सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत–बहस

के हो राल्फा आन्दोलन ?

सोमबार, १५ असोज २०८०, ०६ : ११
सोमबार, १५ असोज २०८०

नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनलाई नेतृत्व गर्ने सारथीहरूको उद्गम संस्थाका रूपमा रहेको ‘राल्फा’बारे प्रायः नेपाली वामपन्थी वाङ्मय मौन रहेको पाइन्छ । पारिजात, मञ्जुल, रामेश, रायन, अरिम, निनु चापागाईंजस्ता प्रगतिवादी सांस्कृतिक–साहित्यिक हस्तीहरू यसै आन्दोलनको पुल तरेर वामपन्थी प्रगतिशील किनारमा आइपुगेका श्रष्टा हुन् ।

राल्फा कुनै प्रगतिशील दर्शन बोकेको आन्दोलन थिएन, यद्यपि यसले साहित्य र संगीतका माध्यमबाट समाजमा विद्यमान विषमता र विकृतिका विरुद्धमा एउटा चोटिलो विद्रोहको सिर्जना गरेको थियो । तत्कालीन निरङ्कुस शासन र सत्ताप्रति उनीहरू गीतबाट यसरी तिरस्कारको झटारो फ्याँक्दथे ः

ढुङ्गा बर्साऊन् बादलका थोपाहरू
आगो फुलाऊन् गुराँसका नरम थुङ्गाहरू
भाँचिऊन् यहाँका प्रत्येक कैदी सडकहरू
मेरो बुढो हिमालको देशभित्र आदिम पशुको राज 
तिम्रो नाममा विज्ञापित हुन हामीलाई स्वीकार छैन ।
राल्फाभित्रको वैचारिक अन्योलबारे 

राल्फाभित्रको वैचारिक अन्योलबारे मञ्जुलको स्विकारोक्ति यस्तो छ — 

‘अन्याय, अत्याचार, शोषण र दमनको विरोध गर्ने विचार हामीले नै जन्माएको दाबी गथ्र्यौं । इतिहास मान्दैनौ भन्थ्यौँ, इतिहासविनाको अग्रगति कस्तो होला ? । सम्पूर्ण परम्परा, संस्कार र मान्यता भत्काइदिन्छौँ भन्थ्यौँ, परम्पराभित्रको असल पक्ष देख्दैनथ्यौँ । फ्री सेक्स अथवा खुला यौनसम्बन्धको पक्षमा कुरा गथ्यौँ (यथार्थमा हामी यौन सम्बन्धलाई कडा र सतर्क रूपले हेथ्यौँ ।

२०२३ सालतिर आफूहरुले गाएबापत पाउने पैसा रेडियोभित्रकै एक गिरोहले किर्ते सही गरेर चप्काइरहेको कुरा उनीहरूले थाहा पाए । यस कुराको भण्डाफोर भएपछि उल्टै उनीहरूलाई रेडियोमा गीत गाउनबाट वञ्चित गरियो । यस घटनाका कारण एक किसिमले हतास मनस्थितिमा रहेका रामेश, रायनहरूलाई साहित्यकार पारिजातले ढाडस र हौसला दिने काम गरिन् ।

महिलाको शरीरमा कसैले स्पर्शसम्म गरेको हामी मन पराउँदैनथ्यौँ) । एक किसिमले भन्ने हो भने वैचारिक रूपमा दश ठाउँ गुजुल्टिएर गाँठो परेको धागोको डल्लाजस्तै थियौँ हामी । साँचो कुरा के थियो भने हामी राजनीतिक परिपाटीले सिर्जना गरेको विकृत सामाजिक स्थितिसँग एकदमै असन्तुष्ट थियौँ । डाङडुङ पारेर भत्काइदिन चाहन्थ्यौँ हामी यस क्रूर, अविवेकी, खुङ्खार, अपराधी पुरानो समाज व्यवस्थालाई’ (सम्झनाका पाइलाहरू) ।

२०१९ सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत सम्मेलनमा भाग लिन ओखलढुङ्गाबाट आएका रामेश, रायन र अरिमले २०२१ सालदेखि रेडियोमा गीत गाउन थाले । यस बीचमा २०२२ सालतिर गायक रामेश र कवि मञ्जुलको भेट भयो । २०२३ सालतिर आफूहरुले गाएबापत पाउने पैसा रेडियोभित्रकै एक गिरोहले किर्ते सही गरेर चप्काइरहेको कुरा उनीहरूले थाहा पाए । यस कुराको भण्डाफोर भएपछि उल्टै उनीहरूलाई रेडियोमा गीत गाउनबाट वञ्चित गरियो । यस घटनाका कारण एक किसिमले हतास मनस्थितिमा रहेका रामेश, रायनहरूलाई उनीहरूको गीतबाट प्रभावित रहेकी साहित्यकार पारिजातले ढाडस र हौसला दिने काम गरिन् । यसपछि २०२४ सालमा पारिजातकै प्रोत्साहन र प्रेरणाबाट रामेश्वर श्रेष्ठ (रामेश), नारायणभक्त श्रेष्ठ (रायन), अरुणऋषि मनोज श्रेष्ठ (अरिम) र पछि मेघराज नेपाल (मञ्जुल) सम्मिलित एउटा समूह बन्यो– ‘राल्फा’ । अर्थ न बर्थको शब्द ‘राल्फा’ नामको यस संस्थामा पछि गणेश रसिक, केदार न्यौपाने (सिसाल), प्रदीप नेपाल (सिरोज सोनोभ), खगेन्द्र बस्नेत (सिमोस), लक्ष्मी कोइराला (रेमन राकेला), हरि श्रेष्ठ (नोरेम निगेसा), निरन सापकोटा, विमल चापागाईं आदि पनि सम्मिलित हुन पुगे । राल्फाका विद्रोही गीतहरू सुनेपछि उनीहरूका वामपन्थी शुभचिन्तकहरूले राल्फाको अर्थ निकाल्ने प्रयास गरेका थिए — ‘रेभोलुसनरी लेफ्टिस्ट फ्रेन्डस् अफ एसिया’ ।

राल्फा केवल सांगीतिक समूह मात्र थिएन, यसमा साहित्यकार र चित्रकारहरू पनि सम्मिलित थिए । उनीहरू गीत–संगीत, साहित्य र कलाका माध्यमबाट समाजमा विद्यमान विसंगतिविरुद्ध जाइलाग्न चाहन्थे । साहित्यिक क्षेत्रमा उनीहरूले विमलको सम्पादनमा ‘विद्रोह’ र नोरेमको सम्पादनमा ‘यन्त्रणा’ नामक साहित्यिक पत्रिकाको प्रकाशित गरेका थिए । यही राल्फाली अवधारणाअन्तर्गत पारिजातको जीवनकथामा आधारित ‘छेकुडोल्मा’ उपन्यास मञ्जुलले लेखे भने पारिजातले ‘महत्ताहीन’ नामक उपन्यास लेखिन् । मञ्जुलका अनुसार गोरखबहादुर श्रेष्ठ (रामेशका ठूलो दाइ), शशि शाह, इन्द्र मानन्धर, वत्सगोपाल वैद्य आदि चित्रकार पनि राल्फाली अभियानमा जोडिएका थिए तर राल्फाबाट कलाको क्षेत्रमा चाहिँ खास उल्लेखनीय गतिविधि सञ्चालन हुन सकेको देखिँदैन । 

२०२५ सालतिर महेन्द्र पुलिस क्लबमा आयोजित ‘नीलो जून’ शीर्षकको गीति कार्यक्रमबाट राल्फाले आफ्नो सांगीतिक अभियानको थालनी गरेको थियो । त्यसबखत राल्फाका शुभचिन्तकका रूपमा रहेका कवि भूपि शेरचनलाई उक्त कार्यक्रममा मन्तव्य दिनका लागि अनुरोध गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका थिए । उक्त कार्यक्रम अद्भूत रूपमा सफल भएको देखेपछि उनले पछि एक डिनरको आयोजना गरी राल्फालीसँग क्षमायाचना समेत गरेको कुरा मञ्जुल स्मरण गर्छन् । त्यसपछि काठमाडौँ, वीरगन्ज, विराटनगर, पोखरा, पाल्पा, दार्जिलिङ, कालिम्पोङ र सिलाङमा अनेक सफल सांगीतिक कार्यक्रम प्रस्तुत गरेर राल्फा लोकप्रियताको चरम उत्कर्षमा पुगेको थियो । 

त्यसबखत पश्चिमी संगीतमा सनसनी मच्चाइरहेको चार सदस्यीय बिटल्स समूहको नक्कल गर्दै रामेश, रायन, अरिम र गणेश रसिक गरी चारजनाकै राल्फाली सांगीतिक समूह बनाइएको थियो । सुरुमा मञ्जुल गीत लेख्ने र उद्घोषण मात्र गर्दथे । ‘राल्फाली आचारसंहिता पालन गर्न नसकेर’ (मञ्जुलका अनृुसार त्यसबखत राल्फाले मादक पदार्थ नखाने र मायाप्रीतिको गीत नगाउने आचारसंहिता बनाएको थियो) राल्फाबाट बाहिरिएका गणेश रसिकले २०२६ सालतिर हिरण्य भोजपुरसँग मिली अर्को सांगीतिक समूह ‘लेकाली परिवार’ निर्माण गरेपछि चारजनाको राल्फाली सांगीतिक टोलीमा एकजनाको ठाउँ खाली हुन पुग्यो । पछि गोरखबहादुर श्रेष्ठको सल्लाहअनुसार सो रिक्त ठाउँमा मञ्जुललाई समावेश गरिएको थियो । त्यसपछि मात्र मञ्जुल कवि, गीतकार र उद्घोषकबाट गायक समेत बन्न पुगेका थिए । 

२० को दशकतिर पश्चिमी संसारमा तहल्का मच्चाउने बिट जेनेरेसन, भारतको ‘हंग्री जेनेरेसन’को प्रभाव पनि यस समूहका मानिसमा परेको थियो । त्यसैले उनीहरू आफूलाई ‘राल्फा जेनेरेसन’ अथवा ‘राल्फा सन्तति’ पनि भन्थे । राल्फालीहरूमा त्यस समयका चर्चित पश्चिमा विद्रोही कवि कलाकारहरू (पिट सिगर, बब डिलन, जोन वाइज, पाउल साइमन, आर्ट गार्फङ्केल, बब मार्ली, एलेन गिन्सबर्ग र बिटल्सहरूको ठूलो प्रभाव थियो । रामेश अनि मञ्जुल सम्झिन्छन् — उनीहरू पल साइमन र गार्फङ्केलको ‘साउन्ड अफ साइलेन्स’, बब डिलनको ‘द टाइम्स दे आर अ चेन्जिङ’ जस्ता गीत अत्यधिक सुन्ने गर्दथे । 

आजको जस्तो सञ्चारसाधनको सुगमता नभए पनि एकजना सान्द्रा जेडिस्टाइन नाम गरेकी अमेरिकन महिला, जसले पारिजातको ‘शिरीषको फूल’ उपन्यासको अंग्रेजी अनुवादको सम्पादन गरेकी थिइन्, उनैले ती विदेशी कलाकारका गीतहरू सुन्ने सुविधा मिलाइदिएकी थिइन् । यसका साथै विभिन्न स्पेनिस, जापानी र अफ्रिकन संगीतहरू पनि उनीहरू सुन्दथे र तिनमा भएका राम्रा पक्षको अनुशरण गर्दथे । यसरी विभिन्न अन्तर्राष्ट्रिय संगीतहरूको प्रभाव समेतबाट राल्फा समूहले पनि प्रचलित शैलीभन्दा भिन्न प्रकारका गीत–संगीतको रचना गर्न थाले । यही पृथक् शैलीको गायन, वादन, साज–संयोजन, गीत लेखन र प्रस्तुतिका कारण योे समूह त्यस बखतका बौद्धिक समुदायबीच अत्यन्त चर्चाको विषय बन्न पुगेको थियो । त्यस समयका वामपन्थी बुद्धिजीवी तथा लेखकहरू भूपि शेरचन, गोविन्द भट्ट, आनन्ददेव भट्टदेखि प्रजातान्त्रिक खेमाका तुलसी दिवस, केदारनाथ श्रेष्ठ आदिले राल्फाली समूहमाथि अत्यन्त चासोपूर्वक हेरिरहेका थिए । कुनै पनि सिद्धान्त नमान्ने राल्फालीहरूलाई वामपन्थी बुद्धिजीवी गोविन्द भट्टले अब तिमीहरूले माक्र्सको पनि खण्डन गर्नुपर्छ भन्दै अप्रत्यक्ष रूपमा माक्र्सवादी सिद्धान्त पढ्न उक्साउने गरेकोे कुरा मञ्जुल स्मरण गर्छन् । 

बिस्तारै राल्फाभित्र विभिन्न कारणले आपसमा वैमनस्यता उत्पन्न हुन थाल्यो । समूहभित्र एकको अनुपस्थितिमा अर्कोको कुरा काट्ने जस्ता प्रवृत्ति देखिएपछि रामेश, मञ्जुल र अरिम राल्फाबाट बिस्तारै टाढा हुन थाले । यस्तैमा २०२७–२८ सालतिर उनीहरूले पूर्वी पहाडका जिल्लामा एउटा लामो गीति यात्रा सम्पन्न गरे । 

ओखलढुङ्गा, खोटाङ, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका विभिन्न स्थानमा गीत गाउँदै हिँड्ने क्रममा उनीहरूको कार्यक्रम आयोजना गर्ने, प्रशासन र मण्डलेहरूको आक्रमणबाट जोगाउने र उनीहरूमा रहेको अपरिपक्व चिन्तनलाई सच्याउन मद्दत गर्ने तत्कालीन वामपन्थी कार्यकर्ता र बुद्धिजीवीहरू केदार राई, बासु शाक्य, महेश्वरमान श्रेष्ठ, गोविन्द न्यौपाने आदिको संसर्गले गर्दा नजानिँदो ढंगले उनीहरू तत्कालीन एक कम्युनिस्ट समूह ‘कोअर्डिनेसन कमिटी’को निकट पुगिसकेका थिए । रामेश र मञ्जुल काठमाडौँ फिर्दा नफिर्दै यता काठमाडौँमा रहेका पारिजात, रायन र निनु चापागाईंहरू तत्कालीन नेकपा चौथो महधिवेशन समूहमा आबद्ध भइसकेका थिए । तैपनि सो गीतियात्राभरि नै रामेश र मञ्जुलले राल्फाकै पहिचानमा गीत गाएका थिए । 

रामेश र मञ्जुल २०२९ सालतिर काठमाडौं फर्केपछि रायन र रामेशहरूबीच रेडियो नेपाललाई प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भयो । यसले उनीहरूबीचको दूरीलाई मात्र बढाएन, यसपछि राल्फाको अस्तित्व नै समाप्त भयो ।

वेदना परिवार र इन्द्रेणी सांस्कृति समाज 

राल्फा विघटन भएपछि त्यस समूहका सदस्यमध्ये रायन तत्कालीन नेकपा (चौ.म.)सँग आबद्ध भई ‘वेदना’ साहित्यिक पत्रिकाको नाममा ‘वेदना सांस्कृतिक परिवार’को गठन गरी जनसांस्कृतिक अभियानमा लागे । वेदना परिवारले २०३७–३८ सालतिर मञ्चन गरेको रायनद्वारा संगीतबद्ध ‘सिम्मा’ गीति नाटकले ठूलो चर्चा पाएको थियो । वेदना परिवारका केही चर्चित गीतहरूमा ‘गाउँमा त सरकार थिएन’, ‘ढुङ्गाको सालिक ढल्दैमा हाम्रो छाती ढल्दैन’, ‘मजदुरको भन्नु के हुन्छ र साथ बरिलै’, ‘दुष्टहरूले जेलनेल सास्ती दिँदा पनि’ आदि रहेका छन् । 

नेकपा (चौ.म.) विघटनपछि वेदना परिवारका कलाकार छिन्नभिन्न हुन पुगे । एकातिर निर्मल लामाको नेतृत्वमा रहेको चौथो महाधिवेशनको निकटमा रहेर २०४४ सालमा ‘इन्द्रेणी सांस्कृतिक समाज’को निर्माण भयो भने अर्कोतिर नेकपा (मोटो मशाल) अर्थात् हालका माओवादीको मातृपार्टीको निकट रहेर ‘सामना परिवार’ नामक संस्थाको स्थापना गरियो । यसका साथै अर्को नेकपा (पातलो मसाल) सँग निकट कलाकारहरूले ‘रक्तिम परिवार’ नामको सांस्कृतिक समूहको गठन गरी छुट्टै रूपमा जनसांस्कृतिक गतिविधि सञ्चालन गर्न थाले । 

इसासका प्रमुख कलाकारमा रायन, सुसन मास्के, नायक, वीरप्रसाद भण्डारी, हरि दर्शनधारी, वदन शर्मा, तुलसीलाल, रञ्जित लामा, शरद पौडेल, रमि श्रेष्ठ रहेका थिए । अझ पछिल्लो कालमा आएर इन्द्रेणी सांस्कृतिक समाजमा पनि फुट भयो । एकातिर रायन, हरिगोविन्द लुइटेल, हरि दर्शनधारीहरू कीर्तिपुर इसास गठन गरी कार्यरत छन् भने अर्कातिर निनु चापागाईं, सुसन मास्के, शरद पौडेलहरूसहितको समूह चाहिँ इन्द्रेणी रक्तिम सांस्कृतिक संगठन नामक समूहमा रहेर काम गरिरहेका छन् तर लामो समयदेखि ती दुवै समूहका पनि कुनै उल्लेखनीय गतिविधि देखिएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोम राई
सोम राई
लेखकबाट थप