बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पद्मश्री साहित्य पुरस्कार सुवेदी र साधना सम्मान वात्स्यायनलाई प्रदान गर्ने घोषणा

पद्मश्री गौरव पुरस्कार शर्मालाई
सोमबार, ०८ असोज २०८०, ११ : २५
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने निर्णय गरिएको छ । ‘खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान’ले सुवेदीको उपन्यास मनुलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री साधना सम्मान भने बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको जानकारी दिए । 

प्रतिष्ठानले विस २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । 

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको लामिछानेले बताए । 

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

प्रतिष्ठानले प्राप्त १८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरेको थियो । 

  यसैगरी पद्मश्री साधना सम्मान पाउने बरालले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएको प्रतिष्ठानको ठहर छ । 

यसैबीच गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको लामिछानेले बताए । 

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको राशि रु तीन लाख रहेको छ ।

तीन वटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप