मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका सात सय ५९ वडामा सुरु भयो माओवादीको रुपान्तरण अभियान

शनिबार, १६ भदौ २०८०, १९ : ४९
शनिबार, १६ भदौ २०८०

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ ।  देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए ।

अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका र प्रदेश कमिटीका सदस्यहरूलाई वडामा जिम्मेवारी दिएर पठाइएको छ । इन्चार्ज पौडेलले अभियान गण्डकी प्रदेशमा उत्साहपूर्ण तवरले सुरु भएको बताए । उद्घाटन समारोहमा विभिन्न गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम उल्लासमय बनाइएको थियो । अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता–कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए ।

इन्चार्ज पौडेलले भने, “प्रदेशका सम्पूर्ण वडामा शनिवार  एकैसाथ अभियानको शुभारम्भ भएको छ । पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ ।”

जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ । सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहेका सचिव पौडेलले पोखरा महानगरपालिका–२० भलाममा अभियानको उद्घाटन गरे ।

सो अवसरमा नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । उनले भने, “जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, आलोचना सहौँ भनेर अभियान सुरु गरेका छौँ । पार्टी बनाउनका लागि हामी सबै अब सच्चिर अघि बढ्नु पर्दछ ।”

नेता पौडेलले अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको बताउनुभयो । अभियानले पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासहित जनतामा समेत उत्साह छाएको उनले बताए ।

“सरकारले सुशासनको पक्षमा काम गर्दा जनताले सम्मान गरेका छन् । कहीँकतै आलोचना पनि गरे होलान् । तर आलोचनाबाट डराउन हुँदैन । विरोध र असहमति ग्रहण गर्दै अघि बढ्नु आवश्यक छ”, पौडेलले भने । उनले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप