शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
पीडितकाे पीडा

बझाङका भूकम्प प्रभावित भन्छन्– एउटा त्रिपालसम्म पाएनौँ, कहाँ छ सरकार ?

शुक्रबार, १९ असोज २०८०, ०८ : ४२
शुक्रबार, १९ असोज २०८०

धनगढी । बझाङको जयपृथ्वी नगरपालिका–४, गोलाइका बासिन्दा कविराज जोशीको पक्की घर भत्किएको छ । बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएपछि जोशीको घरको ठाउँठाउँमा चिरा परेको छ । घरमा प्रयोग भएका ढुङ्गा उछिट्टिएर बाहिर आएका छन् । घर नै धरापजस्तै बनेपछि उनको परिवार ३ दिनदेखि छिमेकीको घर आश्रय लिएर बसेको छ ।

जोशी भन्छन्, ‘मेरो त पक्की घर नै भत्कियो । बस्नै नमिल्ने अवस्था छ । अर्काको घरमा आश्रय लिएको छु । तत्काल बनाउन सक्ने अवस्था पनि छैन । बिजोग छ ।’आफूहरु बेघर भए पनि राज्यको कुनै निकायबाट सहयोग तथा रातह सामग्री नपाएको जोशीको दुखेसो छ ।

रातोपाटीसँग जोशीले भने, ‘सहयोगको नाममा एउटा त्रिपालसम्म पाएनौँ । खानेकुरा त परै जाओस् । हिजो वडाध्यक्ष आउनुभयो । आज पूर्वगृहमन्त्री रवि लामिछाने आउनुभएको थियो । उहाँ स्कूलसम्म आउनुभयो । तर हाम्रो बस्तीसम्म आउनुभएन । सुन्दैछु, मुख्यमन्त्री पनि आउँदै हुनुहुन्छ रे ।’

भोलि प्रधानमन्त्री पनि आउने कुरा आफूले सुनेको तर नेताहरुको आगमनले पनि कुनै उपलब्धि आफहरुजस्ता पीडितका लागि नहुने उनको भनाइ छ । उनले राहत पाउने आश नरहेको पनि बताए ।

गोलाइकै भूकम्प प्रभावित पार्वती देवी उपाध्यायको पीडा पनि जोशीको जस्तै छ । दुःखमा परेको बेला आफूहरुको पिरमर्का बुझ्न कोही नआएको उनले बताइन् ।

त्रासैत्रासमा त्रिपालमुनि बस्दै आएको बताउँदै उनले अब चर्केको घरभित्र कसरी बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको सुनाइन् ।भूकम्प प्रभावितहरुले सरकारी निकाय अझैसम्म आफूहरु कहाँ पुग्न नसकेको बताएका छन् ।

जयपृथ्वी नगरपालिकाका अर्का प्रभावित शेरबहादुर खातीले सरकारी संयन्त्रले विपतको बेला निकै नै उदासीनता देखाएको बताउँछन् ।

खातीले भने, ‘यस्तो विपतको बेला तत्काल उद्धार, प्रभावितको व्यवस्थापन राज्यले गर्न सक्नुपर्छ । तर आज ३ दिन बित्दासमेत सरकारी निकाय पुगेका छैनन् । राहत त परैको कुरा हो ।’

रवि अघिअघि, मुख्यमन्त्री पछिपछि

प्रभावितहरु त्रासका बिच त्रिपालमुनि २ रात गुजारेपछि अनुगमनको लागि बल्ल सांसद, मन्त्रीहरुको टोली बझाङ पुगिरहेको छ । भूकम्प प्रभावितहरुको अवस्था बुझ्न पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार बझाङ पुगेका छन् ।

Rabi Lamichhane

उनी प्रभावित क्षेत्रको स्थलगत अनुमनसँगै राहत वितरण कार्यमा सक्रिय देखिएका छन् । उनले बुधबार राति नै जयपृथ्वी नगरपालिकाका भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका थिए ।

उनले प्रभावितहरुको अवस्था निकै नाजुक रहको बताउँदै प्रभावितलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहसहितको टोली बिहीबार बझाङ पुगेको छ । स्थलगत अनुगमन र राहत वितरणका लागि मुख्यमन्त्रीसहितको टोली प्रभावित क्षेत्र पुगेको हो ।

CM kamal bdr shah in Bajhang

मुख्यमन्त्री शाहले भने, ‘प्रदेश सरकार निकै नै समवेदनशील र दुःखी भएको छ । हामी सकेसम्म चाँडो प्रभावितहरुको व्यवस्थापनको प्रयासमा छौँ । राहतको सामग्री पनि पुगिरहेको छ । घाइतेहरुको पूर्ण उपचारको व्यवस्था सरकारले गर्नेछ । स्वास्थ्य मन्त्रालयको एक जनालाई प्रभावितको उपचारको व्यवस्थामा खटाइएको छ ।’

भूकम्पमा परी घाइते भएका मानिसहरुको पूर्ण उपचार प्रदेश सरकारले गर्ने भएको छ । साथै प्रभावितहरुको उद्धार, खोज तथा आवश्यक राहत सामग्री पनि उपलब्ध गराइने जनाइएको छ ।

tripal muni basdai bhukampa prabhabit

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप