बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम

७ विषयमा तथ्यगत जानकारीका लागि  सार्वजनिक सूचना आह्वान गर्ने निर्णय
बिहीबार, १८ असोज २०८०, २३ : ५०
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् । 

पत्रकार सम्मेलनमा आचार्यले आयोग गठन गरी जिम्मेवारी दिएकोमा मन्त्रिपरिषद्लाई धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

आचार्यले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित ७  विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।  जसअनुसार विदेशबाट इलेकट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन २ गते ब्रेकशुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवम् जानकारी दिइनेछ । 

यसैगरी सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना लिइनेछ । 

यसैगरी सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान,  सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजना बनाइएको छ । 

यस सम्बन्धमा आयोगलाई सहजीकरण वा सहयोगी हुने अन्य विषयमा पनि आयोगले सुझाव मागेको छ ।  आयोगको कार्यालय गृह मन्त्रालयको पुरानो भवनको परिसरमा स्थापना भएको छ  ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकल सुन तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ उपदफा २ बमोजिम उच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप