बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञानको क्षेत्रमा के काम गर्दै छ शिक्षा मन्त्रालय ?

सोमबार, ०१ असोज २०८०, १४ : ५१
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको सम्झनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउँदै आएको छ । मन्त्रालयले विज्ञानको क्षेत्रमा विभिन्न कार्य समेत गर्दै आएको छ । जसअनुसार मन्त्रालयले १ अर्बको अनुसन्धान र नवप्रवर्तनको लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब बजेट विनियोजन गरेको छ । 

यो कोष सञ्चालनको निम्ति मन्त्रालयले अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कानुनी व्यवस्था गर्न विधेयक तयार पारेको छ । मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनीले विधेयकको मस्यौदालाई अन्तिम रूप प्रदान गरिएको बताए । 

अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कानुनी व्यवस्था भए विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा एक रूपान्तरणकारी कदम हुने उनको भनाइ छ । त्यस्तै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, रासायनिक पदार्थ व्यवस्थापन विधेयकहरू पनि यसै वर्ष मन्त्रिपरिषद् मार्फत संसदमा दर्ता गराउने उद्देश्य मन्त्रालयको छ । 

विज्ञान प्रविधि र नवप्रवर्तन सम्बन्धी सङ्गठनहरू पुनर्संरचना गरी एकीकृत रणनीति बनाई दस वर्षीय विज्ञान प्रविधि महाअभियानका कार्यक्रमहरू समेत तय गर्ने योजनामा रहेको बताए । नेपाल सरकार र चीनबीच विज्ञान प्रविधि तथा नवप्रवर्तनका क्षेत्र सहायता तथा सहकार्य गर्न सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्रीको आगामी चीन भ्रमणको क्रममा दुई देशबीच सम्झौता हुन लागेको हो । 

त्यस्तै नेपाल सरकार र श्रीलंका सरकारबीच समेत एक समझदारीको प्रक्रिया अघि बढेको छ । 

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका आधारभूत अवधारणाहरूलाई एकीकृत गरी कार्यान्वयनमा ल्याइएको ‘एसटीईएम’ शिक्षामार्फत विद्यार्थीहरूमा सृजनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाइ तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्ने उद्देश्य रहेको छ । गत आर्थिक वर्षदेखि विश्वविद्यालयका विद्यार्थीहरूबिच ‘एसटीईएम’ सामाग्री निर्माण गर्न प्रतियोगिता सञ्चालन गरिएको थियो । 

प्रतियोगितामा ९ वटा समूहबाट ‘एसटीईएम’ सामाग्री तयार भएको र १ दिने प्रदर्शनीमा ६०० सय सामुदायिक विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका थिए । सो कार्यक्रम यस वर्ष पनि निरन्तर रहेको उनको भनाइ छ । 

त्यस्तै गत आर्थिक वर्षमा राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धान कार्य गर्न १ करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरिएको थियो । उक्त अनुदान सहयोग अन्तर्गत लर्निङ मेनेजमेन्ट सिस्टम, ईभेइकल कन्भर्सेसन, स्कुल स्याट र वाइन्ड टनेलसम्बन्धी अनुसन्धान तथा निर्माण कार्य भएका छन् । 

६ वटा विभिन्न निकायहरुलाई नानोटेक्नोलोजी, मटेरियल साइन्स, इन्भाइरोमेन्ट, पोलिमर साइन्स, बायोटेक्नोलोजी र मेडिकल प्लान्टजस्ता विषयहरुमा अनुसन्धान गर्न अनुदान रकम प्रदान गरिएको थियो । 

४ वटा व्यावसायिक संस्थाहरू प्लान्ट प्रोटेक्सन सोसाइटी, केमिकल सोसाइटी नेपाल, बायोटेक्नोलोजी सोसाइटी र पब्लिक हेल्थ रिसर्च सोसाइटीलाई जर्नल प्रकाशन गर्न अनुदान सहयोग प्रदान गरिएको थियो ।  

यो वर्ष उदीयमान प्रविधिबाट निजी तथा सार्वजनिक क्षेत्रमा उत्पादकत्व तथा कार्य दक्षता अभिवृद्धि गर्न कृत्रिम बौद्धिकता नीतिको मस्यौदा तयार पारिने उनको भनाइ छ ।  

अनुसन्धान निकाय, विश्वविद्यालय, प्रविधि विकास कार्यालय, ईन्क्युबेटर/एक्सीलिरेटर संस्था, भेन्चर क्यापिटल लगायतका विशिष्टीकृत लगानी कोष, बौद्धिक सम्पत्ति कार्यालय,सरकारी निकाय तथा निजी उद्योग क्षेत्रलाई सम्बद्ध गर्दै लैजान डाटाबेस सहितको एकीकृत सूचना प्रणालीको निर्माण कार्य प्रक्रिया अघि बढाइएको छ । 

त्यसैगरी परम्परागत ज्ञान, सीप तथा रैथाने प्रविधि सम्बन्धी विवरणको डाटाबेस  तयार गर्न ट्रेडिसनल नलेज डिजिटल लाइब्रेरी निर्माण गर्न सुरुवात गरिने उनको भनाई छ । 

विशिष्टीकृत विधा वा क्षेत्रमा उच्च नतिजामूलक अनुसन्धान गर्न विश्वविद्यालय लगायतका अनुसन्धान संस्थाहरुको छनौट गरी नेशनल सेन्टर अफ एक्सीलेन्स पहिचान एवं स्तरोन्नतिको लागि अनुदान सहयोग प्रदान गरिने उनको भनाइ छ । 

अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट परम्परागत ज्ञान र सीपमा आधारित मौलिक उत्पादनलाई परिष्कृत गरी गुणस्तरीय वस्तु उत्पादन गरी व्यवसायीकरण गर्ने उद्देश्यले यस आर्थिक वर्षमा स्थानीय तहसँगको सहकार्यमा मेकरस्पेश/प्रोडक्ट डेभलपमेन्ट सेन्टर÷वर्कशव स्थापना गर्न प्रक्रिया अघि बढाइएको उनको छ ।

विधिविज्ञानको सेवा विस्तार गरी सबै प्रदेशमा सेवा उपलब्ध गराउने गरी कार्यक्रमहरु अघि बढिरहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै बी.पी. कोइराला मेमरोरियल प्लैनेटेरियम, वेधशाला र विज्ञ सङ्ग्रहालय विकास समिति मार्फत थप वेधशालाहरुको विकास, विज्ञान संग्रहालयको पूर्णता तथा विज्ञान सहर पार्कको कार्यक्रम अघि बढिरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप