सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेस प्रदेशमा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन, समावेशी नभएको भन्दै असन्तुष्टि

शुक्रबार, १९ असोज २०८०, २० : ३९
शुक्रबार, १९ असोज २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् फेरि पुनर्गठन भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले शुक्रबार शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेको हो ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीमा रहेको महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लामो समयदेखि जिम्मेवारीविहिन अवस्थामा मुख्यमन्त्री कार्यालयमा विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

असोज १७ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय र मुख्यमन्त्री कार्यालयको सिफारिसमा आज साहलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । प्रदेश प्रमुखले आज सो सिफारिसलाई प्रमाणीकरण गरेपछि उनले मन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (९) बमोजिमको कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

यता मनपरी ढंगले मन्त्रालय फुटाएको भन्दै जनमत पार्टीले भने असन्तुष्टि जनाएको छ ।

१२ मन्त्री र दुइ राज्यमन्त्री गरि १४ सदस्यीय मन्त्रिपरिषद् रहेको मधेस प्रदेशमा दलित तथा जनजाति समुदायबाट भने एकजना पनि मन्त्री बनाइएको छैन । माओवादी र जसपाबाट दुई जना महिलाले सरकारमा प्रवेश पाएका छन् भने मुस्लिम समुदायबाट ३ जना मन्त्री रहेका छन् । त्यस्तै यादव समुदायबाट मुख्यमन्त्री सहित ५ जना मन्त्री छन् । 

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पत्रकार रामएकवाल महराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेशमा दलित तथा जनजाति प्रदेश सांसद छैनन् कि प्रदेशमा त्यो समुदायको बसोबास छैन ? कुनै पनि पार्टीले त्यो समुदायबाट मन्त्री बनाएको देखिँदैन सुनिँदैन त ! मुख्यमन्त्री तथा सबै पार्टीका नेताज्युहरु, मधेस प्रदेशमा त्यो समुदायको जनसंख्याबारे थाहा छ तपाईंहरुलाई ? समावेशी समानुपातिकको दिनरात बखान गर्ने तपाईंहरुलाई त्यसको खिल्ली उडाउन अलिकति पनि लाज लाग्दैन ? हेक्का रहोस्, समावेशी समानुपातिकको तपाईंहरुले खुल्लेयाम बलात्कार गरेको हो ।’

यस्तै सामाजिक सञ्जाल फेसबुकमा सामाजिक अभियन्ता राजिव झाले पनि मन्त्रिपरिषद समावेशी नभएको भन्दै असन्तुष्टि जनाएका छन् । 

मन्त्रीलाई न बस्ने ठाउँ छ, न कर्मचारी छ !

साहले खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएपनि अहिलेसम्म मन्त्रालय भने कायम भएको छैन । मन्त्रीलाई बस्ने ठाउँ छैन भने मन्त्रालयका लागि कर्मचारी पनि छुट्याइएको छैन । कर्मचारी र बस्ने ठाउँ समेत नभएपछि मन्त्रीले अर्को साता मात्रै पदभार ग्रहण गर्ने जनाइएको छ ।

madhes

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप