सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन्छन् यस्ता चार हानी, आजैदेखि बन्द गर्नुहोस्

बुधबार, १७ असोज २०८०, १० : २८
बुधबार, १७ असोज २०८०

‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा बच्चालाई खाना खुवाउन मोबाइलको सहारा लिने गरिन्छ । बच्चा जुनसुकै उमेरको किन नहोस्, खाने बेलामा मोबाइल त चाहिन्छ नै । तर धेरैले के थाहा पाउनुपर्छ भने यो राहतको कुरा होइन, यसले बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसबारे भारतको मेडिकेयर अस्पतालका बाल रोग विशेषज्ञ डा. नरजोहन मेश्रामले एक भारतीय सञ्चार माध्यमसँग यसबारे कुराकानी गरेका छन् । 

लत

विशेषज्ञलाई विश्वास गर्ने हो भने बच्चालाई खाने खुवाउने बेला मोबाइल दिइयो र सधैँ यही प्रक्रिया जारी राखियो भने यसले बालबालिकामाथि नकारात्मक असर पर्न सक्छ । वास्तवमा सधैँ मोबाइल हेर्ने भएकोले बच्चालाई यसको लत लाग्न सक्छ । यहाँसम्म कि यदि तपाईंले साना बच्चालाई यसरी नै खाना खुवाउनु हुन्छ भने उनीहरुले खाना यसरी नै खानुपर्छ भनेर बुझ्छन् । 

कम वा धेरै खाना खानु

हाम्रो ध्यान खानामा हुँदा हामीले कति खाने, के खाइरहेका छौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ । तर बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाइयो भने बच्चाले कति खाने भनेर बुझ्न सक्दैनन् । त्यसैले धेरैजसो अवस्थामा बच्चाले कि त धेरै खाइरहेका हुन्छन् कि थोरै । यहाँसम्म कि बच्चालाई के खाइरहेको छु भन्ने कुरा पनि थाहा हुँदैन । 

खानाको स्वाद नै थाहा हुँदैन

खाना खाने बित्तिकै त्यो कस्तो स्वादको छ भन्ने कुरा थाहा भइहाल्छ । हामीले जे खाइरहेका छौँ, त्यो आफूलाई मन पर्ने खालको छ कि छैन भन्ने कुरा पनि हामीले थाहा पाउँछौँ । जबकि साना बच्चालाई मोबाइल देखाएर खुवाउँदा त्यसको स्वाद मिठो छ कि छैन भन्ने उनीहरुले थाहा पाउन सक्दैनन् । तपाईंले अनुभव गर्नुभएको होला कि बच्चालाई मोबाइल देखाउँदा उनीहरुले जे पनि खान्छन् । उनीहरूलाई मन नपर्ने कुरा पनि खाइरहेका हुन्छन् । सधैँ मोबाइल देखाएर खाना खुवाउनु बालबालिकाको टेस्ट बडका लागि सही होइन ।

परिवारसँग कुराकानी नहुनु

एक दशक अघिसम्म पूरा परिवार सँगै बसेर खाना खाने गर्दथे । खाना खाने समयलाई एक प्रकारको फ्यामिली टाइम मानिन्थ्यो । यति बेला परिवारका सबै सदस्यले एक आपसमा कुराकानी गर्दथे, आफ्ना समस्याको समाधान खोज्थे । यसरी पारिवारिक सम्बन्ध पनि बलियो हुन्थ्यो । तर अहिले खाना खाने समयमा यस्ता खालका कुराकानी कमै देखिन्छ । यदि तपाईंले बच्चालाई खाना खुवाउने बेला यसरी नै मोबाइल देखाउनुहुन्छ भने उनीहरुले खाना खाने बेला कहिले पनि कुराकानीको सिलसिला सुरु गर्दैनन् । यसरी उनीहरुले फ्यामिली बन्डिङलाई बुझ्न पनि सक्दैनन् । 

आमाबुवाले बच्चालाई खाना खुवाउने बेला के गर्ने ?

अभिभावकले बच्चालाई खाना खुवाउने बेला कहिल्यै पनि मोबाइल दिनु हुँदैन । यसका साथै निम्न उपाय अपनाउन सक्नुहुन्छ । 

– बच्चासँग खाना खाने बेला धेरै कुराकानी गर्नुहोस्

– बच्चालाई भोक लागेपछि मात्रै खाना खुवाउनुहोस्

– खाना खाने बेला मोबाइल हेर्ने भनेर जिद्दी गर्न थाल्यो भने बेवास्ता गर्नुहोस्

– खानामा के मन पर्छ, त्यसबारे बच्चासँग कुराकानी गर्नुहोस्

– तपाईं आफैँ पनि खाना खाने बेलामा कहिल्यै मोबाइल नहेर्नुहोस् । ध्यान राख्नुहोस्, बच्चाले सधैँ आफ्नो आमाबुवाको बानी अनुसरण गर्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप