शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कदमबाट अर्थतन्त्र सुधारतर्फ छ : प्रधानमन्त्री दाहाल

मङ्गलबार, १२ भदौ २०८०, १३ : २५
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयतर्फ फर्कन सुरु गरेको बताएका छन् । आज प्रतिनिधि सभामा उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्र लयमा फर्कन थालेको बताएका हुन् ।

‘सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको छ,’ उनले भने, ‘नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् ।’ प्रधानमन्त्री दाहालले २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको बताए ।

यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने प्रधानमन्त्रीको भनाई छ । ‘विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ,’ प्रधानमन्त्रीले भने, ‘वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउनेलगायतका कार्य अगाडि बढाइएको छ ।’

यसबाहेक, जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय भएको प्रधानमन्त्रीको भनाई छ । यस्तै, हिजो सोमबार नै नेपाल राष्ट्र बैंकले लचिलो बजार नीति अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने भएको उनले बताए ।

‘बैंकहरूले उद्योग, व्यवसाय वा कम्पनीहरूको सञ्चालन चक्र लगायतका आधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ,’ उनले भने, ‘यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ ।’

यस्तै, उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री दाहालले भनेजस्तै देशको बाह्य अर्थतन्त्र लयमा फर्किएको देखिए पनि आन्तरिक अर्थतन्त्र भने ‘स्ट्रेस’मा छ । बजेटमार्फत अर्थ मन्त्रालयले साउन महिनामा राखेको राजश्व लक्ष्य पुरा भएको छैन । जसले आन्तरिक अर्थतन्त्रको ‘स्लो डाउन’ हटेको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप