मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मनोनीतपछिको कांग्रेस केन्द्रीय समिति

केन्द्रीय समितिमा देउवा थप शक्तिशाली, शेखर–गगन समूह खुम्चियो

मनोनीत सदस्यको योग्यतामाथि प्रश्न, कार्यसमिति बढाउने देउवाको संकेत
बिहीबार, ०४ असोज २०८०, १७ : ५१
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले करिब पूर्णता पाएको छ । २०७९ मंसिर–पुसमा सम्पन्न १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र ११९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिका मुख्य प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था हुँदा महाधिवेशनबाट १३३ जनाको कार्यसमिति आएको थियो ।

सभापति देउवाका मुख्य प्रतिस्पर्धी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका थिए । १६८ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था छ । सोही अनुसार देउवाले ३१ जना सदस्य मनोनीत गरिसकेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब दुई जना मात्र केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

सभापति देउवाले अहिलेसम्म सभापतिमा पराजित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन् । यस्तै पदाधिकारीमा पराजित विजय गच्छदार, प्रकाश शरण महत, सुजता कोइराला, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवनबहादुर शाही, मानबहादुर विक पनि केन्द्रीय सदस्यमा मनोनीत भइसकेका छन् ।

नेता कृष्णप्रसाद सिटौला, उमा रेग्मी, डा. नारायण खड्का, मीनबहादुर विश्वकर्मा, कल्याण गुरुङ, राधा घले, सीता देवकोटा, गंगा शाही, लक्ष्मी खतिवडा, गोमा भट्टराई, किरण यादव र रुक्मिणी कोइराला केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

यस्तै धना खतिवडा, उर्मिला थपलिया, कल्याणी रिजाल, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा मनोनीत केन्द्रीय सदस्य बनेका छन् ।

शेखर–गगन समूह थप खुम्चियो

देउवाले शेखर कोइराला र गगन थापा समूहबाट एक जना आमन्तितसहित पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । जसमा चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, किरण यादव, रुक्मिणी कोइराला र आमन्त्रित केन्द्रीय सदस्यमा निरु रायमाझी रहेका छन् ।

सिटौलाको सिफारिसमा प्रदीप पौडेल, धना खतिवडा र शिवप्रसाद हुमागाईँ केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यस्तै प्रकाशमान सिंहको सिफारिसमा सुजाता कोइराला र कल्याणी रिजाल केन्द्रीय सदस्य बन्दा शशांक कोइरालाको कोटामा उर्मिला थपलिया केन्द्रीय सदस्य बनिन् ।

बाँकी सबै २१ जना संस्थानपन निकटले केन्द्रीय समितिमा मौका पाएका छन् । देउवाले आफ्नो टिमबाट केन्द्रीय पदाधिकारी र प्रदेश सभापतिमा पराजित सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाले क्षेत्रीय सभापति र केन्द्रीय सदस्यमा हारेहरुलाई पनि कार्यसमितिमा समेटिएका छन् । तर, गुटविहीन बनेर १४ औँ महाधिवेशनमा उपसभापति लडेका कांग्रेसका प्रभावशाली नेता महेश आचार्य भने कार्यसमितिमा छुटेका छन् ।

महाधिवेशनबाट केन्द्रीय समितिमा देउवाको ८० प्रतिशतभन्दा बढी हिस्सा थियो । नेता प्रकाशमान, शशांक र सिटौलाले छुट्टै गुटको अभ्यास गरे पनि उनीहरुको कार्यगत एकता पछिल्लो समय देउवासँग देखिन्छ ।

मनोनीत केन्द्रीय सदस्यको सूची हेर्दा पार्टीभित्रको विपक्षी खेमा मानिएको शेखर–गगन समूहको उपस्थिति थप खुम्चिएको छ । केन्द्रीय कार्यसमितिमा शेखर–गगन समूह १३ प्रतिशत हाराहारीमा सीमित भएको देखिन्छ । 

 शेखर–गगन समूहबाट महाधिवेशनबाट १४ (शेखरसहित), मनोनित ४ र पदाधिकारी ४ जना गरी २२ जना कार्यसमितिमा छन् । बाँकी १४४ जना संस्थापन पक्षसँग निकट देखिन्छन् ।

देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई महासमितिबाट सदस्य थपेर समेट्ने बताएका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरूमै सभापति देउवाले ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिँदै अझै धेरै नेताहरू छुटेको बताएका थिए ।

छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने देउवाको आश्वासन थियो । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ । छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमितिबाट ठाउँ बढाएर ल्याउनुपर्ने अवस्था छ,’ देउवाले भने । कांग्रेसले मंसिर १३, १४ र १५ महासमिति बैठक बोलाएको छ ।

कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्न सकिने व्यवस्था छ । महासमिति बैठकबाट सभापति देउवाले १६८ सदस्यीय कार्यसमितिलाई बढाउने संकेत गरेका छन् ।

मनोनीत सदस्यको योग्यतामाथि प्रश्न

कांग्रेस केन्द्रीय समितिको बैठकमा मनोनीत केन्द्रीय सदस्यको योग्यता र आधारमाथि प्रश्न उठेको छ । गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापति देउवासँग केन्द्रीय सदस्यहरू मनोनीतको योग्यता र आधार खोजेका थिए ।

गण्डकी प्रदेश सभापतिमा शर्मासँग पराजित अर्जुनप्रसाद जोशीलाई देउवाले आजै केन्द्रीय समितिमा मनोनीत गरेका थिए । ‘आज पनि तपाईंले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के हो ?,’ देउवालाई शर्माको प्रश्न छ, ‘केन्द्रीय सदस्य हुन के’के काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ ? मापदण्ड हुनुपर्दैन ।’

विचार पुर्‍याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवालाई शर्माले ध्यानाकर्षण गराए । जथाभाबी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने उनको भनाइ थियो । मंगलबार शेखर–गगन समूहको बैठक बसेर केन्द्रीय सदस्य मनोनीत गर्दा मनोमानी भएको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप