बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
१९ औँ एसियाली खेलकुदमा नेपालको उपस्थिति

२८ करोड खर्च, उपलब्धि शून्य : पदाधिकारीहरुबीच सामाजिक सञ्जालमा हिलो छ्यापाछ्याप

शुक्रबार, १२ असोज २०८०, १३ : ३४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । चीनमा १९ औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको शुक्रबार सात दिन पुगेको छ । सातौँ दिनसम्म पनि नेपालले भने पदक तालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन ।

पदक त टाढाको कुरा, नेपाली खेलाडी पदकको छेउछाउसम्म पनि पुग्न सकेका छैनन् ।  पदकको आशा गरिएका बक्सिङ, तेक्वान्दोलगायतका अधिकांश खेलमा नेपाली खेलाडीहरु एकपछि अर्को गर्दै पराजित भएका छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले सबैभन्दा बढी पदक जितेको खेल पनि तेक्वान्दो र बक्सिङ नै हुन् ।  नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य तथा बक्सिङमा ६ वटा कांस्य पदक जितेको छ ।

तेक्वान्दो र बक्सिङपछि एसियाली खेलकुदमा नेपालले तेस्रो बढी पदक कराँते खेलमा जितेको छ । नेपालले कराँतेमा दुईवटा कांश्य पदक जितेको छ ।  १९ औँ खेलकुदमा कराँतेको स्पर्धा भने सुरु भएको छैन । तीन दिनसम्म चल्ने कराँतेको स्पर्धामा आगामी बिहीबार सुरु हुनेछ ।

एसियाली खेलकुदमा कराँतेको स्पर्धा सुरु हुनुअघि नै नेपालमा भने कराँतेको विषयलाई विवाद सुरु भएको छ ।  खासगरी नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र कराँतेका प्रशिक्षक दिपक श्रेष्ठबीचको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । विगत केही दिनयता समाजिक सञ्जालमा लामा र श्रेष्ठबीच गम्भरी आरोप—प्रत्यारोप सुरु भएको देख्न सकिन्छ । 

Capture1

लामा नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव पनि हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका श्रेष्ठ भने राखेपअन्तर्गतका कराँते प्रशिक्षक हुन् । 

श्रेष्ठ हाल एसियाली खेलकुदमा सहभागी हुन चीनको हाङ्झाउमा छन् । उनी उसु खेलको ब्यवस्थापकको रुपमा एसियाली खेलकुदमा सहभागी भएका हुन् । एसियाली खेलकुदमा सहभागी हुने पदाधिकारीहरुको सूचिमा श्रेष्ठको नाम उसु खेलको ब्यवस्थापकका रुपमा उल्लेख गरिएको छ । 

कराँते टोली भने अझै चीन पुगेको छैन । कराँते महासंघका अध्यक्ष लामाले सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठ कुन हैसियतमा एसियाली खेलकुदमा सहभागी भएको भन्दै प्रश्न गरेका छन् । जवाफमा श्रेष्ठले आफ्नो ‘एक्रिडिएसन कार्ड’ फेसबुकमा पोष्ट गरेका छन् । 

Capture2

श्रेष्ठले फेसबुकमा राखेको ‘एक्रिडिएसन कार्ड’ मा उनी कराँतेको अफिसियलका रुपमा चीन गएको देखिन्छ । त्यसको जवाफमा लामाले नेपाल कराँते महासंघले सिफारिस नै नगरेको ब्यक्तिलाई कराँतेको नाममा ‘एक्रिडिएसन कार्ड’ कसले उपलब्ध गरायो ? भनि प्रश्न गरेका छन् । 

जवाफमा श्रेष्ठले महासंघका अध्यक्ष लामाले नै भनेर कराँतेबाट आफ्नो सिफारिस भएको दाबी गरेका छन् । उनले लामाले भनेर नै आफ्नो नाम नेपाल कराँते महासंघका महासचिव दावा दाई (दावा गुरुङ) ले पठाएको दाबी पनि गरेका छन् । श्रेष्ठको दाबीलाई भने लामाले अस्वीकार गरेका छन् ।

‘दिपक श्रेष्ठसँग कराँतेको एक्रिडिएसन कार्ड देखियो तर, नेपाल कराँते महासंघलाई केही थाहा छैन !! हिजो धेरै मिडियामा उशुको मेनेजर भनेर खबर देखियो !! राखेप कर्माचारी नाममा जे गरे पनि छुट छ भन्ने मान्यतालाई खारेज गर्दछु !! यस विषयमा छलफल बहस जरुरी छ !! मन्त्री परिषद् र संसदसम्म पुर्‍याउने जिम्मा मेरो । कराँते सम्पूणर् टिम अहिले इन्डोनेसिया प्रशिक्षण गर्दैछन् । चाइना कोही पुगेको छैन !!,’ महासंघका अध्यक्ष लामाले भनेका छन् । 

asia-spport-nepali-team

लामाले १९ औँ एसियाली खेलकुदका लागि नेपाल कराँते महासंघले सिफारिस गरेको खेलाडी र पदाधिकारीहरुको सूचि पनि सार्वजनिक गरेका छन् । त्यो सूचिमा टिम ब्यवस्थापकको रुपमा निवास गोपाल बैद्य तथा प्रशिक्षकको रुपमा कुशल श्रेष्ठ, वीरकृष्ण शाही र छोरीमायाँ डंगोलको मात्र नाम रहेको छ । 

यसका अतिरिक्त आफूले आठजना खेलाडीको नाम महासंघको तर्फबाट सिफारिस गरेको दाबी लामाले गरेका छन् । ‘आठजना खेलाडीहरुको नाम पनि हस्ताक्षर गरेर पठाएको छु ! लामो लिस्टमा ६ जना कोच र ४८ जना खेलाडीहरुको नाम पठाएको थियो !! त्यसअर्थ नेपाल कराँते महासंघले अन्य कसैलाई सिफारिस गरेकोछैन !!,’ लामाले भनेका छन् । 

त्यसको जवाफमा प्रशिक्षक श्रेष्ठले आफ्नो ‘एक्रिडिएसन कार्ड’ नेपाल कराँते महासंघकै सिफारिसमा बनेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो कार्ड नेपाल कराँते महासंघको सिफारिसमा नै बनेको हो । धेरैलाई भ्रममा नपार्नु गुरु । हजुरलाई याद आयो होला तर, हान्जाउ जाने निणर्य चाहिँ राखेपको हो । ओस ।’

deepak1

प्रशिक्षक श्रेष्ठले कराँते महासंघका अध्यक्ष लामाको अभिब्यक्तिबाट आफूलाई अचम्म लागेको पनि बताएका छन् । ‘आदरणीय ब्यक्ति राखेप पूर्वसदस्यसचिव तथा नेपाल कराँते महासंघका वर्तमान अध्यक्ष युवराज लामा गुरुको फेसबुकमा मेरोबारे तथ्यहिन अभिब्यक्ति देखेर अचम्म लाग्यो । एसियाली खेलकुदमा कुन हैँसियतले म सहभागी भएको छु भन्ने यो कार्डले प्रस्ट पारेको हुनुपर्दछ । म कराँते खेलाडी र कर्मचारी प्रशिक्षक । राखेपको बोर्डले गरेको निणर्यलाई मैले नकार्न र मान्दिन भन्ने अधिकार मलाई छैन । कागले कान लग्योभन्दा आफ्नो कान छाम्ने कि कागको पछिपछि दौडने ? कस्तो बिडम्बना वहाँलाई के भन्नु अब,’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन् ।

त्यसको जवाफमा महासंघका अध्यक्ष लामाले श्रेष्ठलाई आफूलाई जे मन लाग्छ त्यही गर्न सुझाव दिएका छन् । लामाले भनेका छन्, ‘तिमी (दिपक श्रेष्ठ) राखेपको तर्फबाट गएको होला तर, नेपाल कराँतेको अफिसियल होइन । हामीलाई जानकारी छैन । तिम्रो आफ्नो इचछ गर !! मैले धेरै मिडियमा आएको विषय भएर सभार गरेको हो !!’

त्यसपछि राखेपका सदस्य अञ्जन धमला प्रशिक्षक श्रेष्ठको बचाउमा ओर्लिएका छन् । श्रेष्ठको फेसबुक ‘स्टाटस’ मा कमेन्ट गर्दै धमलाले भनेका छन्, ‘शुरुमा आफ्नो बिधामा अफिसियलको जिम्मेवारी पाउँदा पनि देशको लागि र नेतृत्वको निर्देशनलाई नकार्न नसकी आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नु भयको छ । त्यसको लागि खेलकुद परिषद आभारी छ ! बाँकी लेख्ने लेखाउनेहरु बिस्तारै ओइलाउँदै जानेछन !’

deepak2

राखेपका पूर्वसदस्यसचिव समेत रहेका लामाले धमलालाई पनि जवाफ फर्काएका छन् । उनल राखेप सदस्य धमलालाई भनेका छन्, ‘कुरा बुझियो तर, कति दिन ?....हाम्रो के हैंसियत छ ? कराँतेको ब्यक्ति एसियन गेममा पठाउने नेपाल कराँते महासंघलाई थाहा छैन । मनपरी जति गरे पनि हुन्छ ...!’

त्यसको जवाफमा धमलाले श्रेष्ठ राखेपअन्तर्गतको प्रशिक्षक भएकाले उनलाई काममा खटाउने अधिकार पनि राखेपसँगै सुरक्षित रहेको दाबी गरेका छन् । लामालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘युवराज लामा दाजु, मनपरी गर्न कसैले पनि पाउँदैन तर, परिषद्ले कर्मचारीलाई काममा लगाउनरखटाउन पाउँछ र गरेको पनि त्यै मात्र हो ।’

एकातिर एसियाली खेलकुदमा नेपाली खेलाडीले एउटा पनि पदक नजित्ने अनि, अर्कोतिर खेल पदाधिकारीहरु सामाजिक सञ्जालमा एकअर्कामाथि आरोप—प्रत्यारोप गर्दै बहसमा ओर्लने गरेपछि नेपाली खेलकुदप्रेमीले भने यसलाई रमाइलो रुपमा हेरेका छन् । खेलकुदसँग सम्बन्धित थुप्रै ब्यक्तिले जिम्मेबार खेल पदाधिकारीहरुलाई खेलाडीको मनोबल खस्कने गरी सामाजिक सञ्जालमा विवाद नगर्न सुझाव पनि दिएका छन् । 

नेपालले १९ औँ एसियाली खेलकुदमा दुई सय ५३ जना खेलाडी सहभागी गराएको छ । निकै ठूलो सँख्यामा खेल पदाधिकारीहरु पनि चीन पुगेका छन् । हरेक पटक विदेशमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा खेलाडीभन्दा बढी खेल पदाधिकारीहरु विदेश जाने परम्परा रहँदै आएको छ । चीनमा जारी एसियाली खेलकुद पनि त्यसको अपवाद बन्न सकेको छैन । 

१९औं एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २८ करोड रुपैयाँको हाराहारीमा रकम खर्च भएको छ । यसका अतिरिक्त जारी एसियाली खेलकुदमा सम्बन्धित खेलसँग कुनै सम्बन्ध नै नभएका ब्यक्तिलाई ब्यवस्थापक बनाएर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप