सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकीर्तिमानी नेपाली क्रिकेट टोलीलाई पूर्वराजाको बधाई

शनिबार, १३ असोज २०८०, १४ : ०७
शनिबार, १३ असोज २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा  नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।  अनेकौँ प्रतिकुलताका हासिल गरेको सफलताले  नेपालको राष्ट्रिय गौरव बढाएको शाहले बताएका हुन् ।

शुभकामना सन्देशमा शाहले लेखेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी-२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ । विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।’

गत असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो । 

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए । बायाँहाते ब्याट्सम्यान कुशलले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाए । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् । 

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् । 

यसैगरी दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले १० बलाको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए ।

यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए । नेपालका लागि अर्का ब्याट्सम्यान रोहित पौडेलले पनि ६१ रन बनाए । उनले केवल २७ बलको सामना गरी ६ छक्का र दुई चौका हिर्काए । उनी नेपाली टोलीका कप्तान पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप