निधारमा चोट लागेको छ ।
त्यसैगरी प्राथमिक उपचार केन्द्र गजुरीमा उपचार गरेपछि बस चालक म्याग्दी बेनी नगरपालिकाका दिपक थापा, म्याग्दी बेनीकै पूर्ण छन्त्याल, कुशल अधिकारीलाई काठमाडौँ रेफर गरिएको छ ।
नाम नखुलेको अन्दाजी ४० वर्षकी महिलाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेकाले काठमाडौँ रेफर गरिएको जानकारी गिरीले दिए । अवस्था गम्भीर रहेका अन्य दुई जना पुरुषलाई पनि काठमाडौँ रेफर गरिएको छ ।
मन्त्रालयका अनुसार गजुरी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइते काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दी मंगला गाउँपालिका–२ कि गीता जंजाली मगर, बागलुङकी सुष्मा क्षेत्री, पर्वत फलेवासकी हरिकला गौडेल, म्याग्दी अन्नपूर्णकी अन्जु रानामगर, म्याग्दी गरुङ्गंगाका प्रविन पुन, बङ्गलादेशी नागरिक मोहमद हजिरहुल, म्याग्दी रघुगंगाकी रिना रानामगर, बागलुङ गलकोटका ज्ञानु बुढामगरलाई काठमाडौँ रेफर गरिएको छ ।
उद्धार टोलीले बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका– ६ बस्ने रोशन तामाङलाई सकुशल उद्धार गरी नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण