सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भिडियो रिपोर्ट

विदेश पलायनको डरलाग्दो तथ्याङ्कः १९ महिनामै रोजगारीमा जानेको सङ्ख्या १३ लाख

सोमबार, ११ भदौ २०८०

काठमाडौँ । स्वदेशमा अवसरको कमी भएको भन्दै विदेश पलायन हुने नेपाली युवाहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी होस् वा भिजिट भिसाको नाममा उतै हराउने होस्, जसरी भएपनि विदेश जाने मनोविज्ञान बढ्दो छ ।

अध्यागमन विभागको तथ्याङ्क हेर्दा सन् २०२२ जनवरी यता अर्थात् १९ महिनामा कुल विदेश जाने नेपालीहरूको सङ्ख्या २३ लाख ६७ हजार ५७८ रहेको छ । यो क्रम कोभिड महामारीपछि झनै बढ्ने क्रममा रहेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुषाल बताउँछन् । 

अधिकांश विद्यार्थीहरु प्लस–टु सकेपछि जसरी पनि विदेश जाने भन्ने मनोविज्ञान पालेर हुर्किरहेका छन् । कक्षा १२ को परीक्षा सकिदा नसकिँदै ‘कन्सल्टेन्सी’ धाउने विद्यार्थीको चाङ बढ्दो छ । 

साथै, स्नातक तहको अध्ययन नेपालमै गरे पनि पुनः विद्यार्थी भिसामा विदेशकै यात्रा तय गर्ने धेरैको लक्ष्य रहेको देखिन्छ । 

अर्काेतर्फ रोजगारीका लागि पनि युवाहरूको लक्ष्य विदेश नै रहेको देखिन्छ भने विभिन्न पेशा, व्यवसाय र जागिरमा लागेकाहरू पनि नेपालमा भविष्य नभएको भन्दै विदेश जाने क्रम बढ्दो छ । 

अध्यागमन विभागका प्रवक्ता भुषालका अनुसार यहाँबाट सबैभन्दा बढी रोजगारीका लागि विदेश जाने गरेका छन् । जनवरी २०२२ यता मात्रै रोजगारीका लागि विदेश जानेको सङ्ख्या १३ लाख १ सय २४ रहेको छ ।

अध्ययन तथा भ्रमणका लागि जानेको सङ्ख्या पनि उत्तिकै छ । तथ्याङ्कअनुसार अध्ययनका लागि विदेश जानेको सङ्ख्या जनवरी २०२२ यता १ लाख ५८ हजार ८ सय ५५ रहेको छ । यस्तै, भ्रमणका लागि विदेश जानेको सङ्ख्या २ लाख ९३ हजार ९ सय ४८ रहेको छ । यस्तै अन्य प्रायोजनमा जानेको सङ्ख्या पनि पछिल्लो समय बढ्दो क्रममा देखिन्छ । 

विभागका प्रवक्ताका अनुसार वैदेशिक रोजगारीको लागि नेपालीहरू धेरैजसो खाडी मुलुक जाने गरेको छन् भने अध्ययन प्रयोजनमा जानेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा जाने गरेका छन् । 

भिजिट भिसामा घुम्न जानेहरू भने धेरैजसो थाइल्याण्ड, दुवई, मलेसिया तथा विभिन्न युरोपियन मुलुकमा जाने गरेका छन् । 

अध्यागमन विभागको तथ्याङ्कअनुसार गन्तव्यका आधारमा सबैभन्दा बढी नेपाली यूएई गएका छन् । २०२२ जनवरी यताको तथ्याङ्कअनुसार यूएई मात्र जानेको सङ्ख्या ३ लाख ९४ हजार ३ सय २० रहेको छ । 

दोस्रो गन्तव्यका रूपमा मलेसिया रहेको छ । सोही अवधिमा मलेसिया जानेको सङ्ख्या ३ लाख ९ हजार ६४ रहेको छ । यसैगरी, तेस्रो गन्तव्यमा कतार रहेका छ, जहाँ २ लाख ९२ हजार ६१ जना नेपाली २०२२ यता गएका छन् । 

यसैगरी, साउदी अरेविया, भारत, अष्ट्रेलिया, जापान, अमेरिका, कुवेत, बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा, हङकङ, रोमानिया, बहराइन, पोर्चुगल, ओमान लगायतका देश पनि नेपालीहरूका लागि प्रमुख गन्तव्य मुलुक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया