शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी

बिहीबार, २१ भदौ २०८०, ११ : ३१
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व  देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् । 

यस रात भजनकीर्तन गरेर वर्तालु रातभर जाग्राम बस्छन् । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकाे पौराणिक मान्यता छ । बुधबार रातभर जाग्राम बसेका भक्तजनले आज भने श्रीकृष्णको जन्म भएको खुसीयालीमा रथयात्रा निकाल्छन् ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकालिने जनाइएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेको जनाइएको छ । 

यसैगरी गोकर्णेश्वर–८ मा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकाल्ने तयारी भएको वडाअध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । 

छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

धर्म स्थापनाका लागि युगयुगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनका रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप