शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनोनीतपछिको कांग्रेस केन्द्रीय समिति

केन्द्रीय समितिमा देउवा थप शक्तिशाली, शेखर–गगन समूह खुम्चियो

मनोनीत सदस्यको योग्यतामाथि प्रश्न, कार्यसमिति बढाउने देउवाको संकेत
बिहीबार, ०४ असोज २०८०, १७ : ५१
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले करिब पूर्णता पाएको छ । २०७९ मंसिर–पुसमा सम्पन्न १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र ११९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिका मुख्य प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था हुँदा महाधिवेशनबाट १३३ जनाको कार्यसमिति आएको थियो ।

सभापति देउवाका मुख्य प्रतिस्पर्धी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका थिए । १६८ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था छ । सोही अनुसार देउवाले ३१ जना सदस्य मनोनीत गरिसकेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब दुई जना मात्र केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

सभापति देउवाले अहिलेसम्म सभापतिमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन् । यस्तै पदाधिकारीमा पराजित विजय गच्छदार, प्रकाश शरण महत, सुजता कोइराला, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवनबहादुर शाही, मानबहादुर विक पनि केन्द्रीय सदस्यमा मनोनीत भइसकेका छन् ।

नेता कृष्णप्रसाद सिटौला, उमा रेग्मी, डा. नारायण खड्का, मीनबहादुर विश्वकर्मा, कल्याण गुरुङ, राधा घले, सीता देवकोटा, गंगा शाही, लक्ष्मी खतिवडा, गोमा भट्टराई, किरण यादव र रुक्मिणी कोइराला केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

यस्तै धना खतिवडा, उर्मिला थपलिया, कल्याणी रिजाल, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा मनोनीत केन्द्रीय सदस्य बनेका छन् ।

शेखर–गगन समूह थप खुम्चियो

देउवाले शेखर कोइराला र गगन थापा समूहबाट एक जना आमन्तितसहित पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । जसमा चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, किरण यादव, रुक्मिणी कोइराला र आमन्त्रित केन्द्रीय सदस्यमा निरु रायमाझी रहेका छन् ।

सिटौलाको सिफारिसमा प्रदीप पौडेल, धना खतिवडा र शिवप्रसाद हुमागाईँ केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यस्तै प्रकाशमान सिंहको सिफारिसमा सुजाता कोइराला र कल्याणी रिजाल केन्द्रीय सदस्य बन्दा शशांक कोइरालाको कोटामा उर्मिला थपलिया केन्द्रीय सदस्य बनिन् ।

बाँकी सबै २१ जना संस्थानपन निकटले केन्द्रीय समितिमा मौका पाएका छन् । देउवाले आफ्नो टिमबाट केन्द्रीय पदाधिकारी र प्रदेश सभापतिमा पराजित सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाले क्षेत्रीय सभापति र केन्द्रीय सदस्यमा हारेहरुलाई पनि कार्यसमितिमा समेटिएका छन् । तर, गुटविहीन बनेर १४ औँ महाधिवेशनमा उपसभापति लडेका कांग्रेसका प्रभावशाली नेता महेश आचार्य भने कार्यसमितिमा छुटेका छन् ।

महाधिवेशनबाट केन्द्रीय समितिमा देउवाको ८० प्रतिशतभन्दा बढी हिस्सा थियो । नेता प्रकाशमान, शशांक र सिटौलाले छुट्टै गुटको अभ्यास गरे पनि उनीहरुको कार्यगत एकता पछिल्लो समय देउवासँग देखिन्छ ।

मनोनीत केन्द्रीय सदस्यको सूची हेर्दा पार्टीभित्रको विपक्षी खेमा मानिएको शेखर–गगन समूहको उपस्थिति थप खुम्चिएको छ । केन्द्रीय कार्यसमितिमा शेखर–गगन समूह १३ प्रतिशत हाराहारीमा सीमित भएको देखिन्छ । 

 शेखर–गगन समूहबाट महाधिवेशनबाट १४ (शेखरसहित), मनोनित ४ र पदाधिकारी ४ जना गरी २२ जना कार्यसमितिमा छन् । बाँकी १४४ जना संस्थापन पक्षसँग निकट देखिन्छन् ।

देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिबाट सदस्य थपेर समेट्ने बताएका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरूमै सभापति देउवाले ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिँदै अझै धेरै नेताहरू छुटेको बताएका थिए ।

छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने देउवाको आश्वासन थियो । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ । छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमितिबाट ठाउँ बढाएर ल्याउनुपर्ने अवस्था छ,’ देउवाले भने । कांग्रेसले मंसिर १३, १४ र १५ महासमिति बैठक बोलाएको छ ।

कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्न सकिने व्यवस्था छ । महासमिति बैठकबाट सभापति देउवाले १६८ सदस्यीय कार्यसमितिलाई बढाउने संकेत गरेका छन् ।

मनोनीत सदस्यको योग्यतामाथि प्रश्न

कांग्रेस केन्द्रीय समितिको बैठकमा मनोनीत केन्द्रीय सदस्यको योग्यता र आधारमाथि प्रश्न उठेको छ । गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापति देउवासँग केन्द्रीय सदस्यहरू मनोनीतको योग्यता र आधार खोजेका थिए ।

गण्डकी प्रदेश सभापतिमा शर्मासँग पराजित अर्जुनप्रसाद जोशीलाई देउवाले आजै केन्द्रीय समितिमा मनोनीत गरेका थिए । ‘आज पनि तपाईंले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के हो ?,’ देउवालाई शर्माको प्रश्न छ, ‘केन्द्रीय सदस्य हुन के’के काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ ? मापदण्ड हुनुपर्दैन ।’

विचार पुर्‍याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवालाई शर्माले ध्यानाकर्षण गराए । जथाभाबी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने उनको भनाइ थियो । मंगलबार शेखर–गगन समूहको बैठक बसेर केन्द्रीय सदस्य मनोनीत गर्दा मनोमानी भएको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप