बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
उत्तर पुस्तिकामा गायब गरेपछि खुलेको रहस्य !

छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

उत्तर पुस्तिका गायब बनाउन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयकै कर्मचारीसँग मिलेमतोको आशङ्का
बुधबार, ०३ असोज २०८०, १६ : ३८
बुधबार, ०३ असोज २०८०

विराटनगर । महेन्द्र मोरङ क्याम्पस मानविकी संकाय स्नातक तह प्रथम वर्षमा भर्ना भएकी विराटनगरकी सन्ध्या कायस्थले त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार २०७७ सालमै परीक्षा दिनुपर्ने थियो । तर कोरोना संक्रमणका कारण सो वर्षको परीक्षा स्थगित भयो । उक्त परीक्षा २०७८ साल मंसिरमा भयो ।

मेरिल्याण्ड कलेजबाट प्सल–टु गरेकी उनी ३.६ जीपीए ल्याएर क्याम्पस भर्ना भएकी थिइन् । उनले एसइइमा पनि ३.६५ नम्बर ल्याएकी थिइन् । पढाइका हिसावले अब्बल उनलाई स्नातकको पहिलो वर्षको परीक्षा दिँदा पनि कुनै गाह्रो थिएन । परीक्षाको रिजल्ट १५ महिनापछि अर्थात् २०८० वैशाखमा आयो । तर, उनको उत्तरपुस्तिका नै गायब पारिएको कारण उनी फेल भइन् ।

ऐच्छिक अंग्रेजी विषयको परीक्षा दिइरहेकै बेला उनलाई परीक्षा गार्ड बसेका प्राध्यापक राजन दत्तको भूमिका शंकास्पद लागेको थियो । दत्तले सन्ध्याको उत्तरपुस्तिकाबारे तीन पटक सोधखोज गरे । सन्ध्यालाई नाम सोधे । उत्तरपुस्तिका ओल्टाइपल्टाइ गरे । आफैँले प्रमाणित गरे । सन्ध्यालाई थाहा थियो उक्त परीक्षा हलमा दत्तकी छोरी आस्था हमाल पनि सोही विषयको परीक्षा दिइरहेकी थिइन् । ‘टोटलमा मेरो ७० प्रतिशत नम्बर आएको छ । तर, मेजर अंग्रेजीमा फेल आयो । मलाई पहिले नै डाउट थियो । किनभने त्यो सरले परीक्षा दिइरहेको बेला पटक–पटक मेरो पेपर पल्टाएर हेर्नुभएको थियो । अनि मेरो नाम पनि सोध्नुभएको थियो,’ सन्ध्याले सुनाइन् ।

दोस्रो वर्षको परीक्षामा सन्ध्याले ७० प्रतिशत नम्बर ल्याएकी छन् । पहिलो वर्षको परीक्षामा पनि ६९.९ प्रतिशत नम्बर ल्याएकी छन् । तर, ७० पूर्णाङ्कको अंग्रेजी विषयमा उनले उत्तीर्ण हुन न्यूनतम २८ नम्बर ल्याउनु पर्ने थियो तर २१ नम्बर आयो । ‘क्याम्पस प्रमुख बाबुराम तिम्सिना सरले १४ नम्बर बराबरको मेरो उत्तरपुस्तिका उसकोमा एट्याच भएको भनेर मलाई पनि भन्नु भएको छ । आस्था हमालको उक्त विषयमा २८ आएको छ । ऊ पनि जस्ट पास छ । मेरो जम्मा नम्बर २१ नम्बरमात्रै आएको छ । १४ नम्बरको उसकोमा एट्याच नगरिएको भए मेरो ३५ नम्बर आउँथ्यो । यो विषयमा बाबुराम सरले मलाई पनि पटकपटक भन्नुभएको छ,’ सन्ध्या भन्छिन् ।

रिजल्ट फेल देखाएपछि सन्ध्याले परीक्षा नियन्त्रक कार्यालयमा रि–टोटलिङका लागि निवेदन दिइन् । ‘मिति २०७९ चैत २६ गते त्रिवि नियमानुसार दस्तुर तिरी ब्लकमा गई उत्तरपुस्तिका हेर्दा थप लिएको उत्तरपुस्तिका नरहेको एवम् उत्तरपुस्तिकाको माथिल्लोपट्टी थप पेपरको रेकर्डसमेत च्यातेर फालेको फेला परेकोले निज शिक्षकको छोरी आस्था हमाल सि.नं.६०००३०००९ सँग मेरो सि.नं. ६०००३००८२ क्रस चेक गरी मैले थप लिएको उत्तरपुस्तिका निजको उत्तरपुस्तिकामा समावेश गरेको मलाई आशङ्का रहेको छ,’ उनले परीक्षा नियन्त्रकलाई दिएको निवेदनमा उल्लेख छ ।

त्यसबेला क्याम्पसका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईँले पनि परीक्षा नियन्त्रणको कार्यालय गएर उत्तरपुस्तिका चेक गर्छु भनेर जवाफ दिएका थिए । ‘तर, सरले पेपेर चेक गर्नु भएनछ । गर्नुभएको भए मेरो रि–टोटलिङ भएर आउँथ्यो नि त ? त्यही भएर रि–टोटलिङमा पहिलेकै जस्तो आयो । थप गरेको पेपरमा सिम्बल नम्बर थियो । पेपर नै मिसिङ छ,’ कायस्थले भनिन्, ‘पहिलो पेजको मार्जिनभन्दा माथि उत्तरपुस्तिका थप गरेको प्लस वान, प्लस वान लेख्छौँ । त्यो पनि च्यातेर हटाइदिएको छ । लेख्दा अर्को पेपरमा छाप बस्छ नि, त्यो चाहिँ छ । त्यतिखेर स्टिच पनि थिएन । थ्रेटले मात्रै बाइण्ड गर्थ्यो । त्यसो भएकाले पिन निकालेको हो कि भन्ने पनि थाहा भएन । त्यो सजिलै निकाल्न मिल्छ ।’

उनले रि–टोटलिङमा उस्तै नम्बर आएपछि रि–चेक गर्न निवेदन दिइन् । ‘मैले काठमाडौँ गएर मेरो पेपर हेरेको हुँ । त्यतिखेरै पेपर सबै हेर्दा मिसिङ थियो । त्यतिखेरै मैले डिमाण्ड गरेँ, आस्थाको पेपर देखाउनु भनेँ तर, उनीहरुले देखाउन मानेनन् । मलाई प्रस्ट थाहा थियो, त्यहाँ एट्याच भएको छ भन्ने,’ उनले भनिन् ।

त्यतिबेला कन्ट्रोलर पुष्पराज जोशीले २०८० वैशाख ४ गते विराटनगर आएर ‘तिम्रो रिजल्ट पोजेटिभ हुन्छ, ढुक्क भएर जाउ’ भनेर सन्ध्यालाई पठाएका थिए । त्यसपछि उनी आएनन् । १४ गते वैशाखतिर आएका जोशीले सन्ध्याको दुई वटा विषयको पेपर र आस्था हमालको एउटा पेपर लिएर आएका थिए । ‘सुरुमा रिजल्ट पोजेटिभ आउँछ भन्नुभएको थियो । तर, आएर पुनः परीक्षा दिनुपर्छ भन्नुभयो । पेपर काहीँ भेटिएन । परीक्षा दिएपछि रेगुलर मार्कसिटमै तिम्रो मार्क एड गर्दिन्छु, स्टार लाग्दैन । दुई÷तीन दिनमै रिजल्ट दिन्छौँ भनेर कन्भिन्स गर्नुभयो । त्यसबेला प्रिन्सिपल बाबुराम तिम्सिलाले पनि त्यो कुराको जिम्मा लिनुभयो । धेरै कुरा गरेर मलाई कन्भिन्स गर्नुभयो,’ सन्ध्याले सुनाइन् ।

त्यसपछि सुरु भयो अर्को खेल । सन्ध्यालाई क्याम्पस प्रमुख तिम्सिनासहित कन्ट्रोलर जोशीले १९ गते एक्लै त्यही विषयमा, त्यही सिम्बल नम्बरमा परीक्षा दिन लगाए । परीक्षामा रिजल्ट उत्तीर्ण नआएको खण्डमा त्यही सिम्बल नम्बरमा एउटामात्रै विषयको छुट्टै एक जनाले अफिसमा परीक्षा दिन त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परीक्षाको किसिम र ततसम्बन्धी अन्य व्यवस्थाले बन्देज गराएको छ । ‘विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले एक पटक परीक्षा फारम भरिसकेपछि त्यही तहको त्यही वर्षको पुनः परीक्षा फाराम भरी परीक्षा दिएको पाइएमा त्यसरी पछि भरेको परीक्षा फारमको आधारमा दिएको परीक्षा रद्द गरिनेछ,’ उक्त व्यवस्थामा उल्लेख छ ।

तर, सन्ध्यालाई परीक्षा दिन लगाइयो र भनियो दुई÷तीन दिनमा रिजल्ट पास आउँछ । उनको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन । ‘सरहरुले भनेकै आधारमा मैले परीक्षा पनि दिएँ । तर, दुई÷तीन दिनमा रिजल्ट आउँछ भने पनि वैशाख १९ गते दिएको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन । अनि फोन गर्दा पनि कन्ट्रोलर सरले कल नै रिसिभ गर्नुहुन्न । यहाँ सरलाई सोध्दा आज–भोलि भन्नुहुन्छ,’ उनले गुनासो गरिन्, ‘पेपर हेर्नका लागि प्रतिलिपीको पैसा पनि जम्मा गरेको छु । त्यति गर्दा पनि देखाइएन । पछिल्लो पटक पेपर देखाउँदा आस्थाको उत्तर पुस्तिकामा पनि थिएन । तर, बाबुराम तिम्सिना सरले १४ नम्बर बराबरको मेरो उत्तरपुस्तिका उसकोमा एट्याच भएको भन्नुभएको छ ।’

उनले आफ्नो मार्कसिटमा स्टार लागेको हुन नहुने बताउँछिन् । ‘मलाई स्टार लागेको मार्कसिट हुनुभएन । म माथि अन्याय भयो । कोहीलाई कारबाही होस् या नहोस्, मतलब छैन । तर, मेरो रिजल्ट सही आउनु प¥यो,’ उनी भन्छिन् ।

उनका बुबा गौरिशंकर कर्णले दोषीलाई सख्त्त कारबाही हुनुपर्ने माग गरे । ‘मेरो छोरीको मात्रै होइन, धेरै ट्यालेन्ट विद्यार्थीहरुको कापी चेन्ज भएको हुनुपर्छ । मेरो छोरीलाई पो म फेल हुनै सक्दिन भनेर लागेको कारण यो रहस्य बाहिर आएको हो । अभिभावकको तर्फबाट हामीले पनि अर्को पटक पास गरिहाल्छेस्, छोडिदे भनेको भए बाहिर आउँदैन थियो । तर, हामीले निवेदन हालेपछि परीक्षा नियन्त्रण कार्यालयमा दिएको निवेदनको पनि कुनै सुनुवाइ भएन,’ उनले भने ।

अन्तिममा आफ्नी छोरीलाई गुमराहमा राखेर अर्को परीक्षा दिन लगाइएको कर्णले बताए । उनले भने, ‘बाबुराम तिम्सिनाले मेरै अगाडि मेरो छोरीको रिजल्टको जिम्मा लिन्छु भनेर भनेका थिए । जबर्जस्ती परीक्षा दिन लगाएको हो । अहिलेसम्म पीडितले न्याय पाउन सकेको छैन । चारैतिर भौतारिनु परेको छ ।’

पेपर चोरी गर्ने प्राध्यापक खुलेआम हिँडिरहेको उनको आरोप छ । ‘उसको छोरीले पनि पास गरेको रिजल्ट आइसक्यो । यहाँ ठूलो पैसाको चलखेल भएको आशङ्का छ । आफैँ गार्ड बसेर, आफैँले उत्तरपुस्तिकामा हस्ताक्षर गरेको छ । टियुको नियम अनुसार छोरीको परीक्षा लिइरहेको ठाउँमा त्यो टिचर छिर्नै पाउँदैन । ऊ चाहिँ गार्ड नै भएर कसरी बस्यो ? सबै उत्तरपुस्तिकामा उसैले हस्ताक्षर गरेको छ । त्यो विषय सार्वजनिक भइसक्दा पनि टियुले कुनै कारबाही गरेको छैन । यहाँ विश्वविद्यालयका सबै मान्छेहरु उसलाई बचाउन लागिरहेका छन्,’ उनले भने ।

क्याम्पसका प्रमुख बाबुराम तिम्सिना भने उत्तरपुस्तिका नभेटिएको सत्य भए पनि चोरी गरेको पुष्टि नहुने बताउँछन् । ‘यो पुष्टि हुँदैन । आरोप हो । यो अनुसन्धानको क्षेत्रमा छ । अख्तियारमा पनि निवेदन गइसकेको छ । उनले पुनः परीक्षा दिएको होइन,’ तिम्सिनाले भने, ‘व्याकपेपर दिएको हो । व्याकपेपरको रिजल्ट टियुको नियमानुसार आउँछ ।’

तिम्सिनाले पनि छोरीले परीक्षा दिइरहेको ठाउँमा बुबा गार्ड बस्न नमिल्ने बताए । ‘बस्न मिल्दैन भन्ने लेखेको त छैन, तर, उहाँ बस्न हुँदैन थियो । हामीलाई पनि उहाँको छोरी हो भन्ने थाहा थिएन । यसले शंका गर्ने ठाउँ दियो । उहाँ आफैँले जान्ने विषय हो,’ तिम्सिनाले भने ।

विद्यार्थीहरु भने क्याम्पस प्रमुखसहित परीक्षा नियन्त्रण कार्यालयको मिलेमतोमा उत्तरपुस्तिका अर्कैमा गायब गरिएको भन्दै आन्दोलित भएका छन् । विवाद बढ्दै जाँदा मंगलबार साँझ डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिएर विद्यार्थीले क्याम्पस प्रमुख तिम्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई कार्यालयमै थुनेका थिए । छलफल निस्कर्षबिहीन भएपछि थुनिएका तिम्सिना र प्रसाईलाई भने प्रहरीले उद्धार गरेको थियो ।

त्यसपछि बुधबार बिहान विद्यार्थीले प्रहरी कार्यालय घेराउ गरेका थिए । उज्यालो नहुँदै प्रहरी कार्यालय घेराउ गर्न विद्यार्थी पुगेपछि प्रहरीले लखेटेको थियो । त्यही बिचमा बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा.१७ च. ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडी जलाइएको छ ।

विद्यार्थी नेता अभिमन्यु यादवले त्यही सिम्बल नम्बरमा विद्यार्थीले दोस्रो परीक्षा दिनै नपाउने बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयको नियमले नै त्यो पाइँदैन । ब्याक पेपरको मात्रै परीक्षा लिने हो । तर, क्याम्पसमा छुट्टै राखेर परीक्षा लिएको छ । सिम्बल नम्बर पहिलेकै छ,’ उनले भने, ‘विद्यार्थीले अदालत जान्छु भनेपछि थामथुम पार्न परीक्षा लिएजस्तो मात्रै देखिएको छ । यो गैरकानुनी छ ।’

Nibedan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप