बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एमाले नेताको चीन भ्रमण

छोङछिङ सहर किन गए एमाले नेता ?

बिहीबार, २१ भदौ २०८०, १६ : ०८
बिहीबार, २१ भदौ २०८०

चीन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निम्तो मान्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा आएको टोलीले पहिलो गन्तन्य चीनको छोङछिङ सहरलाई बनाएको छ ।

एमाले नेताहरु सम्मिलित २२ जनाको टोलीले १२ दिन भित्र चीनका तीन शहर छोङछिङ, राजधानी बेङजिङ र छिङहाइको भ्रमण गर्ने छन् । दुई पार्टीबिचको सम्बन्ध विस्तारका लागि भनिएको भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण हुनुभन्दा ठिक पहिले भएको हो ।

एमाले महासचिव पोखरेल नेतृत्वको टोलीले भ्रमणको सुरुवात छोङछिङबाट गरेको हो । छोङछिङका सहर कमिटीका सचिव एवं सीपीसीका पोलिटव्यूरो सदस्य युआन जियाजुनसँग नेपाली भ्रमण टोलीले भेटवार्ता गरेको छ ।

पछिल्लो समय नेपालको राजनीतिक दलहरुसँग सम्बन्ध विस्तारमा जुटेको छोङछिङ सहर कमिटीका सचिव जियाजुन गत साउन महिनामा नेपाल भ्रमणमा गएका थिए ।

महासचिव पोखरेल र छोङछिङ सहर कमिटीका सचिव जियाजुन बिचको भेटवार्तामा पोखरेलले छोङछिङबाट सिधा नेपाल हवाई उडानका लागि आग्रह गरे ।

कोभिड महामारी अगाडि नेपाल र चीनको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सले छोङछिङ सहरमा नियमित उडान भर्दै आएको थियो । छोङछिङ नगरपालिका चीनको शक्तिशाली नगरपालिकामध्ये एक हो । राजधानी बेङजिङ, शाङहाई, थियानचिन र छोङछिङ चार वटा नगरपालिका केन्द्रशासित छ । चीनमा यी चार नगरपालिका प्रान्तसरहको अधिकार प्राप्त सहर हो । चारै वटा नगरपालिकामा पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’को पोलिटव्यूरो सदस्यले नेतृत्व गर्ने गर्दछन् ।  

नेपालको बदलिदो राजनीतिक परिदृश्यपछि छोङछिङ सहर र सहर कमिटीका पार्टी सचिव जियाजुनले नेपाल भ्रमण गरेर छोङछिङ र काठमाडौंको सम्बन्ध नजिक बनाउने कामको सुुरुवात गरेका थिए । त्यसैले एमाले महासचिव पोखरेलको टोलीलाई भ्रमणको सुरुवातमै छोङछिङ सहरको भ्रमण गराइएको हो ।

छोङछिङमा स्थापना भएको गरिबी निवारण सहकार्य केन्द्रले आफ्नो देशको गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरुसँग साझेदारी गर्ने योजना अगाडि सारेको छ ।

एमाले नेताहरुको टोलीलाई छोङछिङमा गरिबी निवारण सम्बन्धी छलफलमा समेत सहभागी गराउँदै नेपालको गरिबी निवारणमा सहयोग र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

छोङछिङ भ्रमणको क्रममा एमाले नेताहरुको टोलीलाई चिनियाँ आधुनिकीकरणमा छोङछिङ सहरको कामको बारेमा पनि जानकारी दिइएको छ । प्राध्यापक सुन लिङ उ र प्राध्यापक दा सिउ लाईओइले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद र चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारधाराको बारेमा एमाले नेताको टोलीलाई जानकारी दिएका थिए ।

चीनमा धान उत्पादनका लागि छोङछिङका ग्रामीण नमुना क्षेत्र छन् । कृषिको अध्ययनका लागि छोङछिङ कृषि विश्वविद्यालय छ । एमाले नेता पोखरेल र जियाजुन बिचको भेटमा नेपाली विद्यार्थीहरुलाई छोङिछिङ कृषि विश्वविद्यालयमा अध्ययनका लागि अवसर दिने विषयमा पनि छलफल भएको छ ।

चीनले अहिले दक्षिण एसियाली देशहरुको आर्थिक विकास, जनस्तरको सहयोग आदानप्रदानका लागि सुचवान र युनान प्रान्त साथै छोङछिङ नगरपालिकाबाट काम गर्ने योजना अगाडि सारेको छ ।

चीनले गरिबी निवारणमा गरेको प्रयास र सफलताको कार्य देखाउनका लागि दक्षिण एसियाली सहकार्य गर्ने यी दुई प्रान्त र छोङछिङमा राजनीतिक नेतृत्वलाई भ्रमण भएको हो ।

महासचिव नेतृत्वको टोलीमा पार्टीका स्थायी समितिका सदस्य तथा पराराष्ट्र अध्ययन मामिला प्रमुख डा. राजन भट्टराई, स्याथी समितिका सदस्य तथा पार्टी प्रचार–प्रसार प्रमुख राजेन्द्र गौतम, नेताहरु ज्वाला कुमारी साह, राम राना, सहदेव देवकोटा, निरज आचार्य लगायतका २२ सदस्यीय टोली चीन भ्रमणमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप