सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक शिक्षा

‘ब्रेन ड्रेन’को खतरा : एकै महिना बाहिरियो ११ अर्ब २१ करोड रुपैयाँ !

सोमबार, ०१ असोज २०८०, १९ : ४५
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । पछिल्लो समय वैदेशिक शिक्षाका नाममा देश छाड्ने युवाको संख्या तीव्र गतिमा बढ्दो छ । 

युरोप, अमेरिकासँगै विश्वका विकसित र राम्रा भनिएका मुलुकमा अवसरको खोजीमा युवाहरु बाहिरिने गरेका छन् । वैदेशिक शिक्षाका नाममा यी युवा देश छाडिरहेका छन् । दुःखको कुरा, अध्ययन सकेर स्वदेश फर्किनेभन्दा पनि उतै सेटल हुने (बौद्धिक पलायन) गरी जाने युवाको भिड बढ्दो छ ।

यसैको परिणामस्वरुप पछिल्लो एक महिना (साउन) मा मात्र शैक्षिक यात्राकै नाममा १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.७७ प्रतिशतको वृद्धि हो ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा शिक्षातर्फ यस्तो व्यय (खर्च) जम्मा ७ अर्ब १३ करोड रुपैयाँ हाराहारी थियो । यस वर्ष वैदेशिक शिक्षाका नाममा कुल १ खर्ब ४२ करोड ३० लाख रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७९/८० कुन महिनामा कति रकम बाहिरियो ?

·     साउन– ७ अर्ब १३ करोड

·     भदौ– ५ अर्ब ६३ करोड

·     असोज– ५ अर्ब १३ करोड

·     कात्तिक– ४ अर्ब ७२ करोड

·     मंसिर– ६ अर्ब २० करोड

·     पुस– ६ अर्ब ५५ करोड

·     माघ– ८ अर्ब ३८ करोड

·     फागुन– १० अर्ब ९६ करोड

·     चैत– १२ अर्ब ४९ करोड

·     वैशाख– ७ अर्ब ९५ करोड

·     जेठ– १४ अर्ब ४ करोड

·     असार– ११ अर्ब २४ करोड

तथ्याङ्क अनुसार गत माघ महिना यता शैक्षिक यात्रामा तीव्र वृद्धि आएको देखिन्छ । २०७९ पुसमा शैक्षिक यात्रामार्फत ६ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएकोमा माघमा यस्तो खर्च २७.९४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।

यस्तै, शैक्षिक खर्चको ग्राफ फागुनमा १० अर्ब ९६ करोड रुपैयाँ पुगेकोमा चैतमा १२ अर्ब ४९ करोड र सोही आर्थिक वर्षको वैशाखमा १४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

यसरी एकै वर्ष १ खर्ब ४२ करोड रुपैयाँ शिक्षाकै नाममा बाहिरिनुले उपयुक्त अवसरको खोजीमा बौद्धिक जनशक्ति (ब्रेन ड्रेन) बाहिरिरहेको प्रस्ट हुन्छ ।

सेवा आयमा ८३ अर्ब ८५ करोड घाटा

शैक्षिकसँगै व्यावसायिक तथा अन्य भ्रमणले सेवातर्फको व्यापारमा मुलुकलाई ठूलो घाटा लाग्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा सेवा आयतर्फ कुल ६१ अर्ब ५२ करोड रुपैयाँ आर्जन हुँदै गर्दा सोही शीर्षकमा व्यय (खर्च) १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ भएको थियो । जसबाट एक वर्षमा मुलुकलाई सेवातर्फ ८३ अर्ब ८५ करोडमाथि घाटा लाग्न पुगेको छ ।

साथै, चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा यस्तो सेवा घाटा थप ११ अर्ब २७ करोडले बढेको केन्द्रीय बैंकले जनाएको छ । साउन मसान्तसम्म भ्रमण शीर्षकमा जम्मा ४ अर्ब ३९ करोड रुपैयाँ आर्जन हुँदै गर्दा व्यय (खर्च) तर्फ १७ अर्ब २१ करोड रुपैयाँ बाहिरिन पुगेको हो ।

जसमध्ये शिक्षातर्फको खर्चको हिस्सा ६२.४६ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप