आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको आक्रामक अभिव्यक्ति : गठबन्धन देशको पिलो हो, जनताको पीडा हो

शुक्रबार, १२ असोज २०८०, १७ : ३०
शुक्रबार, १२ असोज २०८०

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सरकारमा सहभागी गठबन्धन दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । एमालेको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी दल काँग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताप्रति कडा टिप्पणी गरेका हुन् ।  

उनले आफ्नो नेतृत्वको सरकारले विगतमा दुनियालाई आश्चर्यचकित पार्ने गरी काम गरेको दाबी गर्दै त्यो देख्न नसकेर कम्युनिस्टको बर्को ओडेका प्रचण्ड–माधव नेपालहरूले छुरी हानेको आरोप लगाए । 

‘प्रचण्डजी तीन पटक प्रधानमन्त्री हुनुभयो । शेरबहादुर पाँच पटक प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री त बन्नुभयो तर, यो देशका लागि गर्नु भयो के ?,’ प्रश्न गर्दै उनले भने, ‘हाम्रो नेतृत्वको विकासले देश कायाकल्प हुने अवस्था थियो । तर, हाम्रा विरोधीहरुका सटरहरु बन्द हुने अवस्था आयो । तिनका राजनीतिक खुद्रा पसलहरू बन्द हुने अवस्था आयो । त्यसपछि सबै विरोधीहरू मिलेर आत्तिएर एमाले सरकार ढालियो ।’

उनले काँग्रेसको ६० सिट हुँदा आफ्नो पार्टीको १७४ सिट हुँदा दुनियाँ आतङ्कित भएको पनि दाबी गरे । ‘दुनियाँमा कम्युनिस्ट आन्दोलन पछि पर्दा हाम्रोमा दुई तिहाइको सरकार, संसद् बनाएर अत्यन्तै अतुलनीय ढंगको पार्टी बनाएर हामी आयौँ । दुनियाँ आतङ्कित भयो,’ उनले थपे, ‘अनि एमालेलाई कसरी पराजित गर्ने भन्ने षड्यन्त्रको जालो बुनियो । एमाले भित्रका बिकाऊ मालहरू, कम्युनिस्टको खोल ओढेर एमालेभित्र घुसेका तत्त्वहरू, कम्युनिस्ट विरोधीहरू छुरी बोकेकाहरू बाहिर निस्के अनि सिद्ध्याउने प्रपञ्च भयो । त्यो प्रचण्ड माधवहरूले गरे ।’

उनले आफूले पार्टी जोगाउन कोसिस गरे पनि सम्भव नभएको बताए । ‘उनीहरू कम्युनिस्ट आन्दोलन सिद्ध्याउन दृढ संकल्पित थिए । उनीहरुले हदैसम्म कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने, दक्षिणपन्थीहरूसँग मिलेर कम्युनिस्ट सरकार हटाइ पाउँ, दलाल पुँजीवादी सरकार बनाइ पाउँ भनेर अदालतमा मुद्दा हाले र नेकपा एमाले सरकारबाट हट्न बाध्य भयो,’ ओलीले भने, ‘अदालतले पार्टी फुटाएको होइन । पार्टी कम्युनिस्ट आन्दोलनभित्र आएका प्रचण्ड र माधव नेपालहरू जस्ताले फुटाएका हुन् ।’ 

ओलीले अहिले प्रचण्ड–माधव नेपालहरूले नेकपा ब्युँताउने हावादारी कुरा गरेर जनतालाई भ्रममा पारेको बताए । ‘तथाकथित कम्युनिस्ट एकताको कुरा गरेर हिँडेका छन् । दुई तिहाइको पार्टी फुटाएर काँग्रेसको पछि लुरुलुरु लागेर कम्युनिस्ट एकता हुन्छ ?’ उनको सोधाई थियो ।

उनले अगाडि भने, ‘माओवादी र एकीकृत समाजवादी पार्टी कार्यकर्ता नेकपा एमालेमा आइरहेका छन् । नेता कार्यकर्ताहरू भ्रममा पर्नुहुन्न । कम्युनिस्ट आन्दोलन एमालेको काँधमा छ । अरूतिर शिला खोज्न जाने होइन ।’

ओलीले अहिले देश अस्थिरतामा रहेको भन्दै चिन्ता व्यक्त गरे, ‘देश अत्यन्त अप्ठ्यारो अवस्थामा छ । निर्वाचन प्रणाली र राजनीतिक दलहरूका गतिविधि अस्थिरता निम्त्याउने खालको भयो । धेरै पार्टी उमार्ने, एउटाले अलिकति चुँडोस्, अर्काले अलिकति चुँडोस् कसैको बहुमत आउँदैन । धेरै पार्टी भएर अधिकारका कुरा बिक्लान् । तर सरकार चल्न सक्दैन । धेरै वटा पार्टी बनाएर सरकार बनाएपछि एउटा नीतिमा सरकार अगाडि बढ्नै सक्दैन ।’ 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन र भारत भ्रमणको उपलब्धि केही नभएको भन्दै व्यङ्ग्य गरे । ‘एउटा प्रधानमन्त्री विदेश भ्रमणमा जान्छ । राष्ट्रहितको विषयमा, सिमानाको विषयमा बोल्न सक्दैन भने त्यो भ्रमण किन गरेको ? त्यो भ्रमण लज्जाजनक हो,’ ओलीले भने, ‘एकातिर गयो गेरुबस्त्र लगायो, पूजाआजा गर्‍यो, १०८ केजी रुद्राक्ष मन्दिरमा चढायो, चन्दन लगायो । अर्कातिर गएर मानसरोवरमा डुबुल्की मार्ने भ्रमणको उपलब्धि यति नै हो ।’

उपलब्धि हुनै नसक्ने भ्रमणमा प्रधानमन्त्रीले लामो समय बिताएको बताउँदै यो गलत भएको बताए । ‘१७ दिन संसद् रोकेर विदेश जानु भयो । रिटायर भएपछि हामी जस्ताले गरे अलिक सुहाउँथ्यो होला । एउटा कार्यकारी प्रमुख देश छोडेर दुई दुई हप्ता जान मिल्दैन । प्रधानमन्त्री पिकनिक गएजस्तो भ्रमण भयो, बिदा मनाउन गएजस्तो भएको छ,’ उनले भने, ‘अर्थतन्त्रमा समस्यामा छ । व्यापारी, उद्योगीहरूमा आपत् छ । उद्योगहरू बन्द भइरहेको छ । गैर जिम्मेवार छ सरकार ।’

अर्को प्रसङ्गमा सरकारले आतङ्क र अशान्ति मच्चाएको आरोप पनि लगाए । ‘यो सरकारले शान्ति सुरक्षा खलबल्याएको छ । खुँडाले हानी हानी मान्छे मार्ने अपराधीलाई छोडेको छ । नेपालगन्जका पीडित परिवार आतङ्कित छन् । उनीहरूले कहाँ गएर न्याय पाउने ?’ ओलीले भने, ‘असंवैधानिक, गैरकानूनी, अलोकतान्त्रिक, स्वेच्छाचारी, हिंसा भड्काउने खालका काम यो सरकारले गरिरहेको छ ।’

ओलीले सरकारले विपक्षीमाथि ज्यादतीपूर्ण व्यवहार गरिरहेको बताउँदै भने, ‘यो गठबन्धन हरेक हिसाबले नेपालको पिलो हो, नेपालको पीडा हो, नेपालका लागि अफापसिद्ध भइसकेको हो । जनताको आँसु, व्यथा र पीडा हो । शिक्षक, डाक्टरहरू सडकमा छन् । उद्यमी व्यवसायी सडकमा छन् । उकुसमुकुसमा छ देश ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप