५० हजार मेट्रिक टन चिनी, १० लाख मेट्रिक टन धान बिक्री गर्न भारतलाई नेपालको पत्राचार
काठमाडौँ । सरकारले चाडपर्वका बेला चिनी तथा खाद्यवस्तुको अभाव हुन नदिन भारतसँग खरिदका लागि पत्राचार गरेको छ । चाडपर्वका बेला चिनीको माग बढी हुने भएकोले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी खरिदका लागि पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी गराएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै खरिद प्रक्रिया अघि बढेको बताएका हुन् ।
भारतसँग चिनीका साथै चामल १ लाख मेट्रिक टन र धान १० लाख मेट्रिक टन खरिदका लागि पत्राचार गरेको जानकारी दिए । चामल भन्दा धान खरिद गर्दा नेपालका राइस मिलहरूमा रोजगारी बढ्ने भएकोले चामलभन्दा धेरै धान मागिएको उनले बताए ।
भारतले जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको भन्ने अनौपचारिक जानकारी दिएको उनले बताए । सचिव मरासिनीले भने– ‘हामीले ५० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान खरिदका लागि भारतलाई पत्राचार गरेका छौँ । त्यसको औपचारिक जवाफ कुरिरहेका छौँ । समयमा उपलब्ध गराउनका लागि हामीले ताकेता पनि गरिरहेका छौँ ।’
यस्तै बजारमा मूल्य नियन्त्रण गर्नका लागि भारतसँग खरिद गर्ने खाद्यवस्तुको भन्सार कर छुट गराउनका लागि प्रयास गरेको बताए । २० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिक टन साल्ट टेडिङले र १० हजार मेट्रिक टन खाद्य व्यवस्था कम्पनीले खरिद गर्ने सहमति भएको जानकारी दिए ।
२० प्रतिशत भन्सार छुट गरेर चिनी खरिद गरेर ल्याउँदा प्रतिकिलोमा १२ रुपैयाँ सस्तो पर्ने उनले बताए । यसले गर्दा बजारलाई सन्तुलन गराउन सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण