बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य

सोमबार, १९ जेठ २०८२, १९ : ३५
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार स्कटल्याण्डको डन्डीमा जारी खेलमा घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रन बनाएको हो ।

टोलीका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७२ बलमा १२ चौका र १ छक्काको मद्दतले ८० रन जोडे ।फिनले म्याक्रेथले पनि अर्धशतक बनाए । उनले ६७ बलमा ५५ रन जोड्दै अन्तिम ओभरमा आउट भए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रिची बेरिङटनले ४६ बलमा ४० रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ३ चौका र २ छक्का हिर्काए । विकेटकिपर म्याथ्यु क्रसले ५६ बलमा ३९ रन बनाए ।नेपालका लागि रिजन ढकाल, करन केसी र सोमपाल कामीले २–२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।

यो शृङ्खला २०२५ जुन २ देखि १२ तारिखसम्म डन्डीमा आयोजना हुनेछ। यो त्रिकोणात्मक सिरिज २०२४–२६ विश्वकप लिग २ को तेह्रौँ चरण हो, जसमा सहभागी तीन देशहरू -नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले एकअर्कासँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्। 

नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

जारी लिग–२ प्रतियोगितामा भने हालसम्म नेपाली टोलीको प्रदर्शन निराशाजनक देखिएको छ । नेपाली टोली १२ खेलबाट ६ अंक बटुल्दै तालिकाको अन्तिम अर्थात, आठौँ स्थानमा आसीन छ । १६ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ ।

सहभागी टोलीहरूका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । 

लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोली एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

लिग २ सिरिजपछि, ती तीनै टोलीहरू ग्लासगोमा हुने टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुनेछन् । यो जुन १५ देखि २० तारिखसम्म हुनेछ। यो सिरिज जुलाईमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीस्वरूप लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप