सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संविधान दिवसका दिन शीतलनिवासमा भीआईपीको जमघट (फोटोफिचर)
संविधान दिवस

संविधान दिवसका दिन शीतलनिवासमा भीआईपीको जमघट (फोटोफिचर)

शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठाले जित्नुपर्छ : राष्ट्रपति
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । संविधान दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा भीआईभीहरुको जमघट भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनासहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले  शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे । ‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन्’, उनले भने, ‘तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नु पर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ ।’

राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको बताए ।  ‘राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ’, उनले भने, ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ ।’ 

राष्ट्रपति पौडेललेसबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गर्न सकिएको बताए ।  उनले व्यवस्था परिवर्तन भएपनि देश, समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेको बताए ।  त्यसका लागि राज्यको चरित्रको पुनः संरचना हुन अझै बाँकी रहेको उनको भनाइ थियो । 

उनले नेपाली जनताको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया