बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सल्यान घटना

जलाइएका आमा–छोरीको हत्या पुष्टि, कारण विवाहत्तेर सम्बन्ध

बिहीबार, ०४ असोज २०८०, १९ : १८
बिहीबार, ०४ असोज २०८०

सुर्खेत । सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा–छोरीको हत्या भएको पुष्टि भएको छ । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । 

३० भदौ बिहान त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो ।

ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको भनिएपनि अनुसन्धानबाट हत्या गरिएको पुष्टि भएको हो । हत्यामा संलग्न सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत पक्राउ परेका छन् । 

हत्याको कारण : विवाहपूर्वको प्रेम सम्बन्ध

कर्णबहादुरले हत्या गर्नुको प्रमुख कारण रेवतीको विवाह हुनुभन्दा पहिला उनीसँग प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी समक्ष कर्णले दिएको बयानअनुसार रेवतीसँग बस्नेतको करिब ७ वर्ष अगाडिदेखि चिनचान थियो । कुराकानी हुँदै जाँदा उनीहरु गहिरो प्रेम सम्बन्धमा परे । प्रेम सम्बन्धपछि उनीहरुबीच पटक–पटक शारीरिक सम्बन्धसमेत स्थापित भएको बस्नेतले बयान दिएका छन् । 

साथै, दुबैबीच विवाह गर्ने सम्मको कुरा भएको अभियुक्तले बताएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले बताए ।

उनका अनुसार शारीरिक सम्बन्धनको क्रममा दुबैको सहमतिमा अश्लील तस्वीर र भिडिओसमेत बनाइएको अनुसन्धानबाट खुलेको छ । 

घटना विवरणमा भनिएको छ,‘गहिरो सम्बन्ध चलिरहेकै बेला कर्णबहादुर रोजगारको सिलसिलामा सन् २०१८ मा दुबई गएका थिए । त्यहाँ रहेकै बेला रेवतीले त्रिवेणी गाउँपालिका–२ का शुकलाल थापासँग बिहे गरिन्।’ 

रेवतीको विवाह गरेको विषय कर्णबहादुरले ठुलो धोकाका रुपमा लिए । उसो त कर्णबहादुर पनि विवाहित नै थिए । विवाहित भएर पनि रेवतीसँग दोस्रो विवाह गर्ने सहमति भएको कर्णले बयान दिएका छन् ।

रेवतीको विवाहपछि पनि दुई वर्ष अगाडि कर्णसँग विभिन्न माध्यमबाट कुरा भइरहेको देखिन्छ । ‘उक्त फोटो भिडिओकै कारण रेवतीको पतिसँग समेत ठुलो झगडा भई सम्बन्धमा केही समय समस्या आएको देखिन्छ,’ डीएसपी कार्की भन्छन्,‘पछि सोही विषय बढ्दै जाँदा ८ महिना अगाडिबाट कर्णले दुबईमा नै रहेका बेला नेपाल फर्कनासाथ हत्या गर्ने योजना बनाएको देखिन्छ ।’ 

यसरी गरेका थिए हत्या 

२६ भदौमा दुबईबाट नेपाल आएलगत्तै काठमाडौँबाट खानीगाउँ घरमा आएर दुई दिन बसेका थिए उनी । २९ गते श्रीनगर बजारसम्म गाडीमा आएका उनले त्यहीँ नै पेट्रोल, सलाई किनेका थिए । 

डीएसपी कार्कीका अनुसार त्यही साँझ गाउँमा पुगेपनि सडक र जंगलमा टहलिँदै रातको १० बजेतिर मात्र रेवतीको घरमा पुगेका थिए । घरभित्र छिरेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएका थिए । त्यसपछि बीभत्स तवरबाट शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए । 

कर्णबहादुर घटना घटाएपछि नजिकैको कसैको घरमा बास बसेको र बिहान सबेरै आफ्नो घर सिद्धकुमाखतर्फ फर्किएको अनुसन्धानबाट खुलेको छ । रेवतीका श्रीमान् शुकबहादुर थापा भने रोजगारीका लागि भारतमा थिए । घटनापछि भने उनी घर फर्किएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप