शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपामा असन्तुष्टि, महन्थ ठाकुरले आफैले बनाएको कार्यदलको प्रतिवेदन लत्त्याए

शनिबार, १३ असोज २०८०, ०७ : ०४
शनिबार, १३ असोज २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारी सहितको केन्द्रीय समिति सार्वजनिक गरेपछि सो पार्टीमा झनै असन्तुष्टि बढेको छ । आफ्ना निकट तथा परिवारका सदस्यलाई समावेश गरेर भद्रगोल केन्द्रीय समिति बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । 

पार्टीभित्र पनि नेताहरू आआफ्नो असन्तुष्टि पोखिरहेका छन् । वर्षौँदेखि पार्टीमा लागेका व्यक्ति जो विगतमा राजपामा पदाधिकारी थिए, त्यस्ता नेताहरूलाई केन्द्रीय समितिमा नसमेटेर नयाँ अनुहारलाई पदाधिकारी बनाएकोमा उनीहरू रुष्ट छन् । 

कार्यकारिणी समितिको बैठकबाट पार्टीका अध्यक्ष महन्थ ठाकुरले संगठनको संरचना कस्तो बनाउने बारेमा अध्ययन गर्न उमाकान्त झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलले आफ्नो प्रतिवेदन दिए पनि अध्यक्ष ठाकुरले मनमौजी ढंगले कार्यसमिति बनाएको गुनासो पार्टीभित्र छ । 

कार्यदलले दिएको प्रतिवेदनअनुसार ३५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय केन्द्रीय राजनीतिक समिति, ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र सबै पदाधिकारी रहने गरी केन्द्रीय कार्य सम्पादन समितिमा बनाउने सुझाव दिएको थियो । 

कार्यदलले अध्यक्ष एक जना, वरिष्ठ नेता २ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष पाँच जना, महासचिव ३ जना, सहमहासचिव ७ जना, कोषाध्यक्ष १ जना, प्रवक्ता एक जना गरी २१ जना पदाधिकारी रहने सुझाव अध्यक्ष ठाकुरलाई दिएको थियो । 

त्यस्तै, दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय सचिवालय गठन गर्ने र सो सचिवालयमा कार्यालय प्रमुखमा एकजना महासचिव, कार्यालय उपप्रमुखमा एकजना सहमहासचिव र कोषाध्यक्ष एकजना गरी तीन सदस्यीय केन्द्रीय सचिवालय बनाउने सुझाव पनि कार्यदलले दिएको थियो । 

यो कार्यदल अध्यक्ष ठाकुर स्वयम्ले गठन गरेका थिए । तर, प्रतिवेदन बुझे पनि आफूखुसी कार्य समिति बनाउँदा पार्टीमा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झा पक्षका नेताहरू असन्तुष्ट भएका छन् ।

कार्यदलका सदस्य एवं उपाध्यक्ष कौशलकुमार सिंहका अनुसार आफूहरुले प्रतिवेदन बुझाउँदा यही प्रतिवेदनअनुसार कार्य समिति बन्ने प्रतिबद्धता अध्यक्ष ठाकुरले जनाएका थिए । तर पछि ठिक त्यस विपरीत कार्य समिति बनेको उनले बताए । 

आफूले लोक दल लिएर लोसपासँग एकीकरण गरेको तर एकीकरणको समयमा भएको चारबुँदे सम्झौताअनुसार कार्यसमितिमा समावेश नगरेको उनले गुनासो गरे । 

आफूलाई उपाध्यक्षमा राखिएको, त्यसबाहेक आफूसँग आएका कुनै पनि नेतालाई समावेश नगरेको गुनासो गर्दै उनले भने, ‘जबकि तत्कालीन लोकदलबाट आएका नौ जनालाई केन्द्रीय समितिमा समावेश गर्ने भनिएको थियो ।’ 

सिंहले आफूले उपाध्यक्ष पद अस्वीकार गरेको बताउँदै भने, ‘मैले पार्टी एकीकरण गरेको हो, पार्टीमा प्रदेश गरेको होइन । एउटा सिंगो पार्टीले त्यही अनुसारको जिम्मेवारी पाउनुपर्ने हो ।’ 

यस्तो थियो मापदण्ड

जसपाबाट जति जना अलग भएर लोसपामा आए, ती सबैलाई केन्द्रीय समितिमा राख्ने कार्यकारिणी समितिको बैठकले मापदण्ड बनाएको थियो । तर, अध्यक्ष ठाकुरले त्यो मापदण्ड पनि लागु गरेनन् । 

लोसपाका एकजना कार्यकारिणी सदस्य भने, ‘जसपाबाट अलग हुँदा थुप्रै नेताहरू महन्थ ठाकुरका साथमा आएका थिए तर त्यसमध्ये धेरै नेताहरू केन्द्रीय समितिमा परेका छैनन् ।’

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट एक नेताका अनुसार महतो पक्षका ३० भन्दा बढी नेतालाई केन्द्रीय समितिमा राखिएको छैन । कतिपय नेता तत्कालीन राजपामा पदाधिकारी थिए तर अहिले तिनलाई केन्द्रीय सदस्य पनि बनाइएन । 

त्यस्तै, वरिष्ठ नेता अनिल झा पक्षका पाँच छ जना भन्दा बढी नेताहरूलाई केन्द्रीय समितिमा नराखिएको नेताहरूको गुनासो छ । 

एक नेताले भने, ‘जसपामा अनिल झा पक्षका ४४ जना नेता थिए । जसपाबाट अलग हुँदा ३०–३५ जना फर्केका थिए तर त्यसमध्ये मुस्किलले पाँच छ जना मात्र केन्द्रीय समितिमा परेका छन् । 

अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी पक्षका पुराना नेताहरू केन्द्रीय समितिमा नपरेपनि उनले आफ्ना निकट केही नयाँ अनुहारलाई पार्टी केन्द्रीय समितिमा ल्याएको स्रोत बताउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप