सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चालु आर्थिक वर्षको बजेटमा नागरिक उड्डयन प्राधिकरणका छैनन् नयाँ कार्यक्रम र योजना

शुक्रबार, २२ भदौ २०८०, १५ : ५९
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना भन्दा पनि पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ । 

चालु आर्थिक वर्ष साउन १ गतेदेखि कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला गरेर प्राधिकरण सञ्चालक समितिले मंगलवार आर्थिक वर्ष २०८०÷८१ बजेट ल्याएको थियो । नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैँले गर्दै आएको भए पनि बजेट त्यही अनुसार नभएको देखिएको छ । 

प्राधिकरणले ढिला गरेर बजेट ल्याए पनि कुनै नयाँ र ठुलो आयोजनाहरू समेट्न सकेको छैन । प्राधिकरणले विगतका पुराना कार्यक्रमहरू र योजनाहरूलाई नै निरन्तरता दिएर बजेट पास गरेको छ । 

निर्माण सम्पन्न भएर सञ्चालनमा आएका ठुला अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि नयाँ कार्यक्रम योजना बनाउन समेत प्राधिकरण चुकेको देखिन्छ । चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणले नयाँ पूर्वाधार विकास भन्दा पनि विगतका पुराना कार्यक्रमलाई चालु आर्थिक वर्षभित्रै सक्ने गरी अगाडि बढेको देखिन्छ ।

 प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा विशेष गरी विमानस्थलको पूर्वाधार विकास, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा पारेको छ । 

त्यस्तै, यो वर्षको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गर्ने विषयलाई जोड दिइएको छ । प्राधिकरणले यो वर्ष उपकरण खरिदमा बजेट विनियोजन गरेको छ । 

बजेटमा नेपालगन्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण सुरु भएका आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तीव्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि बिस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताए । प्रवक्ता निरौलाले चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणको स्रोतमा कमी भएको कारण नयाँ र ठुला पूर्वाधार आयोजनाहरू सुरुवात गर्ने कुनै पनि कार्यक्रमहरू आउन नसकेको स्पष्ट पारे । 

उनले प्राधिकरणले विगतका वर्षहरूमा ठेक्का सम्झौता भएर निरन्तरता रहेका कार्यक्रमहरू सम्पन्न गर्ने बजेटको मुख्य उद्देश्य रहेको बताए ।  प्राधिकरणको बजेट विमानस्थल सञ्चालन,यात्रु सुविधामा वृद्धि गर्ने गरी आएको उनको दाबी छ । उनले चालु आर्थिक वर्षमा प्राधिकरणले पुँजीगततर्फ ठुला आयोजनाहरू सञ्चालन नगर्ने गरी बजेट आएको उल्लेख गरे । 

प्रवक्ता निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला पूर्वाधारका कामहरू चालु अवस्थामा रहेको भन्दै विमानस्थलको धावन मार्गको पूर्वतर्फ जहाजको पार्किङ क्षेत्र बिस्तार गर्ने र ह्याङ्गर व्यवस्थापन कार्यक्रमको निरन्तरता दिएको बताए । 

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे रिनोभेसन स्तर उन्नति गर्ने बाटोहरू र पुलहरु बनाउने कार्यक्रम रहेको उल्लेख गरे । उनले विभिन्न विमानस्थलमा एक्सरे मिसिनहरु आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा थप राख्ने गरी बजेट विनियोजन भएको स्पष्ट पारे । निरौलाले चन्द्रगण्डी,जनकपुर,गौतमबुद्ध विमानस्थलहरुमा ब्यागेज ह्याण्डलिङ सिस्टम यात्रुहरुलाई सहज हुने तरिकाले सेवा दिन बजेट व्यवस्था गरेको दाबी गरे । उनले सुर्खेत,राजविराज र तुम्लिङटार विमानस्थलमा धावनमार्गमा लाइटहरु व्यवस्था गर्ने कार्यक्रम चालु बजेटमा रहेको बताए । उनले तराईका विमानस्थलहरुमा फायर भेहिकलहरु थप गरिने बताए । 

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकता हवाई सुरक्षा र उडान सुरक्षामा केन्द्रित गरेर बजेट तर्जुमा गरेको बताए । उनले विगतका वर्षदेखि रहेका विमानस्थल पूर्वाधार विकास र नियमित गर्नुपर्ने विमानस्थलका जनशक्तिहरूको विकास गर्न तालिम दिने र पदपूर्ति गर्ने कार्यक्रमहरू र अन्तर्राष्ट्रिय संघ संस्थाहरु आईकाओ र आएटा लगाउतका अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिनेगरी बजेट तथा कार्यक्रमहरू तय भएको उल्लेख गरे । 

उनले प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताए । गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा प्राधिकरणले यो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ कम बजेट ल्याएको छ । 

उनले चालु आर्थिक वर्षका कुल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेटमा पूर्वाधार विकास (पुँजीगत खर्च) तर्फ  १९ अर्ब ३ करोड  र खर्च ७ अर्बमा सीमित गरेको बताए ।  दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । उनले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको सावाँ, ब्याज, सरकारलाई भुक्तानी गर्नुपर्ने आयकर मूल्य अभिवृद्धिकर  र शेयर लगानी बापतको लाभांश समेतको लागि १० अर्ब छुट्याएको उल्लेख गरे । उनले बजेटको स्रोत व्यवस्थापनमा प्राधिकरणको स्रोतबाट ३० अर्बको व्यवस्थापन गरिएको र बाँकी नेपाल सरकारले प्राधिकरणलाई दिने शेयर तथा ऋण लगानी बापत ६ अर्ब ६४ करोड रहेको बताए । 

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएकोमा चालु आर्थिक वर्ष ५ अर्ब १९ करोड रुपैयाँ घटाएर बजेट ल्याएको छ । दुई राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले चालु आर्थिक वर्ष प्राधिकरणको बजेट घटेको प्राधिकरणले बताएको छ । गत आर्थिक वर्षमा १३ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरले चालु आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप