शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

तीन जना पदाधिकारीबाट चल्दैछ जसपा

शनिबार, २३ भदौ २०८०, १७ : ३८
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीको विधानमा पदाधिकारीको व्यवस्था भए पनि हालसम्म तीन जना पदाधिकारीले मात्र पार्टी सञ्चालन भइरहेको छ । एक जना अध्यक्ष, एक जना संघीय परिषद्का अध्यक्ष र एक जना प्रवक्ताबाहेक अरू पदाधिकारी चयन गरिएको छैन । 

अन्तरिम विधानमा पनि संघीय परिषद् अध्यक्ष एक जना, केन्द्रीय समिति अध्यक्ष २ जना, आवश्यकता अनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षहरुको व्यवस्था थियो तर संघीय परिषद्का अध्यक्ष, केन्द्रीय समिति अध्यक्षबाहेक अरू कुनै पदाधिकारी चयन गरिएन । 

जसपाको नयाँ विधान आइसकेको छ । त्यसमा पनि पदाधिकारीको व्यवस्था छ तर हालसम्म त्यसले पूर्णता पाएको छैन । विधान अनुसार अन्य समितिहरू गठन भइसकेका छन्, बाँकी धमाधम गठन भइरहेका छन् तर पदाधिकारी चयनको प्रक्रिया अगाडि बढेको छैन । 

पार्टीका प्रवक्ता मनिष सुमनले विधान अधिवेशनबाट पार्टीको नयाँ विधान बनेकाले अब सोही विधान अनुसार पदाधिकारी चयन हुने बताए । ‘पदाधिकारीको बारेमा बैठकहरूमा सामान्य छलफल भएको छ । अगामी बैठकबाट पदाधिकारीले पूर्णता पाउँछ,’ उनले भने । 

अध्यक्ष–१, सहअध्यक्ष–१, उपाध्यक्ष–३, महासचिव–१, उपमहासचिव–३, सचिव–७ र कोषाध्यक्ष–१ जना पदाधिकारीको व्यवस्था नयाँ विधानमा गरेको छ । नयाँ विधान अनुसार हाल एक जना अध्यक्ष र अरू बाँकी सबै जना सदस्य रहेका छन् । पदाधिकारी चयन नगरे पनि केही केन्द्रीय सदस्यहरूको कार्य विभाजन भने गरिएको छ ।  

जसपाले नयाँ विधान ल्याइसकेपछि केन्द्रीय नेताहरूलाई नै प्रशिक्षण दिइरहेको छ । जसपाले संगठन विस्तार, पुनर्गठन र रूपान्तरणका साथै नेताहरूलाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरिरहेको छ ।  

जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । प्रशिक्षणमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र संघीय परिषद् सदस्यहरू प्रशिक्षणमा सहभागी हुने गरेका छन् । 

यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ताहरू पनि प्रशिक्षणमा सहभागी रहेका छन् । 

पार्टीको मार्गदर्शक सिद्धान्त संघीय समाजवाद र पार्टीको मूल नारा संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद लगायतका विषयमा प्रशिक्षण दिने गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए । 

केही प्रदेश संगठन पुनर्गठन कार्य सम्पन्न भए लगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दै छन् । प्रशिक्षण, अभिमुखीकरण, संगठन पुनर्गठन र रूपान्तरण गरी कार्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यहरूको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप