बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा माओवादीको रुपान्तरण अभियान : धान गोड्नेदेखि बाटो र काठे पुल निर्माणसम्म

बुधबार, २७ भदौ २०८०, १० : २५
बुधबार, २७ भदौ २०८०

सुर्खेत । ‘जनतासँग विशेष रुपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन् । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले कर्णालीमा माओवादीको वर्तमान अवस्थालाई रुपान्तरणसहितको माओवादी बनाउने लक्ष्य लिइएको छ ।

माओवादी केन्द्रका नेताहरुका अनुसार अहिले घरघरमा पुगेरै पार्टी सदस्यता नवीकरण, सदस्यता वितरण लगायतका काम भइरहेका छन् ।

सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेताहरु केन्द्रित भएको देखिन्छ । माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण, जनवर्गीय संगठनलाई प्रशिक्षण र चलायमान गर्ने र टुटेका कडीहरुलाई सुधार गर्ने गतिविधि कर्णालीमा भइरहेको जिल्ला इञ्चार्जहरुले बताउने गरेका छन् ।

माओवादीहरु गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउनेदेखि जनताका काममा सहयोग गर्नेसम्मका भूमिकामा क्रियाशील भएका छन् ।

श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु धान गोड्ने, विकास निर्माणका काममा सहभागिता जनाउने गरिरहेका छन् ।

कालिकेाटमा फिल्ड निर्माण गर्दै नेताहरु

प्रदेश सरकारका कानुन मन्त्री एवं माओवादीका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण बहादुर जिसी जनतासँगै श्रम अभियानमा सक्रिय छन् । उनी सुर्खेतका विभिन्न क्षेत्रमा जनतासँगै श्रम अभियानमा जोडिएका हुन् ।

मन्त्री जिसी हरेक नागरिक श्रममा नजोडिए विकास सम्भव नहुने बताउँछन् । ‘श्रममा नजोडिएर विकास सम्भव छैन’, उनले भने, ‘घर अगाडिको सानो खाल्डो पनि सरकार आएर वा अन्य कुनै जनप्रतिनिधि आएर पुरिदेओस् भन्ने मानसिकताले देशको विकास हुँदैन, सबैले आ–आफ्नो ठाउँबाट सार्वजनिक रुपमा श्रम गर्न आवश्यक छ ।’

एउटा मन्त्री वा जनप्रतिनिधि आएर एउटा ढुङ्गा बोकेरमात्र विकास सम्भव नभएको भन्दै मन्त्री जिसीले सार्वजनिक कामका लागि जनस्तरबाटै श्रम अभियानको योजना बनाएर लाग्नुपर्नेमा जोड दिए । सार्वजनिक कामहरुमा सामूहिक श्रम गर्ने बानीको विकास होस् भन्ने हेतुले आफू श्रम अभियानमा जोडिएको उनको भनाइ छ ।

मन्त्री नै श्रम अभियानमा जोडिएपछि स्वाभाविक रुपमा अन्य नेता, कार्यकर्ताहरु पनि कतै धान गोडिरहेको अवस्थामा भेटिन्छन्, कतै विकास निर्माणका कार्यमा सक्रिय भएका देखिन्छन् । 

जुम्लामा त युवा नेता अम्मरजंग शाहीको नेतृत्वमा काठे पुल निर्माणको काम अघि बढेको छ । ‘श्रम, उत्पादन, विकास र आत्मनिर्भर युवा अभियान’ भन्ने मुल नाराका साथ माओवादी नेता, कार्यकर्ताहरुको सक्रियतामा हिमा गाउँपालिका–४, चिउडीसागुँमा काठे पुल निर्माण कार्य अघि बढेको हो ।

यस्तै कालिकोटको महावै गाउँपालिकामा माओवादी नेता, कार्यकर्ताहरु विद्यालयको चौर विस्तार तथा सफाइ गरिरहेका छन् ।

पार्टीकै व्यक्तिहरु श्रममा जोडिएपछि स्थानीयहरुले समेत सहयोग गर्ने गरिरहेका माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको भनाइ छ । अझ सल्यानमा त ‘श्रम शुक्रबार’ कार्यक्रम नै राखिएको छ ।

यस्तै जिल्ला अनुसार फरक–फरक कार्यक्रम सञ्चालन भइरहेका छन् । विशेषगरी सल्यानमा माओवादीले भिन्न तरिकाले अभियान चलाइरहेको छ ।

इञ्चार्जका रुपमा रहेका नरेश भण्डारीले अहिलेको युवा वर्गलाई समेट्ने गरी नयाँनयाँ कार्यक्रम सञ्चालन गरिरहेका छन् । यहाँ राजनीतिक दलहरुसँग अन्तर्क्रिया, जनसंगठन तथा मोर्चा प्रशिक्षण, वडादेखि पालिकासम्मका विस्तारित बैठक सम्पन्न भइसकेका छन् ।

मन्दीरका देवालहरु निर्माण

‘हामीले अहिले पार्टी सदस्यता, नवीकरण, वितरण, विवरणहरु संकलन लगायतका कामहरु गरिरहेका छौँ,’ उनले भने, ‘असोज १२, कार्तिक १७ र मंसिर १५ गतेलाई माओवादीले श्रम शुक्रबारका रुपमा मनाउने छ । यस अन्तर्गत जिल्लाका विभिन्न स्थानमा श्रमदान गरिने छ ।’

यस्तै, अभियान अन्तर्गत ‘म लेख्छु’ शीर्षकको कार्यक्रम पनि चलाइने छ, जसमा नेता, कार्यकर्ताहरुले सार्वजनिक रुपमा तथा मिडियामा पार्टीको विषयमा लेख, रचनाहरु लेख्ने छन् । यसले नेता, कार्यकर्ताहरुमा पठन संस्कृतिको विकास गर्ने छ ।

असोज १९, २० र २१ मा मागपत्र पेस (विकास र सुशासन) गरिनेछ । उक्त मागपत्र वडादेखि जिल्लासम्मनै पेस गरिने भण्डारीले बताए ।

यस्तै, स्कुलिङ कार्यक्रम पनि राखिएको छ भने असोज १८ देखि २४ सम्म सिर्जनशील सप्ताह कार्यक्रम राखिएको छ । ‘विवेक र बेथिति’ शीर्षकको कार्यक्रममा विकासमा भइरहेको बेथितिको विरुद्धमा माओवादीले संघर्ष गर्ने छ ।

यसैगरी विचारको बहस, इतिहास विमोचन र अभिनन्दन जस्ता कार्यक्रम पनि सल्यानमा गरिने छन् ।

सबैभन्दा कमजोर रहेको दैलेखमा पनि माओवादी फैलिँदै गइरहेको अवस्था छ । गोपाल शर्माको कमाण्डमा यहाँ माओवादीले अभियानलाई सशक्त बनाइरहेको छ । भैरवी गाउँपालिकामा मात्रै अभियान सञ्चालन भए यता नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर माओवादीमा आउने कयौँ रहेको त्यहाँका इञ्चार्ज उपेन्द्रकुमार रावत (सुशील) बताउँछन् ।

हिमाली जिल्ला हुम्लामा पनि अभियान प्रभावकारी रुपमा चलिरहेको इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) बताउँछन् ।

माओवादीको आधार इलाका रुकुम पश्चिममा अहिले जिल्ला हुँदै टोल कमिटीका बैठकहरु चलिरहेका छन् । इञ्चार्ज गगन खड्का भन्छन्, ‘अभियानले जनता र कार्यकर्तामा एउटा तागत पैदा गरेको छ, उत्साह बढेको छ ।’

अभियानका क्रममा नेताहरुले पार्टी सुध्रिएर आइसकेकोदेखि वर्तमान सरकारले भ्रष्टाचार र सुशासनका विषयमा चालेका कदमहरुको विषयमा समेत जानकारी गराउने गरिरहेका छन् ।

श्रमदानमा व्यस्त कानुन मन्त्री एवं माओवादी प्रदेश उपाध्यक्ष  (1)

मदिरा सेवन नगर्नेदेखि जुवातास नखेल्ने संकल्प

पार्टी सामाजिकीकरणको विकासलाई ध्यान दिँदै जिल्लाहरुमा संकल्प प्रस्तावहरु पेस गरिएका छन् । मुगमा ६ बुँदे प्रस्ताव पेस गरिएको छ, जसमा जाँडरक्सी नखाने, जुवातास नखेल्ने, यदि खेलेको देखेमा पार्टीले अनुशासनको कारबाही गर्ने भनिएको छ ।

इञ्चार्ज गोमा गौतम भन्छिन्, ‘हामीले श्रमलाई माया गर्नुपर्छ । श्रम र उत्पादनलाई प्राथमिकता दिने, भ्रष्टाचारको विरोध गर्ने, सुशासन कायम गर्नका लागि हामीबाटै सुरु गर्ने भनेर लागिरहेका छौँ ।’

जुम्लामा पनि यस्तै खालको संकल्प प्रस्तावहरु पेस गरिएको छ ।

पार्टीको नीति अनुसार नै अभियान

कर्णालीमा पार्टीको नीति, निर्देशन अनुसार नै अभियान चलिरहेको नेताहरु बताउँछन् । ‘सबैभन्दा पहिला आन्तरिक रुपमा माओवादीकै नेता, कार्यकर्ताहरु एकीकृत छैनन्,’ मुगु जिल्लाका इञ्चार्ज गोमा गौतम कुवँरले भनिन्,’ यो महिनाभर हामी आन्तरिक रुपमा माओवादीप्रति आस्था राख्ने व्यक्तिहरुलाई एकीकृत गर्छौँ, त्यसपछि हामी अन्य गतिविधिहरु चलाउँछौँ ।’

श्रमदानमा व्यस्त कानुन मन्त्री एवं माओवादी प्रदेश उपाध्यक्ष  (2)

मुगुमा पार्टीको नीति अनुसार नै अभियान चलिरहेको उनको भनाइ छ ।

माओवादीलाई शहर केन्द्रित भएको ट्याग लागेको छ । तर, यो अभियान अन्तर्गत नेताहरु होटलहरुमा बस्दैनन् । गौतम भन्छिन्, ‘जे काम गर्नुपरे पनि जनतासँगै बसेर भइरहेको छ । जनतासँग बसेर जे पाक्छ, त्यही खान्छौँ । जनता जे काम गरिरहेका छन्, त्यहीँ पुगेर छलफल भेटघाटहरु गरिरहेका छौँ । जनताको श्रमसँग हामी नेता, कार्यकर्ताहरु जोडिएका छौँ ।’

सुर्खेत जिल्ला इञ्चार्ज एवं कर्णालीका पूर्व अर्थमन्त्री विन्दमान विष्ट कमजोर भनिएको सुर्खेतमा माओवादी अब सशक्त बन्ने दाबी गर्छन् । ‘विगतका दिनमा माओवादीको जनतासँगको सम्बन्ध सहज, नजिक भएकाले जनताले माओवादीलाई साथ दिएका थिए,’ उनी भन्छन्, ‘पछिल्लो अवधिमा जनतासँगको सम्बन्धमा केही टुट्यो । जनताको बिचमा पार्टी गएन र पार्टी कमजोर भएको हो । यो अभियानले टुटेका कडीहरुलाई जोड्ने र जनतासँग सम्बन्ध स्थापित हुन्छन् ।’

काठे पुल निर्माण जुम्ला

‘सुदृढ माओवादी आधार इलाका बन्छ, कर्णाली’

स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल अभियानले सुदृढ माओवादीको आधार इलाका कर्णाली बन्ने दाबी गर्छन् । ‘अहिले पनि आधार इलाका नै हो, शान्ति प्रक्रियामा आइसकेपछि हामी सहर पस्यौँ, अरु पाउँ पसेर हाम्रो सहिद, घाइते परिवार, सदस्यहरुलाई भ्रम छरिदिए,’ उनले भने, ‘हाम्रो उपस्थिति नभएकाले हाम्रो मान्छेले नै हामीलाई हेर्ने दृष्टिकोण बदलियो, अब यसको उपचार भनेको आफू सुध्रिने र रुपान्तरण हुने नै हो । यो अभियानले विश्वास आर्जन गर्छ । सुदृढ आधार इलाका बन्छ ।’

मल्लका अनुसार १० जिल्लामा गरी यो अवधिसम्ममा १ हजारभन्दा बढी मान्छे अन्य राजनीतिक दल परित्याग गरी माओवादीमा आएका छन् ।

माओवादी प्रदेश अध्यक्ष विमला केसी यो अभियान एउटा युद्धजस्तै भएकाले नेता, कार्यकर्ताहरु युद्धस्तरमा खटिएको बताउँछिन् । ‘माओवादीभित्र अन्य प्रदेशभन्दा कर्णाली १ नम्बर पार्टी हो, अब कर्णालीमा अन्य राजनीतिक दल भन्दा १ नम्बर पार्टी बनाउने हाम्रो लक्ष्य हो,’ उनले भनिन्, ‘कर्णालीमा त्यसको आधार पनि छ ।’

प्रदेश इञ्चार्ज मातृका यादव माओवादीप्रति रिसाएका जनताहरुमा अभियानले उत्साह थपेको बताउँछन् । ‘जनताको डिमाण्ड हामीबाट बदल्ने नै हो, जोबाट आशा बढी हुन्छ, नभएपछि जनता रिसाउँछन् नै । यो खालको समस्या अहिले छ । त्यसलाई समाधान गर्न र अझ नयाँ तरिकाले रुपान्तरण हुने दिशामा हामी अघि बढिसकेको अवस्था छ,’ उनले रातोपाटीसँग भने, ‘कर्णालीमा अभियानले पार्टीलाई नयाँ आयाम थप्ने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप