आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एकताको पहल

पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार !

सोमबार, ०१ असोज २०८०, १५ : ३६

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) समानविचारधारा भएका कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ । 

लामो समयदेखि नेकपा (माओवादी केन्द्र) ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएकोमा सबैलाई मिलाउने उद्देश्यका साथ आफ्नो पार्टीको नाम फेर्न तयार भएको हो । 

माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय नै गरेर  मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख गरिएको छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने पनि माओवादीको भनाइ छ । 

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, माओवादीले भनेको छ । 

माओवादी केन्द्रले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग वार्ताका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिएर एकताको पहल गर्दै आएको छ । गत साउन १७–२१ मा बसेको केन्द्रीय समिति बैठकले महरा नेतृत्वमा गठन भएको वार्ता समितिलाई अनुमोदन गरेको थियो । 

महराको नेतृत्वमा विप्लवसहित माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपासहित बाबुराम भट्टराई नेतृत्वको नेसपासँग विभिन्न चरणमा छलफल भएका थिए । तर, छलफलका क्रममा ‘माओवादी केन्द्र’ नाममा ती दलहरूले असहमति जनाउँदै नाम फेरेर सबै पार्टी अटाउने ढङ्गको हुनुपर्ने प्रस्ताव समेत आएको थियो । एकताका लागि वैकल्पिक नामको कुरा आएसँगै माओवादीभित्र यस विषयमा बहस हुँदै आएकोमा सचिवालयले नाम फेर्न तयार हुँदै मार्गप्रशस्त गरेको हो । 

विभिन्न चरणमा भएका वार्तापछि एकताको नजिक पुगेर पनि नेसपा र माओवादीबीचको एकता नामकै कारण प्रभावित हुँदै आएको छ । गत असारमै नेसपाले नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन गर्दै एजेण्डालाई थप परिष्कृत बनाएर अघि बढ्नुपर्नेसहितको सर्त राखेर पत्राचार गरेको थियो ।

पत्रमा नेकपा माओवादी केन्द्रको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्नुपर्नेसहितको ९ बुँदे प्रस्ताव रहेको थियो । माओवादी केन्द्रले साउनको केन्द्रीय समिति बैठकबाट पहिलो चरणमा नेसपासँग एकताबारे ठोस निर्णय लिने विश्वास गरिएपनि त्यसबारे त्यसबारे निर्णय भएको थिएन । गत असारमै नेसपाका नेता गंगानारायण श्रेष्ठले पार्टी माओवादी केन्द्रको जवाफको प्रतीक्षामा रहेको बताएका थिए । 

नेकपा माओवादी केन्द्रका महासचिव गुरुङले विगतमा पनि पार्टीको नाम हेरफेर हुँदै आएको भन्दै आपसी सहमतिको आधारमा यसबारे निर्णय लिन सकिने बताए । ‘कम्युनिस्ट आन्दोलनमा नाम धेरै पटक फेरिएको विषय हो’, उनले भने, ‘अहिले पार्टीको पछाडिको फुर्को फेर्ने कुरा भएको हो । तर, नेकपा फेरिँदैन । नाम भनेको नेपाल कम्युनिस्ट पार्टी हो ।’

 मुल नाम नेकपा भएको र माओवादी केन्द्र भनेको फुच्छर जोडिएको विषय भएको उनको भनाइ छ । ‘पुच्छर जोडिने विषय धेरै पटक फेरबदल भएको छ । चौम, मसाल, एकता केन्द्र, माओवादी, एमाओवादी, माओवादी केन्द्र भएको छ’, उनले भने, ‘विचार फेर्ने र नाम फेर्ने कुरामा आकाश जमिनको फरक छ ।’

उनले नेकपा कायमै गर्दै सहमति र एकता गर्ने क्रममा फेरि पनि विचार  फेरिन सक्ने धारणा राखे । ‘आपसी सहमतिको विषयमा जुन विचार उपयुक्त लाग्छ फेरिन्छ’, उनको भनाइ छ । समान विचारधारा बोकेका दलहरूबिच एकता हुने जिकिर गर्दै उनले तर तिथि मिति तय नभएको बताए । ‘एकताका लागि प्रयास भइरहेको छ । सहमति र समझदारी हुने बित्तिकै एकता हुन्छ’, गुरुङले भने । 

गत असार ४ गते माओवादीसहित एकीकृत समाजवादी, जसपा र नेकपासहितको चार दलीय समाजवादी मोर्चा समेत घोषणा भएको थियो । मोर्चामा आबद्ध केही दलले सो मोर्चा भविष्यमा एउटै पार्टी समेत बन्ने दाबी गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप