शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

प्रदेशको राजधानी नजिकै रहेर पनि दुर्गम बनेको तरङ्गा

०७८ को दसैँमा बिजुली बाल्ने लक्ष्य थियो तर अहिलेसम्म तारसमेत तानिएन
मङ्गलबार, ०२ असोज २०८०, १० : १५
मङ्गलबार, ०२ असोज २०८०

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरसँगै सिमाना जोडिएको गाउँपालिका हो बराहताल । प्रदेश राजधानीकै नजिकको पालिका भए पनि यहाँका कतिपय बस्ती अझै अन्धकारमय छन् ।

०७८ सालमै गाउँमा बिजुली बाल्ने लक्ष्य राखिए पनि गाउँपालिकाको वडा नम्बर ४, तरङ्गाका माथिल्लो तरङ्गा, तल्लो तरङ्गा, साझघाट, सिम्लेपानी, कुटा लगायतका बस्ती अझै अन्धकारमा छन् । यहाँका नागरिकले वैकल्पिक रूपमा सोलारको माध्यमबाट गुजारा गरिरहेका छन् ।

करिब ७०० घरधुरी रहेको तरङ्गाका यी बस्तीको बिचमा भेरी नदी छ । नदीको दुवैतर्फ बस्ती छन् । ती बस्ती अझै पनि यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्को सहज पहुँचमा छैनन् । खाद्यान्नमा समेत पूर्ण रूपमा वीरेन्द्रनगर बजारसँग निर्भर छन् यहाँका नागरिक ।

वीरेन्द्रनगरदेखि झण्डै ३७ किलोमिटर टाढा छ तरङ्गा । गाउँपालिकाको कार्यालयबाट पनि सोही दुरीमा टाढा रहेका यहाँका बस्ती राजधानी नजिक भएर पनि दुर्गम हुनुको पीडा भोगिरहेका छन् । यहाँका नागरिकले अझै पनि राज्यका अधिकांश सेवा–सुविधाको उपभोग गर्न पाइरहेका छैनन् ।

taranga (7)

०६४ सालमा कच्ची सडक पुगे पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्दा बर्खाको समयमा गाडी जानै मुस्किल हुन्छ । ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता यहाँका नागरिकलाई छ ।

‘अग्लो डाँडाबाट भिरको ओरालो बाटोमा पहिलो पटक यात्रा गर्दा मुटु नै काँप्छ,’ स्थानीय गगन मगर भन्छन् । दैनिक एउटा मात्र बस सञ्चालन हुन्छ, जसले खाद्यान्नदेखि मान्छे बोकेर जोखिमपूर्ण यात्रा गर्छ ।

बर्खामा सडक बिग्रिएर गाडी नचल्दा नाकाबन्दीको अवस्थामा पुग्छन् यहाँका नागरिक । भेरी पारीका नागरिक भने गाडी चढ्न भेरी वारी आउनुपर्छ । यहाँका नागरिकले न स्वच्छ खानेपानी पाएका छन्, न वारिपारिको फाँटहरूमा खाद्यान्न उत्पादन नै हुन्छ । फाँटहरू सुक्खा छन् । नागरिकहरू भेरीको धमिलो खानेपानी पिउन बाध्य छन् । नदीको पानी उपयोग हुन सकिरहेको छैन । सिँचाइ नहुँदा फाँटहरूमा जति दुःख गरे पनि उब्जनी हुँदैन ।

‘घरमा चामल सकिएपछि वीरेन्द्रनगर पुग्नुपर्छ,’ स्थानीय वसन्ती घर्ती भन्छिन्, ‘बर्खामा बस नआउँदा भोकमरी झेल्नुपर्ने हुन्छ । जेठमै तीन महिनाका लागि चाहिने खाद्यान्न ल्याएर राख्छौँ ।’

taranga (3)

चालु आर्थिक वर्षदेखि हुड्के, ब्युरेनी, साझघाट, चेपाङ जामु सडकको काम अघि बढ्ने गरी बजेट विनियोजन गरिएको छ । बजेट कर्णाली प्रदेश सरकारले व्यवस्थापन गरेको हो । असार २० मा खड्का कृष्ण÷श्याम शंकर जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ । ६१ करोड ५९ लाख ३० हजार बजेट रहेको सडक निर्माणको काम ०८३ साल असार १५ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

यहाँका नागरिक सञ्चारको सहज पहुँचमा छैनन् । कुम्भीकोट डाँडाबाट ओरालो झर्ने थालेपछि सञ्चारको पहुँचमा जोडिन कठिन हुन्छ । स्वास्थ्य र शिक्षाको समस्या पनि उस्तै छ । गणतन्त्रपछि यहाँका नागरिकले पाएको भनेको नदी बीचमा झोलुङ्गे पुल हो । नदी पारी रहेका बस्तीमा सडक पुग्ने कुरै भएन । वीरेन्द्रनगर विकासको अग्रपथमा लम्किरहँदा नजिकैको तरङ्गाका बस्ती भने अझै दुर्गम अवस्थामै छन् ।

taranga (5)

‘दसैँमा बिजुली बल्छ भन्थे, तीन दसैँ बित्न थाले पनि बत्ती बलेन’

०७८ वैशाखमा यहाँ विद्युत्का पोल ठड्याइएको थियो । त्यो बेला यस क्षेत्रका राजनीतिक दलका नेताहरूले दसैँमा झिलिमिली बनाइछाड्ने आश्वासन दिएका थिए । अहिलेसम्म दुई वटा दसैँ बितेर पनि तेस्रो दसैँ नजिक आइसक्यो तर, गाउँमा बिजुली पुग्ने छाँडकाँट देखिन्न ।

साझघाटका दुर्गाबहादुर घर्ती गाउँमा बिजुली बत्ती आउने भएपछि निकै हर्षित थिए । उतिबेला गाडिएका पोलसमेत ढल्न थालेपछि उनी निराश छन् । भन्छन्, ‘त्यो बेला (०७८) दसैँमा बिजुलीले झिलिमिली हुन्छ भन्थे, पोल त हराउन थाले, बत्ती कहिले आउला ?’

taranga (1)

वीरेन्द्रनगरदेखि कर्णाली राजमार्गको हुड्के, कुम्भीकोट डाँडा हुँदै ओरालो झरेर भेरी नदी पुर्‍याउने र नदी वारीपारीका बस्तीलाई विद्युतीकरणमा जोड्ने लक्ष्य थियो । ०७८ दसैँसम्म विद्युत् लाइन विस्तार गरिसक्ने भनिए पनि ठेकेदार कम्पनी, प्राधिकरण र यस क्षेत्रका नेताहरूको बेवास्ताका कारण विद्युत् पुग्न नसकेको स्थानीयको भनाइ छ ।

माथिल्लो तरङ्गाका टीकाराम मल्ल भन्छन्, ‘कर्णालीका दुर्गम बस्तीहरूमा समेत विद्युत् पुगिसक्यो, हामी त राजधानीसँगै जोडिएको पालिकाका नागरिकले ५० को दशककै जीवन जिउनुपर्ने बाध्यता भयो । गाडेका पोलहरू ढलेर खिया लाग्न थालिसके अहिलेसम्म तारसमेत तानिएको छैन ।’

०७९ मा स्थानीय तहका उम्मेदवारहरूले दसैँमै विद्युत् सेवा सुरु गर्ने ठोकुवा नगरेका होइनन् । मङ्सिरमा भएको प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेन्डामा विद्युत् र सडक नै थियो । अहिलेकै अवस्था हेर्दा यहाँका नागरिकले बिजुली बाल्न अझै कति वर्ष कुर्न पर्ने हो, यसै भन्न सकिन्न ।

यस वडाका वडाध्यक्ष बिर्ख सिजापति ठेकेदारको बदमासीका कारण ढिलाइ भएको बताउँछन् । ‘तरङ्गा आउने सिधा लाइन अनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो तर, बिचमा लाइन ८ नम्बरतिर मोडियो,’ उनले रातोपाटीसँग भने, ‘ठेकेदारसँग छलफल भइरहेको छ ।’

taranga (6)

ठेकेदार कम्पनीले भने जङ्गलको समस्याले लाइन विस्तार गर्न नसकेको बताएको छ । कुम्भीकोटदेखि भेरी नदी किनारसम्म जङ्गल छ । उक्त जङ्गलमा केही रुख कटान गर्नुपर्ने छ भने केहीका हाँगा कटान गर्नुपर्ने छ । ठेकेदार र आफूहरुबीच बर्खा सकिएपछि लाइन विस्तार गर्ने सहमति भएको सिजापति बताउँछन् । तर, यो पटक विद्युत् विस्तारको लागि भने बजेट विनियोजन गरिएको छैन ।

विद्युत् प्राधिकरण सुर्खेतका अनुसार केही व्यक्तिले जङ्गलको विषयलाई लिएर मुद्दा दायर गरेपछि काम अगाडि बढ्न सकिरहेको छैन । दुईतर्फका स्थानीयबिच नै कुरा नमिल्दा यस्तो भएको प्राधिकरणका प्रमुख युवराज रावत बताउँछन् । अहिलेसम्म पनि काम गर्ने वातावरण नमिलेको उनको भनाइ छ ।

तर, काम सुरु गरेको खण्डमा समस्या नआउने स्थानीय जनप्रतिनिधि बताउँछन् । रावतले चालु आर्थिक वर्षमा कुनै बजेट नरहेको बताए । ‘यो पटक तार तान्ने भनेर सामान लगेर हुड्केमा राखिएको छ,’ उनले भने, ‘तर त्यस्तै त्यस्तै भएर बजेट राखिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप