बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अटो शोका लागि ‘एमजी–४’ र ‘कोमेट’ तयार,१७ लाख ९९ हजारमै ईभी उपलब्ध

आइतबार, २४ भदौ २०८०

काठमाडौँ । नाडा अटो शो, २०२३ को पूर्वसन्ध्यामा विश्व प्रसिद्ध मोटर ब्राण्ड एमजीले दुई मोडलमा आकर्षक ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । एमजी मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी–४ र कोमेट सार्वजनिक गरेको हो । 

ईभीमा दुई मोडलमा सार्वजनिक गरेको कम्पनीले एमजी–४ मा दुई वटा र कोमेटमा दुई वटा गरी ४ वटा भेरिएन्ट उतारेको छ । लग्जरी प्रिमियम सेग्मेन्टको एमजी–४ ईभी कम्र्फट भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने एमजी–४ लग्जरीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

एमजी–४ कम्फर्ट ९९ किलो मोटर क्षमतामा ५१ किलोवाट ब्याट्रीमा आएको छ भने एमजी–४ लग्जरी (एलयूएक्स) १५० किलोवाट मोटरपावरमा ६४ किलोवाट ब्याट्री क्षमतामा आएको छ । कम्पनीका अनुसार एमजी–४ कम्र्फटले एकपटकको फुलचार्जमा ३५० किलोमिटर र लक्जरी भेरियन्टले ४३५ किलोमिटर रेन्ज प्रदान गर्दछ । 

यस कारको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

स्पोर्टी लुक्स रहेको एमजी–४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल–विंग स्पोइलर र फुल–वाइड एलइडी टेल ल्याम्प रहेको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।

मिनी ईभीमा १७ लाख ९९ हजारमै ‘कोमेट’ !

पारामाउन्ट मोटर्सले इन्ट्री लेभलका निम्न र मध्ययम ग्राहकलाई लक्षित गर्दै मिनी ईभी समे बजारमा उतारको छ । रिजियबल प्राइसमा कोमेट उतारेको कम्पनीले नाडा अटो शोको अवसरमा १७ लाख ९९ हजार रुपैयाँमा नै कार उपलब्ध गराउने घोषणा गरेको छ । 

कम्पनीले ३१.२६ किलोवाट मोटर क्षमतामा १७.३ किलोवाटको ब्याट्रीमा दुई वटा भेरिएन्ट एमजी कोमेट ईभी–पेस र कोमेट ईभी–प्ले बजारमा उतारेको छ । यी मोडलको भेरिएन्ट अनुसार कोमेट पेसको मूल्य १७ लाख ९९ हजार रुपैयाँ र प्लेको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । 

मिनी कारको रुपमा उपलब्ध कोमेटको दुबै भेरियन्टले एक पटकको फूल चार्जमा २३० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया