सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद सापकोटाद्वारा ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन

शनिबार, २३ भदौ २०८०, १३ : ५३
शनिबार, २३ भदौ २०८०

ढाका । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।  त्यसक्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि जलवायु परिवर्तनमा देखिन थालेको बताए ।

पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो ।

सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी उनले सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको सापकोटाले उल्लेख गरे । 

उनले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।

नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अनुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए । 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित कांग्रेसका प्रदीप पौडेल,  एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् । 

बंगलादेशका सभामुख डा.शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप