आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
ठगी

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम पैसा उठाउँदै

शनिबार, ३० भदौ २०८०, १५ : ५४
शनिबार, ३० भदौ २०८०

धनगढी । कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीलाई गत शनिबार (भदौ २३) अपरिचित नम्बरबाट फोन आउँछ ।

अभिवादनसँगै सो व्यक्तिले आफ्नो परिचय दिन्छ, आफू सुदूरपश्चिम सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको स्वकीय सचिव विकास ऐर हो भनेर । अनि निकै विनम्रतापूर्व भन्छ, ‘म तपाईंलाई चिन्छु, तपाईं मलाई चिन्नु हुन्न ! मन्त्रीज्यूको मलाई आदेश छ, एकदमै इमर्जेन्सी भयो । म बाहिर भएकोले व्यवस्थापन गर्न सकिरहेको छैन । उहाँलाई थोरै पैसा चाहिएको छ । पठाइदिनुस् न ! म पछि मन्त्रालयबाट मिलाइदिन्छु ।’

यति सुनेपछि त्रिलोकनाथ चौधरी नतमस्तक हुन्छन् । चिनेकै मान्छे, त्यो पनि मन्त्री यूले मागेपछि दिनलाई कर लाग्छ । उनले ६ हजार रुपैयाँ सो व्यक्तिले भनेअनुसारको ई–सेवा आईडीमार्फत पैसा पठाउँछन् ।

एकछिनपछि उनले आफ्नै सहकर्मी नगरपालिकाको कृषि शाखामा कार्यरत दिनेश कुमार चौधरीले पनि सोही व्यक्तिलाई सोही नम्बरमार्फत पैसा पठाएको खबर पाउँछन् । त्यसपछि दुवै जनाले खोजी नीति गर्छन् । अनि थाहा पाउँछन्, आफूहरू ठगिएको ।

दिनेश कुमार चौधरी भन्छन्, ‘मन्त्रीज्यूले मागेपछि दिइदिऊ लाग्यो । मैले पनि ईसेवामार्फत २ हजार रुपैयाँ पठाइ दिए ।’

दिनेश र त्रिलोकनाथ चौधरीले मिमसरा कुमारी महतराको नाममा ईसेवा आइडी ९८५११७३३१८ मा पठाएका हुन् । भजनी नगरपालिकामै कार्यरत वैभव चौधरीसँग पनि पैसा मागेको तर उनी जोगिएको बताइएको छ ।

यसरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नाममा रकम असुली गर्ने गिरोह नै सक्रिय भएको पाइएको छ । सो गिरोहले प्रदेशका विभिन्न स्थानीय तह अन्तरगतका कृषि शाखामा कार्यरत कर्मचारीहरूसँग पैसा मागिरहेको पाइएको हो ।

money-send-recept1

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीको निजी सचिवालयका नाम उल्लेख गरेर रकम असुली रहेको पाइएको हो ।

कैलालीको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पनि सोही नम्बरबाट सोही मान्छेले फोन गरेर पैसा मागेको बताउँछन् ।

तर आफूले चिनैकै मन्त्री, त्यो पनि आफ्नै क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिबाटै सत्यतथ्य बुझ्नलाई राज्यमन्त्री कैलाश चौधरीलाई फोन गरेको सुनाउँछन् । आफूहरू कसैसँग पनि पैसा नमागेको राज्यमन्त्री चौधरीबाट सत्यता थाहा पाएपछि उनी पैसा पठाउन रोकिए ।

लालवीर भन्छन्, ‘म त दिनलाई तयार भइसकेको । अनि मन्त्रीज्यूलाई के त्यस्तो आपत् आइलाग्यो, भनेर सत्यता बुझ्न फोन गरे । र, ठगिनबाट जोगिए ।’

आफूसँग १० हजार रुपैयाँ मागेको बताउँदै लालवीर चौधरीले गाउँपालिकामै कार्यरत पशु सेवा अधिकृत नरबहादुर कार्कीसँग १५ हजार र कृषि शाखाकै चक्रप्रसाद भाटसँग ५ हजार रुपैयाँ मागेको जानकारी दिए । तर आफूहरू तीनै जना जोगिएको उनको भनाइ छ ।

कसैले आफूहरूलाई ठग्न खोजेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुरमा व्यक्तिको पहिचानसहित कारबाहीको लागि उजुरी दिएका छन् ।

भदौ २४ गते इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलाई नेपाल टेलिकमले उपलब्ध गराएको कल डिटेल अनुसार सो पोष्टपेड मोबाइल नम्बर ९८५११७३३१८ कालिकोट मुगराहारा समाला गाउँका अम्मरराज सिजुवालको नाममा दर्ता भएको खुलेको छ ।

कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै पैसा माग्ने व्यक्तिले जिल्ला बाहिरबाट फोन गरेर पैसा मागेको बताए । 

के भन्छन्, मन्त्री चौधरी ?

आफूहरूको नामबाट कसैले पैसा मागिरहेको थाहा पाएपछि आफूहरूले सबै पक्षलाई सचेत रहन आग्रह गरेको राज्यमन्त्री कैलाश चौधरीले बताए । राज्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘कसैले हाम्रो नाम वा सचिवालयको नाम प्रयोग गरेर असुली धन्दा मच्चाएको खबरले हामी दुःखी भएका छौँ । हामी जनताका सेवक हौ । जनताबाट १ पैसासम्म माग्ने हाम्रो नैतिकताले दिँदैन । हामी कल्पनासम्म गर्न सक्दैनौ । त्यसैले त्यस्तो ठगी धन्दाबारे जानकारी पाउने बित्तिकै सबैलाई सचेत रहन अपिल गरेका छौँ । साथै आवश्यक कारबाहीको लागि प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेका छौ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप