आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

प्रत्यक्षदर्शी भन्छन्–महेन्द्र यादवलाई सांघातिक हमलापछि आक्रमणकारीले राजतन्त्रको पक्षमा नारा लगाए

बुधबार, २० भदौ २०८०, १५ : ३३
बुधबार, २० भदौ २०८०

काठमाडौँ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको खुलेको छ । आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । 

रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका श्याम बहादुर सापकोटाले सांघातिक आक्रमण गरेका थिए । 

धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए । 

प्रहरीले घटनाबारे जानकारी दिँदै संक्षिप्त नोटमा पनि उनले आफूलाई राजावादी बताएको उल्लेख छ । 

रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले यादवले रिपोटर्स क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ । 

आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए । उनले आफूलाई अभियन्ताको रुपमा चिनाउने र कार्यक्रमहरुमा सहभागी हुने गरेको पाइएको कार्कीको भनाइ छ । 

क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ।  ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै कार्कीले बताए । यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ । 

सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप