सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आयोगले थाल्यो भक्तपुरको बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान

बिहीबार, ०७ भदौ २०८०, १७ : ०८
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरको मध्यपुरठिमीस्थित बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु गरेको छ । बाल सुधार गृहभित्र भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बाल सुधार गृहमा तोडफोड भएको थियो । यस्तै सो क्रममा केही बालबन्दीहरु भागेका थिए । 

अनुगमनको क्रममा आयोगले बाल सुधार गृहमा रहेका बालबालिकाहरु, बाल सुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरूसँग प्रत्यक्ष भेटी जानकारी लिएको छ । 

साथै आयोगले बाल सुधार गृह परिसरको अवलोकन पनि गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘बाल सुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधार गृहका कमान्डरहरूले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको भन्दै बाल सुधार गृहका बालकहरूको समूहले २०८०/०५/०४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको छ’, आयोगले भनेको छ । 

आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।  

आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र बाल सुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप