बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया

बिहीबार, ०७ साउन २०८३, ०१ : १०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • महालेखापरीक्षक रायाले नेपाललाई ग्रे लिस्टबाट हटाउन सरोकारवाला निकायको समन्वय आवश्यक।
  • संयुक्त प्रयासबाटै ग्रे लिस्टबाट बाहिरिन सकिने उनले बताए।
  • चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा।

काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय कारबाही कार्यदलले नेपाललाई ग्रे लिस्टमा राखेकाले संयुक्त प्रयासबाट मात्रै यसबाट बाहिरिन सकिने बताए ।

उनले भने, “चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायत काम गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्न सक्छ । यसमा संस्थाले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छु ।”

महालेखापरीक्षक रायाले लेखापरीक्षणलगायत गतिविधिमा हुन सक्ने विकृति र विसङ्गतिलाई इमान्दारीपूर्वक उजागर गर्न पनि आग्रह गरे । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको ऐन समयअनुकूल नभएकाले आवश्यक संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले बैङ्क तथा वित्तीय संस्था, निजी र सार्वजनिक कम्पनीको लेखापरीक्षण निष्पक्ष र इमान्दारीपूर्वक गर्न संस्थालाई आग्रह गरे  ।

निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाको गरिमा बढाउने प्रयास गरेको बताउनुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई ‘प्रेसिडेन्ट मेडल’ हस्तान्तरण गर्दै पदभार ग्रहण गराए ।
नवनिर्वाचित अध्यक्ष वाग्लेले संस्थाको स्थापनाकालदेखि कायम व्यावसायिकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई पनि शपथ गराए । उपाध्यक्ष काफ्लेले लेखापरीक्षणलगायतका गतिविधिलाई अझ विश्वासिलो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप