शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
धरानको चिरफार

शान्त धरान, जातीय द्वन्द्वका संकेतहरु मत्थर

‘धरानमा विवाद ल्याउने खालको कुनै गतिविधि भएको छैन’: एसपी प्रभु ढकाल, प्रहरी प्रमुख, सुनसरी
मङ्गलबार, १२ भदौ २०८०, ०६ : २१
मङ्गलबार, १२ भदौ २०८०

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ ! शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त छ । उग्र बन्दै गएको धार्मिक र जातीय द्वन्द्वका संकेतहरु मत्थर भइरहेका छन् । 

अहिले चर्को स्वरमा मानिसहरु सडकमा कराएको वा सामाजिक सञ्जालमा धरानकै विषयलाई लिएर भइरहेका चर्चा र बहस पनि सेलाउँदै गएको छ । ‘धरान शान्त छ । त्यहाँ परस्पर विवाद ल्याउने खालका कुनै गतिविधि भएको छैन,’ सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले भने, ‘आत्तिनुपर्ने कुनै अवस्था छैन ।’

उनले भनेजस्तै जातजाति र धर्मको विषयमा भइरहेका विवाद पनि शान्त भइरहेको छ । ‘अहिले त्यस्तो केही छैन, सहज अवस्था छ । धरानमा त्यस्तो हुनुपर्ने कारण पनि केही छैन,’ धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले भने । 

दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले पनि अहिले अवस्था सामान्य रहेको बताए । ‘अब त्यही विवाद बल्झिने अवस्था देखिँदैन,’ उनले भने, ‘धरानमा केही घुसपैठ भएको थियो । तिनीहरु साइड लागिसके । अहिले शान्छ छ ।’

गत शनिबार कोशी प्रदेशमा मात्रै होइन, धरानले देशभरको ध्यान खिचेको थियो । गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट भएपछि हिन्दूवादीहरु आक्रोशित बनेका थिए । 

प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिए पनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् । 

विभिन्न हिन्दूवादी धर्मगुरुहरुले शनिबार धरान जाऔं भन्ने नारा लगाउँदै देशव्यापी आह्वान गरेका थिए भने केही आदिवासी जनजातिहरुले हिन्दूहरुले प्रदर्शन गरे प्रतिकार गर्ने चेतावनी दिएका थिए । 

त्यसपछि धरानको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको थियो । यद्यपि स्थानीय  प्रशासनले शनिबार दिनभर निषेधाज्ञा जारी गरेर अवस्थालाई सामान्य बनाएको थियो । 

प्रहरी प्रशासनले मोरङ, झापा, पहाडी जिल्ला धनकुटा लगायतका नाकाबाट प्रदर्शनमा आउन रोक लगाएको थियो । प्रशासनको आग्रहलाई मान्दै हिन्दूवादीहरुले पनि जबर्जस्ती गरेको देखिएन । 

प्रहरीले शनिबारको सम्भावित अप्रिय कदमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा गरेको थियो । उक्त दिनको अवस्था त्रासमय जस्तो देखिए पनि अहिले त्यस्तो नरहेको स्थानीय बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप