आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङको असामयिक निधनले मर्माहित र स्तब्ध बनायो : उपराष्ट्रपति यादव

मङ्गलबार, २६ भदौ २०८०, २० : ००
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उनले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । 

उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गर्नुभएका नेता नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घच्घचाइरहने व्यक्तित्वका रुपमा स्मरण गर्ने बताए ।  

सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार भएको नेताका रुपमा उनले आफूलाई स्थापित गरेको भन्दै शोक सन्देशमा इलाम–२ बाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको उल्लेख छ ।  

उपराष्ट्रपति यादवले एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै  मृतात्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप