बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एमाले कोशी प्रदेश अधिवेशन

नेतृत्वको इसारा बुझ्न र कुहिनो ठोकाठोक नगर्न अध्यक्ष ओलीको निर्देशन

प्रदेश अध्यक्षमा घनश्याम खतिवडालाई अगाडि सार्ने संस्थापनको संकेत
शुक्रबार, १२ असोज २०८०, १७ : २४
शुक्रबार, १२ असोज २०८०

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन विराटनगरमा सुरु भएको छ । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने ठुलै रस्साकस्सी सुरु भएको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको चाहना भने प्रदेश अध्यक्षमा घनश्याम खतिवडालाई सार्ने पक्कापक्की भएको छ । 

अधिवेशन उद्घाटन समारोहमा पनि अध्यक्ष केपी शर्मा ओलीले ढकाल पक्षलाई लक्षित गर्दै केही अभिव्यक्ति दिए । ओलीले आफ्नो इसारा बुझ्न चेतावनी पनि दिए । त्यस्तै नेतृत्वले देखेको कमजोरी सच्याउन र असहिष्णु नहुन पनि उनले आग्रह गरे । 

अधिवेशनमा नेतृत्व चयनको विषयमा सकेसम्म सहमति गर्न र नभए निर्वाचनबाट गरे पनि कुहिनो ठोकाठोक नगर्न निर्देशन दिएका ओलीले विपक्षीलाई देखाएर चुनावी प्रतिस्पर्धालाई रोक्ने खालको अभिव्यक्ति दिए । ‘अधिवेशनमा सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयनमा अगाडि बढ्नुहोस्,’ ओलीले भने, ‘सहमति गरौँ भनेर नेतृत्व चयन हुँदा पनि विरोधीले एमालेलेमा लोकतन्त्र छैन भन्छन् । चुनावमा गएर नेतृत्व चुन्दा पनि केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्छन् । विरोधीहरूको प्रचार संयन्त्र त्यस्तै हो । जसो गरे पनि हामीविरुद्ध उनीहरुले आक्रमण गर्छन् । त्यस कारण विरोधीका स्याल हुइयाँतिर लाग्ने होइन । एकताबद्ध भएर हाम्रो पार्टी जान्छ ।’

ओलीले अधिवेशनमा सर्वसम्मति भएर पनि जान सक्ने र नभए चुनावमा पनि जान सकिने बताए । ‘बिना बैमनश्यता, बिना कुइना ठोकाठोक, स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् । त्यसपछि हारजित भइसकेपछि त्यसलाई इगोको विषय नबनाउनु होस्, चित्त दुखाउने काम पनि नगर्नुहोस्,’ उनले चेतावनीको भाषामा भने, ‘अलिकति पार्टीका नेताहरुको नेतृत्वको के मूल्याङ्कन छ इशारा पनि बुझ्नुहोस् । त्यसो गर्न सक्नुभएन भने स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।’ उनले एमाले मजबुत बनाउनु पर्ने बाध्यतामा रहेको बताउँदै एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

‘हिजो फलानो पदमा आइदेऊ न बसिदेउ भन्दा अर्कालाई दिऊँ भन्थे । आज अलिक अस्वस्थ प्रतिस्पर्धा चल्ने गरेको छ । मेरो चाहिँ के त भन्नुहुन्छ साथीहरू,’ ओलीले असन्तुष्टहरूलाई सम्झाउने प्रयास गरे, ‘तपाईँका लागि सिङ्गै आन्दोलन छ । हामी आन्दोलन उठाऔँ । अलिक वर्ष अगाडिसम्म पार्टी र आन्दोलनको कुरा हुन्थ्यो । अहिले आफ्ना कुरा बढी हुने गरेको छ । नेतृत्वले केही मूल्याङ्कन गरेको हुन्छ । कमीकमजोरी भए सच्याउन आग्रह गरेको हुन्छ । सच्याउन समय दिएको हुन्छ । त्यस विषयमा असहिष्णु हुनु हुँदैन । अहिले एमाले विरोधीहरू लागिरहेका छन् ।’

उनले नेकपा एमाले गुरु पार्टी भएको बताउँदै यसले समाजमा गुरुको काम गर्नुपर्ने बताए । उनले मिसन ८४ भनेको हरेक वडामा ५१ प्रतिशत एमाले बन्नु रहेको प्रस्ट पारे । ‘मिसन ८४ मा एमाले हरेक वडामा ५१ प्रतिशत पुर्‍याउनु पर्छ । हरेक घरमा पार्टीलाई पुर्‍याउनु पर्छ । युवा सङ्गठन, विद्यार्थी सङ्गठन, महिला सङ्गठन, किसान सङ्गठनलाई टोल टोलमा पुर्‍याउनु पर्छ । मिसन ८४ को आधार त्यो हो,’ ओलीले भने, ‘हरेक वडामा ५१ वडामा भएपछि मात्रै हाम्रो विजयलाई हामीले सुनिश्चित गर्न सक्छौँ । हामी त्यो पुर्‍याउन सक्छौँ । किनभने एमालेबाहेक जनताको समस्या बुझेको कुनै पनि पार्टी यो देशमा छैन ।’

प्रतिस्पर्धामा ढकाललाई चुनौती

यसैबिच यसअघि एमाले कोशी प्रदेशको अध्यक्षमा आकाङ्क्षी देखिएको चार जनाबाट दुई जनामा आइपुगेको छ । जसमा मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल रहेका छन् । पार्टी अध्यक्ष ओली ढकालसँग अनुदार देखिएका छन् भने खतिवडाप्रति सहानुभूति राख्ने गरेका छन् । पाका र पुराना नेता खतिवडा आफूलाई पार्टीले दिएको निर्देशन अनुसार अगाडि बढ्ने बताउँछन् । ढकाल पनि आफ्नो योगदानलाई पार्टीले सम्मान गर्नुपर्ने बताउने गरेका छन् । तर, अध्यक्ष ओलीसँग सिधा सीधा कुरा गर्ने ढकाललाई उनले मन नपराएको पार्टीभित्रै चर्चा छ । यसअघि ढकाललाई समर्थन गरेका कतिपय नेताहरू ओलीको निर्देशनमा पछि हट्न थालेको कतिपय प्रतिनिधिले बताउने गरेका छन् । ‘तलका प्रतिनिधिहरू धेरै विनोद ढकाललाई नै अध्यक्ष भएको हेर्न चाहन्छन्,’ मोरङका एक प्रतिनिधि भन्छन्, ‘तर, माथिको आशीर्वादको अगाडि समस्या होला जस्तो छ ।’ 

एमालेका एक नेताले दिएको जानकारी अनुसार अफिसियल लाइन घनश्याम खतिवडालाई आइसकेको छ । ‘अफिसियल लाइन घनश्याम खतिवडा हो, त्यही अनुसार लेख्दा हुन्छ,’ प्रदेशको राजनीतिमा प्रभावशाली मानिएका ती नेताले भने, ‘सबै नेताको दबाब बढेपछि विनोदजीले नेतृत्वको दाबी छोड्नुहुन्छ । अन्तिममा सहमति हुन्छ ।’

तर, ढकाल पक्षका नेताहरूले भने निर्वाचन हुने दाबी गरेका छन् । ‘छोड्ने कुरै आउँदैन, निर्वाचन हुन्छ,’ उनी पक्षीय एक नेताले भने, ‘माथिबाट घनले हानेपछि केही नेता बटारिएको हामीले पनि बुझेका छौँ । तर सहमति हुँदैन ।’ यसअघि प्रदेश अध्यक्षमा दाबी गरेका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले भने आफ्नो दाबी छोडेको बताइन्छ । अन्य पदहरूमा समेत दाबी गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

विराटनगरको होटेल मनास्लुमा राखिएको अधिवेशनका लागि मनोनयन हुने ५० जना प्रतिनिधि भने अझै चयन भएका छैनन् । नेतृत्वमा भइरहेको हानथाप र विवाद कै कारण अहिलेसम्म प्रतिनिधिहरू मनोनयन हुन नसकेको हो । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १ हजार ४७  जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ । 

यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको भनाइ छ । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति,  अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप