मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले विस्तृत शान्ति सम्झौता विपरीत अभिव्यक्ति दिएको भन्दै सांसद सापकोटाको आपत्ति

बिहीबार, १८ असोज २०८०, १५ : ०७
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले विस्तृत शान्ति सम्झौता विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले अघिल्लो बैठकमा ओलीले घण्टौँ लामो भाषण गरेपनि देशमा भइरहेको अराजकतालाई रोक्नेबारे कुनै सम्बोधन नभएको बताए । 

संसदले जनताका आवाज घन्काउला भनेर जनताले सदनतिर हेरेपनि सदनमा भने पूर्व प्रधानमन्त्रीले घण्टौँ लामो भाषण गर्ने अवस्था रहेको बताए । भाषणमा अराजकतालाई नियन्त्रण गर्ने सन्देश नआउने तर विस्तृत शान्ति सम्झौता र संविधानको मर्म विपरीतको अभिव्यक्ति आएको उनले उल्लेख गरे ।  

उनले भने–‘पूर्व प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेताले सदनमा घण्टौँ लामो भाषण गर्नुभयो । एकपटक उहाँले अध्यक्षता गरेकै केन्द्रीय समितिको बैठकमा बसेर काम गरेँ, उहाँप्रति सम्मान छ, उहाँ मेरो नेता हो । तर उहाँले बोलेका केही कुराहरु निकै गम्भीर छन् । उहाँलाई २०६३ साल मंसिर १५ गते माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतालाई सम्झाउन चाहन्छु ।’

सांसद सापकोटाले विस्तृत शान्ति सम्झौतामा सरकार र माओवादीबीच द्धन्द्धलाई अन्त्य गर्दै संविधान सभाद्वारा संविधान जारी गर्ने विषयमा भएको सम्झौतालाई स्मरण गराउँदै सो विषय सजिलै भुल्न मिल्छ भन्दै प्रश्न गरे ।   

वेटिङ गर्भमेन्टको रुपमा प्रमुख प्रतिपक्ष दल रहेको र वेटिङ प्रधानमन्त्रीको रुपमा प्रमुख प्रतिपक्षी दलको नेता रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को बैठकमा नगए त्यो बैठक नै सञ्चालन हुन नसक्ने बताए । 

उनले भने–‘हाम्रो संविधानले प्रमुख प्रतिपक्षी दलको नेतालाई राज्यको अंगको मान्यता दिएको छ । तर त्यस्तो नेताले विस्तृत शान्ति सम्झौताको विपरीत अभिव्यक्ति दिएर हिजो युद्धमा गएका सबै घाइतेहरुले शरीरमा गोली बोकेर सडकमा आन्दोलन गर भन्न खोजेको हो ? हामी भनिरहेका छौँ, धरानदेखि नेपालगञ्जसम्मका घटनाहरुले समाजलाई ठीक दिशामा लगिरहेको छैन । सबै दलहरु एकैठाउँमा बसेर पत्रकार सम्मेलन गरेर एउटा सन्देश दिनुपर्‍यो भनेर हामीले भनिरहेका छौँ तर फेरी अर्को द्वन्द्वको अर्को चित्र आइरहेको छ ।’ 

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा पार्टीले निर्वाचन आयोगलाई बुझाएको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले थालेको जनयुद्धले दिएको उपलब्धि उल्लेख गरिएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका कुराहरु औपचारिक संस्थागत रुपमा व्यवस्था गरिएका कुराहरुको विपरीत छ कि छैन भन्दै प्रश्न गरे । 

ओलीले दिएको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको भन्दै सांसद सापकोटाले प्रमुख प्रतिपक्षी दलले त्यसबारेमा पुर्नविचार गर्नुपर्ने बताए । 

देशभर अराजकता बढेकोप्रति उनले भने–‘नेपालगञ्ज कर्फ्युले घेरिएको छ, भदौको पहिलो साता धरान त्यस्तै एउटा चपेटामा थियो । सिरहामा भयो । देशैभरि एउटा प्रकारबाट जातीय र साम्प्रदायिक प्रकारका घटनाक्रमका श्रृङ्खलाहरु आइरहेका छन् । सामाजिक सञ्जाल हेरिसाध्य छैन, त्यो यतिधेरै स्वच्छन्द, अराजक र उच्छृङ्खल छ । चिकित्सकहरु सुरक्षित छैनन् हातपात भइरहेको छ । प्राधापकहरु असुरक्षित छन्, जताततै एउटा अराजकताको श्रृङ्खला अगाडि आइरहेको छ ।’

सांसद सापकोटाले सामाजिक सञ्जाललाई मर्यादित बनाउने हो भने सबैभन्दा पहिला राजनीतिज्ञहरु अनुशासित हुनुपर्ने बताए । त्यसमा पनि शीर्ष नेताहरु अनुशासित र जिम्मेवार भएर देशलाई सन्देश दिँदा उनीहरुले दिएका कुराहरु कार्यान्वयन गर्न सहज हुने बताए । 

समाजलाई मर्यादित बनाउन सबैभन्दा पहिला दलका शीर्ष नेता र राजनीतिज्ञहरु अनुशासित हुनुपर्नेमा उनको जोड छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप