सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

फरक पनि त हुन सक्छु

शनिबार, ०९ भदौ २०८०, ११ : ४३
शनिबार, ०९ भदौ २०८०

जस्तो सोच्यौ, त्यस्तो नहुन सक्छु म 
तिमीले यतिन्जेल जसलाई देख्यौ
त्यो नहुन पनि सक्छु 
मजस्तै देखिने बाहिरी आवरण ओढेको
अरू कोही पनि त हुन सक्छ ?
तिमीले सोचेभन्दा भिन्न,
अलि फरक पनि त हुन सक्छु म ।

सत्य जे सुन्यौ, त्यो नहुन सक्छ
जस्तो देख्यौ, त्यस्तो नरहन पनि त सक्छ
मनको दैलो उघारेर
सफा हृदयले चियाउने चेष्टा, गर्‍यौ र कहिले ?
तम्तयार बनिबनाउ सोचाई
दिमागमा जो सुरुदेखि नै कोचेर राखेकी थियौ
एकछिन छेउमा कतै थाँती लगाएर
खुल्ला फराकिलो आँखाको नानीले नियाल्ने हिम्मत
गर्‍यौ र कहिले ?

वास्तविकता, जस्तो भोग्यौ त्यस्तो किसिमले
अस्तित्वमा नरहेको पनि हुन सक्छ
घटना, जसरी अनुभव गर्‍यौ तिमीले
त्यसरी नघटेको पनि त हुन सक्छ
फनक्क फर्की कहिले दोहोर्‍याएर केलाउने कोसिस
गर्‍यौ र तिमीले ?

रिस त जसको पनि उठ्दछ
मान्छे हो, 
एकछिन आवेशमा जो कोही पनि आउन सक्छ
एकैछिन त्यो आवेश र घृणालाई काबुमा राखेर
करुणाको हृदयले सुम्सुम्याउने प्रयत्न
गर्‍यौ त तिमीले ?
आखिर, घृणाजस्तै 
कृपा पनि त मानिसको संवेदना भित्रै पर्छ
होइन र ?

यो संसार, 
तिमीले जसरी सोच्दछ्यौ, त्यसरी नै चल्दछ
दिनहरू, तिमीले जसरी बितायौ
त्यही सब थोक हो जस्तै लाग्दछ
रातहरू, तिमीले जसरी कटायौ
जम्मैका त्यसरी नै कटेका हुन्छन् झैँ 
लाग्न पनि सक्दछ ।
किन्तु, कहिले एकदिन वा एकरात
नबिताईकन या ननिदाईकन कटाउने प्रयास
गरेकी छ्यौ र ?

के थाहा, कसैका दिन उज्यालो नै नभई 
जहीँको तहीँ अडिएका पो छन् कि ?
कयौँ रात अँध्यारो नै नभई 
एकोहोरो गुज्रिरहेका पो छन् कि ?

कसैलाई अरू कोही जस्तै, ‘तँ पनि उस्तै’ भनी
एउटै भाँडोमा राखेर, कसरी तौलिन मिल्छ र ?
जब, मान्छे मान्छे बीचको 
बनावट त एकै किसिमको हुँदैन
तब मेरो सोच, विचार, भावना, परिकल्पना 
र, अन्य थुप्रै थुप्रै कुराहरू
कसरी अरूजस्तै एकै किसिमका हुन सक्छन् र ?

सत्य के हो ? त्यो न तिमीले जान्दछ्यौ
न मैले नै जान्न सक्दछु
जान्दछन् त केवल ईश्वर, 
यदि छन् भने उनैले जान्दछन्
फगत देखावटी बनावटमा मात्रै 
नअल्झ तिमी
भित्री कथा र यथार्थ बुझ्ने 
कोसिससम्म भए पनि गर ।

तबमात्र तिमी एक स्वविवेकी 
मनुष्य कहलाउने छ्यौ
अनि मात्र तिमी आफूलाई,
अरूभन्दा पृथक ठम्याउन सक्ने छ्यौ
तिमीले, तिम्रो आफ्नो छुट्टै अस्तित्व 
खडा गर्न सक्षम हुने छ्यौ
तिम्रो आफ्नो, अरूभन्दा बेग्लै, 
आफू हुनुको मापन
दुनियाँसामु अथ्र्याउन सक्ने छ्यौ
र मलाई, 
अरूभन्दा फरक किसिमले 
देख्ने छ्यौ ।

मुसिकोट–१, रुकुम पश्चिम 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप