बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा ओढाइयो, तस्बिरहरू
श्रद्धाञ्जली

नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा ओढाइयो, तस्बिरहरू

मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ ।  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिएका छन् ।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएकी छन् ।

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू च्यासल पुगेका छन् । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिनेछ । 

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ । 

त्यस्तै नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । 

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया