शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको केही घण्टामै ललितपुरबाट ४ जना आरोपी पक्राउ

शुक्रबार, १२ असोज २०८०, १७ : ३६
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । काठमाडौँको गौशालाबाट मोटरसाइकल चोरेको केही घण्टामै प्रहरीले ललितपुरबाट चोरीको मोटरसाइकलसहित आरोपितहरूलाई पक्राउ गरेको छ । मोटरसाइकल चोरेर उपत्यका बाहिर लैजाने गिरोहका ४ जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती गाउँपालिका घर भएका २४ वर्षीय अजय मोक्तान, २७ वर्षीय सुदिप स्याङतान, हरिवन नगरपालिका घर भएका ३१ वर्षीय ध्रुव प्रसाईँ र मलंगवाका १९ वर्षीय सुमितकुमार यादव छन् ।

बिहीबार राति ११ बजेतिर ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टे डाँडामा प्रहरीसँग जम्काभेट भएपछि चोरीको मोटरसाइकल लिएर उपत्यका बाहिर जाँदै गरेकाहरू भागेका थिए । चेक प्वाइन्ट छलेर भागेका ३ वटा मोटरसाइकललाई पिछा गरेर आरोपितहरूलाई पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । प्रहरीले पछ्याएपछि चोरी गर्ने गिरोहले एउटा मोटरसाइकल आश्राङमा छाडेर भागेका थिए ।  

प्रहरी वरिष्ठ नायव निरिक्षक माधवकुमार सिलवाल नेतृत्वको प्रहरीले बिहीबार राति बगुवास्थित खानी खोलाको जङ्गलमा लुकेर बसेको अवस्थामा अजय मोक्तान र ध्रुव प्रसाईँलाई पक्राउ गरेको हो । शुक्रवार बिहान दुई जना प्युटारस्थित होटेलबाट पक्राउ परेका हुन् । आरोपितहरूले दुई वटा मोटरसाइकल बिहीबार राति र एक थान असोज ३ मा गौशालाबाट चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । एउटा मोटरसाइकल ‘अनटेष्ट’ अवस्थामा बरामद गरिएको छ ।

बागमती प्रदेश–०२–०३० प ८६२९, बागमती प्रदेश–०२–०४१ प ४७२३ र लु.९५ प २४८७ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भट्टेडाँडाले ५ महिनाको अवधिमामा १५ वटा चोरीका मोटरसाइकल बरामद गरिएको छ । ललितपुरका एसपी शाहले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप