सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा एमालेसहितको सरकार बनाउन गगनको राय

सोमबार, ०८ असोज २०८०, १८ : ५३
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसहितको सरकार बनाउन राय राखेका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले कोशीमा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राखेका हुन् । कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने उनको भनाइ थियो । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, महामन्त्री थापाले भने । 

कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुवै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । 

पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।

कार्कीले विश्वासको मत पाउन अवस्था नभएको भन्दै नेताहरुले नयाँ समीकरणका लागि राप्रपासँग निर्णायक संवाद गर्न सभापति देउवालाई आग्रह गरेका छन् । 

आइतबारको बैठकमा पनि कोशी प्रदेशमा पार्टीको नेतृत्वमा पुनः सरकार बनाउने गरी केन्द्रीय नेतृत्वले नयाँ समीकरणको पहल गर्नुपर्ने  आवाज उठेको थियो ।

केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने राय राखेका थिए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने । 

यस्तै, अर्को केन्द्रीय सदस्य आङगेलु शेर्पाले कोशी प्रदेशमा फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । कोशी प्रदेशमा कांग्रेसले यसअघि सरकार गठन गरेको कुरा गलत नभएको उनको भनाइ थियो । 

यस्तै, पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका थिए ।

कोशी प्रदेश सभापतिसमेत रहेका थापाले प्रदेशसभाको अंकगणितका कारण मात्र सरकार बन्न कठिन भएकाले राजनीतिक निर्णय आवश्यक परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप