सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवार बनेका डा.आचार्यका पक्षमा लबिङ गर्दै स्वास्थ्यमन्त्री बस्नेत

आइतबार, २४ भदौ २०८०, १४ : ३२
आइतबार, २४ भदौ २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले   विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा लबिङ गरिरहेको बताएका छन् ।

मन्त्री बस्नेतले नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरूसँग आफूले लबिङ गरेको बताए ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकमा दुई जनाको उम्मेदवारी परेको छ । नेपालका तर्फबाट डा. आचार्यले उम्मेदवारी दिएका छन् भने बंगलादेशबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले उम्मेदवारी दिएकी छन् ।

नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराइसकेको छ । हाल डा. आचार्यले डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसुस मातहतकै विभागमा काम गर्छन् ।

निर्देशकको लागि चुनाव नयाँ दिल्लीमा (अक्टोबर ३०–नोभेम्बर २) मा हुनेछ । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ वटा देश  पर्छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन् ।

अहिले दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकको रुपमा भारतकी पुनम क्षेत्रपाल सिंह छिन् । क्षेत्रपाल २०१४ देखि निर्देशकको पदमा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप