बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

साविक उमाविका शिक्षकहरुलाई मावि द्वितीय श्रेणीको दरबन्दीमा परिणत गरिने

शुक्रबार, १२ असोज २०८०, १९ : २३
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । साविक उच्च माध्यमिक विद्यालयमा नियुक्त भई कार्यरत शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइने भएको छ । त्यसका लागि ससद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन गर्ने सहमति भएको छ । 

माध्यमिक शिक्षक युनियन नेपाल र शिक्षा मन्त्रालयबीच भएको सहमति अनुसार उनीहरुले उठान गरेका मागहरु सम्बोधनका लागि विधेयक संशोधन गरिने भएको हो । 

सहमति अनुसार साविकको उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिम कायम उच्च माध्यमिक विद्यालय र सो पश्चात माध्यमिक शिक्षामा रुपान्तरण भई हाल कायम माध्यमिक विद्यालयमा अनुदान र दरबन्दीमा मौजुदा शिक्षा ऐन, २०२८ को दफा ३९ को कानुनी व्यवस्था बमोजिम कार्यरत शिक्षकलाई माध्यमिक द्वितीय श्रेणीको दरबन्दी कायम गरी शत प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनेछ । त्यसका लागि प्रतिस्पर्धामा उमेर हद नलगाउने सहमति भएको छ । 

शिक्षा ऐन, २०२८ बमोजिम नियुक्त भएका शिक्षकलाई मौजुदा ऐन बमोजिम नै निवृत्तभरणको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनेछ । 

साविक उच्च माध्यमिकमा कार्यरत शिक्षकले प्राप्त गरेको अस्थायी अध्यापन अनुमति पत्रको सम्बन्धमा प्रस्तावित माध्यमिक द्वितीय श्रेणीको शिक्षकमा प्रतिष्पर्धा गर्ने सम्बन्धमा कानुनी प्रबन्ध गर्ने सहमति भएको छ ।  

आन्तरिक प्रतिस्पर्धामा असफल हुने तथा परीक्षामा समावेश हुन नचाहनेको शिक्षकको हकमा सेवा अवधिको आधारमा अवकाश सुविधा उपलब्ध गराउने समेत सहमति भएको छ ।  

विद्यालय संरचनाको माध्यमिक शिक्षालाई कक्षा ९–१० लाई जुनियर माध्यमिक र कक्षा ११–१२ लाई सिनियर माध्यमिक तहको व्यवस्था गर्ने गरी संशोधन गरिनेछ । 

त्यस्तै कक्षा ११ र १२ को सम्बन्धमा विद्यार्थी संख्याको आधारमा मापदण्ड निर्धारण गरी आवश्यक दरबन्दी कायम गर्ने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप